कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी गरी अनशन सुरु
कपिलवस्तु : नेपाली कांग्रेस जिल्ला कार्यसमिति कपिलवस्तुले विधान विपरीत गरेका विभिन्न क्रियाकलाप सच्याउनुपर्ने माग गर्दै युवाहरूले पार्टी कार्यालयमा तालाबन्दी गरी अनिश्चितकालीन अनशन सुरु गरेका छन्।
जिल्ला कार्यसमितिले विभिन्न वुथ इकाई समितिका सभापतिलाई विधान विपरीत मनोनयन गरेको आरोप लगाउँदै कांग्रेसका युवा नेताहरू शान्तिपूर्ण विरोधमा उत्रिएको संघर्ष समितिका संयोजक दिनेश हमालले जानकारी दिए।
ʻआइतबार रातीदेखि चार–चार जनाको समूहमा आठ–आठ घण्टाको अन्तरालमा आफ्ना मागहरू पुरा नभएसम्म अनिश्चितकालीन तालाबन्दी र अनशन जारी रहन्छ,ʼसंयोजक हमालले भने,ʻपार्टी संगठन कसैको पेवा होइन, यो विधि र विधानबाट चल्नुपर्छ। विधि र विधान सम्मत संगठन अघि बढाउन अब युवाहरूको खबरदारी जरुरी भयो।ʼ
कपिलवस्तु नगरपालिका, बुद्धभूमि नगरपालिका, कृष्णनगर नगरपालिका, विजयनगर नगरपालिकाका विभिन्न वडामा रिक्त रहेको वुथ इकाई सभापति र विजयनगर गाउँपालिकामा रिक्त रहेको पालिकास्तरीय सभापति पदमा मतिका वरिष्ठ उपसभापतिलाई स्वतः जिम्मेवारी दिनुपर्नेमा पार्टी जिल्ला सभापति अब्दुल कलामले मनोमानी ढंगबाट विधान विपरीत आफ्ना नजिककालाई भर्ती गरेको संघर्ष समितिका सचिव परमेश्वर पाठकले बताए।
पार्टी संस्थापन पक्षले भने युवाहरूले गरेको गतिविधि अराजकताको पराकाष्ठा भएको बताएको छ। संघर्षको नाममा पार्टी कार्यालयमा तोडफोड गर्नु निन्दनीय कार्य भएको नेपाली कांग्रेसका जिल्ला सचिव शक्ति सिंह ठकुरीले बताए।
प्रतिक्रिया दिनुहोस !