अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरी ऋषिपञ्चमी मनाइँदै
काठमाडौं : भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी हिन्दु नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाएका छन् । यसदिन महिलाले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।

अरुणन्धतीसहितसप्तऋषि कस्यप, अत्री, भारद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वामित्रको पूजा आराधना गरी तीज व्रत समापन गर्ने प्रचलन छ । रजस्वला भइसकेका नारीहरूले भविष्य पुराणका अनुसार ब्रह्म हत्याको पापमुक्ति तथा रजस्वला भएका अवस्थामा जानी नजानी भए गरेका पापजन्य कार्यबाट मुक्ति मिलोस् भन्नाका लागि सप्तऋषिको पूजा गर्ने प्रचलन रहेको कथन छ ।

ऋषिपञ्चमीका अवसरमा काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरमा सप्तऋषिको दर्शन तथा ऋषिपञ्चमी मेला भर्न आएका महिला भक्तजनहरूले ऋषेश्वरको दर्शन तथा पूजा आराधना गरेका छन् । मन्दिरमा प्रत्येक वर्ष ऋषिपञ्चमीका अवसरमा विशेष मेलासहित दशनार्थी महिलाको भीड लाग्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस !