अशक्त तथा वृद्धवृद्धाको घरमै पुगेर सेवा
नुवाकोट : वृद्धवृद्धा तथा अशक्तलाई घरमै पुगेर नुवाकोटको बेलकोटगढी नगरपालिकाको एक वडाले सेवा प्रदान गरिरहेको छ।
वृद्धवृद्धा तथा अशक्तहरूको सुविधाका लागि बेलकोटगढी नपा ८ वडा कार्यालयले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता लिनेहरूलाई सेवा प्रदान गरेको हो। आधुनिक उपकरणसहित सेवाग्राहीको पुगेर वडाले शुक्रबारसम्म दुई सय ६० जनाको बायोमेट्रिक सहितको विवरण संकलन गरिएको छ।
बेलकोटगढी नपा-८ अन्तर्गत सामाजिक सुरक्षा भत्ताका लागि बायोमेट्रिक गर्न बेशिथोक, बास्थला, आरुबोट, बांझे, पाचखले टोल लगायतका स्थानमा घरदैलोमा सेवा प्रदान गरिएको वडाध्यक्ष सुरेश चित्रकारले बताए।
उक्त विवरण नवीकरण गर्न बाँकी टोलमा पुगेर अझै एकसय ५० जनाको बायोमेट्रिक गर्न बाँकी रहेको र भदौ महिनाभित्र सम्पन्न गरिने वडाध्यक्ष चित्रकारको भनाइ छ। यसबाट वडा कार्यालय जान नसकेका अशक्त, वृद्धवृद्धा तथा बिरामीहरूलाई निकै सुविधा पुगेको छ। गाउँटोल र घरमै पुगेर विवरण संकलन गरिँदा सामाजिक सुरक्षावापतको भत्ताको अन्य विविध कार्यका लागि सहज भएको छ।
प्रतिक्रिया दिनुहोस !