बाढीले पिच सडक बगाएपछि यातायात अवरुद्ध
नुवाकोट : नुवाकोटको कल्याणपुरमा शुक्रबार बेलुकी अविरल वर्षासँगै आएको बाढीले पिच सडक नै बगाएको छ। आवतजावत ठप्प भएको छ।
विदुर नगरपालिका ८ र १३ को बीचमा रहेको खुर्सानेखोलाले पुल छेउको १० मिटर पिच बाटो बगाएको स्थानीयवासी श्याम ओझाले जानकारी दिए। उनका अनुसार बाढीले सडक नै कटान गरेर यातायात अवरुद्ध भएको छ।
पुलको पश्चिमतर्फ रहेको पिच सडक १० मिटर बगाएको छ। उक्त सडक नुवाकोटको सामरी लगायतका उत्तरी धादिङ जाने बाटो हो।
दैनिक ६० वटा बस, ट्रक लगायतका साना गाडी तथा पाँच सय मोटरसाइकल आवतजावत गर्ने सडक नै बाढीले कटान गरेपछि यात्रुहरू मर्कामा परेका छन्। विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले शनिबार बिहानैदेखि हेभि इक्युपमेण्ट लगाएर मर्मत सुरु गरिने बताए।
प्रतिक्रिया दिनुहोस !