वृद्धाश्रमलाई १ लाख रुपैयाँसहित पुरस्कृत
नुवाकोट : नुवाकोटको प्रसिद्ध देवीघाटस्थित वृद्धाश्रम नगदसहित सम्मानित भएको छ। डेढ दशकदेखि ज्येष्ठ नागरिकहरूको हितमा काम गरिरहेको विदुर नगरपालिका-५ देवीघाटमा रहेको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानलाई नगद पुरस्कारसहित सम्मानित गरिएको हो। रामबाबु-ज्ञानु सामाजिक सेवा कोषले प्रतिष्ठानलाई एक लाख रुपैयाँ पुरस्कारसहित सम्मानित गरेको हो।
प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपाललाई प्रमुख अतिथि प्रा. डा. केदारभक्त माथेमाले नगद पुरस्कारसहित सम्मानित गरेका हुन्। कार्यक्रमका बीच एकै पटक प्रतिष्ठानसहित महिला, बालबालिका, असहायको क्षेत्रमा क्रियाशील पाँच संस्थालाई नगद पुरस्कारसहित सम्मानित गरेको हो।
ज्येष्ठ नागरिकको संरक्षणमा प्रतिष्ठानको कार्य विशेष, उदाहरणीय र नमुनाको रहेको कारण देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानलाई नगद पुरस्कारसहित सम्मानित गरिएको आयोजक रामबाबु –ज्ञानु सामाजिक सेवा कोषका ध्रुव नेपालले बताए। प्रतिष्ठानको देवीघाट आश्रममा ४० जना वृद्धवृद्धा आश्रित रहेका छन्।
प्रतिक्रिया दिनुहोस !