वृद्धाश्रममा कर्मचारीहरूले दिए खाद्यान्न
नुवाकोट : नुवाकोटको देवीघाटस्थित वृद्धाश्रममा पुगेर कर्मचारीहरूले खाद्यान्न तथा फलफूल प्रदान गरेका छन्। निजामती कर्मचारीहरूले विदुर नगरपालिका-५ स्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा पुगेर वृद्धवृद्धाहरूलाई खाद्यान्न तथा फलफूल वितरण गरेका हुन्।
हस्तान्तरण गरिएका खाद्य सामग्रीहरूमा चामल १० बोरा, दाल १० किलोग्राम, तेल १ बाक्सा, सरफ ५ केजी र साबुन २ बाक्सा रहेको छ। ती खाद्य सामग्रीहरू प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, कर्मचारी मिलन केन्द्रकी अध्यक्ष रोशना पोखरेल, केन्द्रीय सदस्य राजकुमार थापा, बागमती प्रदेश उपाध्यक्ष नारायण श्रेष्ठ लगायतले हस्तान्तरण गरेका हुन्।
खाद्य सामग्रीहरू २५ हजार रुपैयाँ बराबरको रहेको प्रतिष्ठान अन्तर्गतको ज्येष्ठ नागरिक मानव सेवा आश्रम सञ्चालन कार्य समितिका अध्यक्ष विष्णुप्रसाद नेपालको भनाइ छ। हाल उक्त ज्येष्ठ नागरिक मानव सेवा आश्रममा ३८ जना वृद्धवृद्धा रहेका छन्।
प्रतिक्रिया दिनुहोस !