कांग्रेसको मुख्यालयपछि एमाले कार्यालयमा शिक्षकको धर्ना
काठमाडौं : नेपाल शिक्षक महासंघले नेकपा एमालेको कार्यालयमा धर्ना दिँदै ध्यानाकर्षण बुझाएको छ । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत महासंघले बिहीबार ललितपुरको च्यासलस्थित एमाले कार्यालयमा धर्ना दिनुका साथै एमाले महासचिव शंकर पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएको हो । शिक्षकहरूले बुधबार कांग्रेस पार्टी कार्यालयमा धर्ना दिएका थिए।
सरकारले आफूहरूसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले सच्चाउन दबाब दिन भन्दै शिक्षकले राजनीतिक दलका कार्यालयमा धर्ना दिएका हुन् ।
शिक्षकहरूको ध्यानाकर्षण पत्र बुझ्दै एमाले महासचिव पोखरेलले शिक्षा व्यवस्थालाई व्यवस्थित गर्न तयार गरिएको शिक्षासम्बन्धी विधेयकमा शिक्षकको मुद्दा समावेश गर्न एमालेले सहजीकरण गरेको बताए। उनले यसअघि शिक्षक र सरकारबिच भएको सहमति कार्यान्वयन प्रति एमाले प्रतिवद्ध रहेको उल्लेख गरे।
पोखरेलले सरकारसँग भएको सहमतिहरू कार्यान्वयन गर्न छुटेको भए राष्ट्रियसभाका माध्यमबाट भएपनि ती विषयलाई समावेश गर्न पहल गर्ने आश्वासन दिए। त्यस्तै महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले महासंघसँग भएको ९ बुँदे सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेकाले पुनः आन्दोलन गर्नुपरेको बताए।
प्रतिनिधिसभा पेश भएको विधेयकले शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै विषय अझै पनि सम्बोधन हुन नसकेको उनले बताए। उनले विधेयकमा रहेका असहमतिका बुँदाहरूलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट सम्बोधन गर्न राजनीतिक दलहरूले सहयोग गर्ने विश्वास व्यक्त गरे। महासंघले शुक्रबार माओवादी केन्द्रको कार्यालयमा धर्ना दिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !