सुरक्षित कार्यस्थल बनाउने रम्भाको अभियान

सुरक्षित कार्यस्थल बनाउने रम्भाको अभियान
सुन्नुहोस्

तानसेन : कार्यस्थलमा महिलाले भोग्दै आएका मौन पीडा, असुरक्षा र आत्मसम्मानमा हुने चोटलाई अन्त्य गर्न रम्भा गाउँपालिकाले प्रभावकारी कदम चालेको छ। गाउँपालिकाले भदौ १७ गते ‘कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहारसम्बन्धी आचारसंहिता २०८२’ सार्वजनिक गर्दै कार्यस्थल सुरक्षित बनाउन औपचारिक अभियान सुरु गरेको हो।

गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले कार्यपालिकाको बैठकबाट आचारसंहिता पारित गरेर कार्यान्वयनका लागि राजपत्रमा प्रकाशित गरी सार्वजनिक गरेका छन्। रम्भा गाउँपालिकाको जुनसुकै कार्यस्थलमा कुनै पक्षमाथि यौनजन्य दुर्व्यवहार नहुने, भइहालेमा पीडित पक्ष वा तेस्रो पक्षबाट पनि उजुरी गर्न पाउने, उजुरी उपर कानुनी कारबाहीदेखि क्षतिपूर्तिसम्मको व्यवस्था रहेको बताए। आचारसंहिता जारी गर्न महिला कानुन र विकास मञ्च, महिला कल्याण संघ पाल्पाले सहजीकरण गरेका थिए।

सरकारी, गैरसरकारी तथा निर्माण कार्यस्थलमा महिलाले भोग्ने दुर्व्यवहारको समस्या जटिल रहेको छ। कानुनको अभावमा पीडितहरूले पीडा लुकाएर बस्नुपर्ने बाध्यता छ। धेरैजसो घटना उजागर नहुने, पीडित मौन बस्न बाध्य हुने, उजुरी गर्दा सामाजिक बदनामी वा उपल्लो स्तरको कर्मचारीले तल्लो तहका कर्मचारीलाई दबाउने, काममा गलत सिफारिस गर्ने जस्ता क्रियाकलाप हुने गरेका छन्। 

कार्यस्थललाई सुरक्षित, विशेष गरी महिला कामदारलाई आत्मसम्मान बढाउन आचारसंहिता आवश्यक रहेको जिल्ला समन्वय समिति पाल्पाकी काशिका गैरेले बताइन्। सुरक्षित कार्यस्थलबिनाको विकास सम्भव नभएकाले यस्तो आचारसंहिता अपरिहार्य भएकोमा उपप्रमुख गैरेले जोड दिइन्।

आचारसंहिता कार्यान्वयन हुँदा सबैभन्दा बढी महिलालाई फाइदा पुग्नेछ। आचारसंहिताका कारण महिला मात्र नभई पुरुष कर्मचारी पनि सुरक्षित महसुस गर्नेछन्। कार्यालयको सेवा प्रवाहमा गुणस्तर बढ्नेछ। कर्मचारीहरू ढुक्क भएर काम गर्ने छन् र दक्ष जनशक्तिको विकास हुनेछ। समग्रमा संस्थाको विश्वसनीयता उच्च हुनेछ।

यसले पीडितलाई मौन बस्नुपर्ने बाध्यता हटाउनेछ र दोषीलाई सजाय हुने वातावरण सुनिश्चित गर्नेछ। पीडितको अधिकार स्थापित गर्न, गोपनीयताको सुरक्षा, कानुनी सहायता, मनोपरामर्श सुविधा र आवश्यक परे पुनर्स्थापना सहयोगमा आचारसंहिताबाट सहयोग पुग्नेछ। यो केवल महिलाको मात्र मुद्दा होइन, कार्यक्षेत्रमा काम गर्ने सबैको सामूहिक सुरक्षा र सम्मानको सवाल रहेको महिला कानुन र विकास मञ्चका निर्देशक सविन श्रेष्ठले बताए।

कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहारमा पीडित वा तेस्रो पक्षले लिखित वा मौखिक उजुरी दिन सक्ने व्यवस्था रहेको छ। उजुरीमाथि छानबिन गर्न प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा महिला शाखा, कानुनी सल्लाहकार र महिला प्रतिनिधि सदस्य रहने छन्। 

समितिले प्रारम्भिक तथ्य संकलन, गोपनीय सुनुवाइ, प्रमाणका आधारमा चेतावनीदेखि निलम्बन, पदमुक्त, जरिवानाको सिफारिस सम्बन्धित निकायमा गर्न सक्नेछ। यो आचारसंहिता रम्भा गाउँपालिकाभित्र भदौ १६ देखि पूर्ण रूपमा कार्यान्वयनमा आएको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताए।

आचारसंहितालाई कागजमै सीमित नगरी कार्यान्वयनमा सबैको सहयोग जरुरी रहेको महिला कल्याण संघकी अध्यक्ष नारायणी खनालले बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.