कर्मचारी तथा सर्वसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण
नुवाकोट : नुवाकोटको विदुरमा कर्मचारी तथा सेवाग्राहीको कार्यालय परिसरमै स्वास्थ्य परीक्षण गरिएको छ। निजामती सेवा दिवस २०८२ का अवसरमा दिवस मुल समारोह समितिले मंगलबार जिल्ला प्रशासन कार्यालय नुवाकोटमा सेवाग्राही तथा कर्मचारीहरूको स्वास्थ्य परीक्षण, उपचार र आवश्यक औषधि निःशुल्क प्रदान गरेको हो।
त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामासहित १२ जनाको स्वास्थ्य प्राविधिक टोलीले एकै दिन सेवाग्राही र कर्मचारीसहित एक सय ४८ जनाको स्वास्थ्य परीक्षण गरेको हो। स्वास्थ्य परीक्षणमा जनस्वास्थ्य, आयुर्वेद, त्रिशूली अस्पतालसहितका स्वास्थ्यकर्मी परिचालन भएका थिए।
सेवाग्राही र कर्मचारीसहितलाई स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधिसमेत प्रदान गरिएको निजामती सेवा दिवस २०८२ मूल समारोह समितिका सदस्य सचिव तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले जानकारी दिए। उनका अनुसार विशेष गरि नसर्ने रोगहरूको स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको हो।
जिल्ला प्रशासनमा प्रशासनिक सेवा लिन आएकाहरू प्रशासनकै मूल ढोकामा स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि निःशुल्क पाउँदा सेवाग्राहीहरू निकै खुसी भएका छन्। यसअघि नुवाकोटस्थित विभिन्न सरकारी कार्यालयका १८ जना कार्यालय प्रमुखहरूको स्वास्थ्य परीक्षण गरिएको थियो।
स्वास्थ्य परीक्षणमा मधुमेह, रक्तचाप, तौलअनुसारको उचाइ लगायतका स्वास्थ्य परीक्षणहरू गरिएका थिए। यसैबीच कर्मचारी मिलन केन्द्र नुवाकोटले साताव्यापी रूपमा विविध कार्यक्रम गरी निजामती सेवा दिवस मनाइरहेको छ।
सोही अन्तर्गत कर्मचारी मिलन केन्द्रको आयोजना र त्रिशूली अस्पतालको समन्वयमा कार्यालय प्रमुखहरूको स्वास्थ्य परीक्षण गरिएको छ। उक्त परीक्षणको आधारमा आगामी निजामती दिवसको कार्यक्रममा ‘स्वास्थ्य कार्यालय प्रमुख पुरस्कार’ प्रदान गरिने डा. राजेन्द्र लामाको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !