१० वर्षदेखि दोलखाको तामाकोशी पुल अलपत्र
दोलखा : जिल्लाको तामाकोशी नदीमा रहेको मोटरेबल पुल १० वर्षदेखि अलपत्र अवस्थामा छ। दोलखा जिल्लालाई तराई र राजधानीसँग जोड्ने लामोसाँघु–जिरी सडक खण्डअन्तर्गत पर्ने तामाकोशी नदीमा निर्माणाधीन मोटरेबल पुल १० वर्षदेखि अलपत्र रहेको हो।
भीमेश्वर नगरपालिका र बैतेश्वर गाउँपालिकाको सिमानामा रहेको ४५ वर्षअघि निर्माण भएको पुल जीर्ण भएपछि २०७२ सालको भूकम्पपछि २०७३ मा नयाँ पुल निर्माण गर्ने भनेर नीलगिरि–नेसनल जेभी कम्पनीले ठेक्का सम्झौता गरेको थियो। २ वर्षभित्र निर्माणको काम सम्पन्न गरिसक्ने भनेर कम्पनीले सम्झौता गरेर काम सुरुवात पनि गरेको थियो तर निर्माण कार्य सुरु गरेपछि अहिले ठेकेदार बेपत्ता छ। सदरमुकाम चरीकोटलाई तराईसँग जोड्ने तामाकोशी पुल अलपत्र परेपछि स्थानीयले पटकपटक गुनासो गर्दै आएका छन्। पुरानो पुल जीर्ण बनेपछि नयाँ पुल निर्माणका लागि तामाकोशीका घर तथा टहरा हटाएको थियो।
‘सडक चौडा पारिने र पुल बनाउने भनेर ९ वटा टहराहरू हटाइए तर पुल भने बनेन’, स्थानीय ललित घिसिङले भने, ‘नयाँ पुलको जग उठाएर अलपत्र पारेर राखेको छ, पुरानो पुलबाट हेब्बी गाडीहरू आवातजावत गर्दा कुन दिन ठूलो जोखिममा पर्छ। यसमा कसैको ध्यान गएको छैन। हामीले धेरैलाई सुनायांै, संघीय सांसद गंगा कार्कीलाई पनि पुल बनाउन पहल गर्दिन पर्यो भनेर अनुरोध गर्यौं, गंगा कार्कीले संसद्मा कुरा उठाएको पनि सुन्यांै तर खै। सबै मिलेर ठेकेदार झिकाएर काम गराउनुपर्यो कि कारबाही गर्न पर्यो। यसरी अलपत्र पार्न पाइँदैन। पुलको माथि डन्डीमा खिया लागेको छ, फलामको खिया क्यान्सर जस्तै हो माथि खिया लागेपछि जरासम्म पुग्छ।’
तामाकोशीको पुरानो पुल जीर्ण भएपछि ७५ मिटर लामो दुई लेनमा बन्ने आरसीसी आर्क ब्रिज डिजाइनका १० करोड लागतको नयाँ पुल निर्माण गर्ने भनेर जिम्मा लिएका निर्माण कम्पनीले काम नगरी अलपत्र अवस्थामा छाडिदिएको छ। पुलको दुवैतर्फ जिप उठाइएको छ । नयाँ पुल निर्माण हुने भएपछि तामाकोशीका पुरानो पुल मर्मत नभएर खिया लागेर जीर्ण बन्दै गएको छ। भारवाहक सवारीसाधनहरू आवातजावत गर्दा कुनै पनि बेला संरचना भाँचिने अवस्थामा पुगिसकेको छ।
दोलखा–रामेछापलगायतका गाउँ तथा पालिका जोड्ने उक्त पुल ठेकेदारले अलपत्र पारेको १० वर्ष बित्न लाग्दासमेत जिल्लाका जनप्रतिनिधि तथा राजनीतिक दलले चासो नदेखाउँदा ठेकेदारको मनोमानीमा पुल बेवारिसे बन्न पुगेको नागरिकले दुःखेसो गर्न थालेका छन्। पुल कहिले सम्पन्न हुने भन्ने अन्योल छ। ४५ वर्षअघि बनेको ट्रस्ट पुलमा खिया लागेर जीर्ण बनिसकेको छ। यात्रा गर्नेहरू कुनै दुर्घटना हुने हो कि भनेर त्रासकै बीचमा यात्रा गर्न बाध्य छन्। पुरानो पुल जीर्ण हुँदै गएको र सडकअनुसारको भार क्षमता थेग्न नसक्ने भएसँगै पुल महाशाखाले तामाकोशीमा २०७३ भदौमा नै पुलको ठेक्का सम्झौता गरेको थियो।
पुल बनाउने ठाउँमा स्थानीय घर टहरा भएर काम सुरु गर्न नसकेको निर्माण व्यवसायी नीलगिरि–नेसनल जेभीले बाहना बनाए पछि दोलखाको भीमेश्वर नगरपालिका–५ र बैतेश्वर गाउँपालिका–६ तामाकोशी बजारमा प्रशासन र स्थानीय तहले बलजफती गरेर ६ वर्षअघि नै घर टहरा हटाइए। तर कामले गति लिन सकेको छैन।
दोलखा, रामेछाप, ओखलढुंगा र सोलुखुम्बुका सवारीसाधन पनि यही पुलबाट आवतजावत हुन्छ। पुरानो पुलको आयु सकिएकाले नयाँ पुल निर्माण थालनी भएको हो। नयाँ नबनेपछि पुरानै जीर्ण पुलबाट सवारी आवतजावत भइरहेको छ। अझै बीपी राजमार्ग बाढीले क्षतविक्षत हुँदा पूर्वी नेपालका सबै सवारी काठमाडौं जाने मार्ग पनि यही हो।
प्रतिक्रिया दिनुहोस !