विदुरमा बजार अनुगमन
नुवाकोट : चाडपर्व नजिकिएसँगै नुवाकोटको विदुरमा बजार अनुगमन गरिएको छ। विदुर नगरपालिकाले बजारमा बिक्री वितरण भइरहेका खाद्यवस्तु तथा उपभोग्य सामग्रीहरूको गुणस्तरीयता कमी भएको सम्बन्धमा गुनासो आएपछि बजार अनुगमन गरेको हो। चालु आर्थिक वर्षको सुरुवाती चरणमा विदुर नपामा रहेका विभिन्न बजारहरूमा पुगेर छड्के अनुगमन गरिएको विदुर नगरपालिकाले जनाएको छ।
बजार अनुगमन समितिले विदुर १, २, ४ र ९ मा रहेका ११ वटा विभिन्न खाद्य सामग्री तथा किराना पसलहरूमा स्थलगत निरीक्षण तथा अनुगमन गरेको हो। किसान पसलहरूहरूबाट म्याद गुज्रिएका अचार, बिस्कुट लगायतका अखाद्य सामग्रीहरू जफत गरेर नष्ट गरिएको विदुर नपा उद्योग शाखाका अधिकृत सुदर्शन सेढाइले जानकारी दिए।
उनका अनुसार खाद्य गुणस्तरीय, स्वच्छता तथा म्यादभित्र मात्र सामान बिक्री वितरण गर्न सचेतसमेत गराइएको छ। उपभोक्ता संरक्षण, अधिकार तथा स्वास्थ्य सुरक्षामा जोड दिँदै बजार अनुगमन गरिएको समितिका संयोजक तथा विदुर १० का वडाध्यक्ष गणेशकुमार नेपालले बताए।
उनका अनुसार खाद्यवस्तु तथा उपभोग्य सामग्रीहरूको गुणस्तरीय परीक्षण, म्याद गुज्रिएका सामानको बिक्री बन्द गर्ने, मूल्यसूची सर्वसाधारणले देख्ने स्थानमा राख्नु पर्ने, तौल तथा व्यवसाय दर्ता प्रमाणपत्रको अवस्था जाँच गर्ने साथै उपभोक्तामुखी सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यका साथ नियमित रूपमा बजार निरीक्षण तथा अनुगमन गरिएको हो। बजार अनुगमन कार्यलाई निरन्तरता दिइने विदुर नगरपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !