पछिल्लो २४ घण्टामा केही ठाउँमा अतिभारी वर्षा, सुर्खेतमा मुसल्धारे पानी
काठमाडौं : नेपालमा पछिल्लो केही दिनदेखि मनसुन थप सक्रिय भएको छ । पछिल्लो २४ घण्टामा सुर्खेतमा अत्यधिक वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सुर्खेतको खानीखोला वर्षामापन केन्द्रमा सबैभन्दा बढी २९२ दशमलव तीन मिलिमिटर अर्थात् मुसल्धारे वर्षा मापन भएको छ।
विभागका अनुसार न्यूनचापीय प्रणाली सक्रिय रहेकाले पश्चिम क्षेत्रको निश्चित केन्द्रमा बढी तर सीमित क्षेत्रमा खण्डित वर्षा भएको हो। पर्वतको पञ्चासेमा १७९ दशमलव तीन मिलिमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा मापन हो । यस्तै,बाँकेमा पनि १४६ दशमलव तीन मिलिमिटर वर्षा भएको ।
यसैगरी दाङमा १३८,दार्चुलामा १०७,सिन्धुपाल्चोकमा १०५ मिलिमिटर वर्षा भएको छ भने १२ भन्दा बढी स्टेसननमा ८० देखि १०० मिलिमिटरको बिचमा वर्षा भएको छ । धेरै मापन केन्द्रमा ५० देखि ८० मिलिमिटरको बीचमा वर्षा भएको विभागको अभिलेखमा उल्लेख छ । आज दिउँसो र साँझसम्म वर्षा अलि बढी हुने र भोलि भने केही कम हुने बताइएको छ।
स्थानीय प्रणालीका कारण पश्चिमी क्षेत्रमा वर्षा भएको र पूर्वमा भने बङ्गालको खाडीबाट आएको प्रणालीको असर भएको विभागले जनाएको छ । आज कोशी,गण्डकी,कर्णाली र सुदूपश्चिम प्रदेशमा बढी मनसुनी प्रभाव रहेको र मौसमी बदली भने देशैभरि रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।
हाल देशभर साधारणतया बदली रहेको छ । कोशी प्रदेशको तराई,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !