बाढीले अवरुद्ध सडक सुचारु
नुवाकोट : नुवाकोटको पश्चिमी भेगमा रहेको कल्याणपुरमा बाढीका कारण अवरुद्ध सडक दुई दिनपछि सञ्चालन भएको छ। शुक्रवार बेलुकी अविरल वर्षातसँगै आएको बाढीले पिच सडक नै बगाएपछि उक्त स्थानमा आवागमन नै ठप्प भएको थियो।
आवतजावत नै ठप्प भएपछि शनिबार दुईवटा हेभि इक्युपमेण्ट मेशिनमार्फत सडक मर्मत गरि अस्थायी रूपमा सञ्चालन गरिएको छ। विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले शनिबार बिहानैदेखि हेभि इक्युपमेण्ट लगाएर मर्मत सुरु गरिएको बताए।
उनका अनुसार आवतजावत सुचारु भएको छ। विदुर नगरपालिका ८ र १३ को बीचमा रहेको खुर्सानेखोलाले पुल छेउको १० मिटर पिच बाटो बगाएकोमा सडक मर्मत गरि एकतर्फी रूपमा सञ्चालन भएको स्थानीयवासी श्याम ओझाले जानकारी दिए।
उनका अनुसार अविरल वर्षात्सँगै आएको बाढीले सडक नै कटान गरेर यातायात अवरुद्ध भएको थियो। पुलको पश्चिमतर्फ रहेको पिच सडक १० मिटर बगाएको हो।
उक्त सडक नुवाकोटको सामरीलगायत उत्तरी धादिङवासी जाने बाटो हो। दैनिक ६० वटा बस, ट्रकलगायत साना गाडी तथा पाँच सय थान मोटरसाइकल आवतजावत गर्ने सडक नै बाढीले कटान गरेपछि यात्रुहरू मर्कामा परेका थिए।
प्रतिक्रिया दिनुहोस !