भक्तपुरमा सम्पदा पदयात्रा सुरु, १६ ऐतिहासिक पोखरी अवलोकन

भक्तपुरमा सम्पदा पदयात्रा सुरु, १६ ऐतिहासिक पोखरी अवलोकन

भक्तपुर : भक्तपुर नगरपालिकाको आयोजनामा आइतबार ‘सम्पदा पदयात्रा’ सुरु गरिएको छ। पदयात्रामा नगरको दक्षिणी भेगमा अवस्थित १६ वटा ऐतिहासिक पोखरीहरूको अवलोकन गरिएको छ।

नगरपालिकाले आयोजना गरेको पदयात्राअन्तर्गत च्याम्हासिंह पुखू, जेँला पुखू, खँचा पुखू, याता (न्हाद) पुखू, गोल्मढीबारे पुखू, कुमारी पुखू, खँला (ख्यो) पुखू, लैको पुखू, सुनधारा पुखू, दुमाजु पुखू, भण्ड पुखू (भण्डार पोखरी), नासमना पुखू (मंगलकुण्ड), मंगलाछेँ पुखू, देगमना पुखू, तेखा पुखू र भाज्या पुखू अवलोकन गरिएको हो।

यी पोखरीहरू ऐतिहासिक, धार्मिक तथा संस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छन्। कतिपय पोखरीहरू स्थानीय बस्तीको दैनिक आवश्यकता, कृषियोग्य जमिनको सिँचाइ, धार्मिक अनुष्ठान तथा सामुदायिक जमघटका केन्द्रका रूपमा उपयोग हुँदै आएका छन्। नगरपालिकाले पछिल्ला वर्षहरूमा पोखरीहरूको जीर्णोद्धार, संरक्षण र आकर्षक बनाउने कार्यलाई प्राथमिकता दिएको छ। कतिपय पोखरीहरूमा रंगीन फोहोरा, बत्ती र मत्स्यपालनसमेत गरिएकाले आन्तरिक तथा बाह्य पर्यटकका लागि थप आकर्षण बनेका छन्।

अवलोकन गर्ने पोखरीको विस्तृत विवरण
१. च्याम्हासिंह पुखू
भक्तपुरको पूर्वमा अवस्थित च्याम्हासिंहस्थित पोखरी एक ऐतिहासिक र संस्कृतिक पोखरी हो। ८ वटा सिंहहरू पोखरीको ४ दिशाको प्रवेश द्वारमा राखिएको यो पोखरीलाई यही सिंहहरूको नामबाटै च्याम्हासिंहको नामले चिनिन्छ। च्याम्हासिंह भनेपनि हाल एउटा सिंहको भने आधा मात्रै अस्तित्व रहेको छ। भक्तपुर नगरपालिका वडा नं. ९ मा अवस्थित वागीश्वरी माविको परिसरमा रहेको यो पोखरी एक धार्मिक महत्त्वपूर्णको पोखरीका रूपमा स्थानीय बासिन्दाहरूले लिएको पाइन्छ।
२. जेला पुखू
भक्तपुर नगरपालिका–८ जेँला स्थित क्षेत्रफलको आधारमा सानो आकारको पोखरी भएपनि जेँला पोखरी एक महत्त्वपूर्ण पोखरी हो। विगतमा अत्यन्त फोहोर र अव्यवस्थित अवस्थामा रहेको जेँला पोखरीलाई भक्तपुर नगरपालिकाले जीर्णोद्धार गर्दै हाल अत्यन्त आकर्षक पोखरीका रूपमा परिणत गरेको छ। रात्रीको समयमा पानीको फोहोरा र रंगीबिरंगी बत्तीले पोखरीलाई अत्यन्त आकर्षक बनाएको छ।
३. खँचा पुखू
भक्तपुर नगरपालिका–७ इनाचो, खँचास्थित यो पोखरी भौगोलिक रूपमा अत्यन्त महत्त्वपूर्ण स्थानमा अवस्थित एक महत्त्वपूर्र्ण पोखरी हो। विगतमा भक्तपुर नगर क्षेत्रभित्र अग्ला अग्ला निजी आवासीय भवनहरू निर्माण नहुँदा पाँचतले मन्दिरको पूर्ण प्रतिबिम्ब देखिने पोखरीका रूपमा पनि खँचा पुखू प्रख्यात थियो। पोखरीको ३ दिशामा गहिरो ठाउँ रहेतापनि पोखरीमा वर्षैभरी पानी अडिने गरी निर्माण गरेको यो पोखरी मध्यकालीन उत्कृष्ट पोखरी निर्माण शैलीको उदाहरणका रूपमा पनि रहेको पाइन्छ। यो पोखरी हाल संरक्षित अवस्थामा रहेको छ।
४. याता (न्हाद) पुखू
भक्तपुर नगरपालिका–७ यातामा अवस्थित याता पुखू बस्तीको लगभग बीचमा रहेको एउटा ऐतिहासिक पोखरी हो। यो पोखरीको उत्तरमा नवीन निमावि सामुदायिक विद्यालय रहेको छ भने पश्चिम र उत्तरमा खुला ठाउँ रहेको छ। विगतमा स्थानीय बासिन्दाहरूले घरायसी र कृषि उपयोगका लागि प्रयोग गर्दै आएको यो पोखरी हाल नगरपालिकाले जीर्णोद्धार गरी संरक्षण गर्नुका साथै मत्स्यपालन गरी व्यावसायिक प्रयोग समेत गरेको पाइन्छ। null

५. गोल्मढी बारे पुखू
भक्तपुर नगरपालिका–७ को वडा कार्यालय परिसरमा रहेको यो पोखरी कमल पोखरीका रूपमा समेत चिनिन्छ। विगतमा स्थानीय किसानले आफ्नो व्यक्तिगत सम्पत्तिका रूपमा हडप्ने कोसिस गरिएको यो पोखरीलाई स्थानीय जनसमुदाय र नगरपालिकाको पहलमा सार्वजनिक कायम गरी पुनर्निर्माण गरिएको छ। हाल यो पोखरीमा माछापालन गरी अत्यन्त आकर्षक रूपमा भक्तपुर नगरपालिकाले संरक्षण गरिएको छ।
६. कुमारी पुखू
भक्तपुरको ऐतिहासिक अष्टमातृका पीठमध्ये कुमारी पीठ परिसरमा अवस्थित कुमारी पोखरी एक धार्मिक एवं संस्कृतिक पोखरी हो। भक्तपुर नगरपालिका–५ कुमारीस्थान स्थित कुमारी पोखरी स्थानीय बासिन्दाहरूले हालसम्म पनि सदुपयोग गर्दै आएको पाइन्छ। यो पोखरी मन्दिर परिसमा रहेकाले यसको विशेष महत्त्व रहेको छ।
७. खला (ख्यो) पुखू
भक्तपुर नगरपालिका–५ भेलुखेल (योसिंख्यो) स्थित खँला पुखू विगतमा प्राकृतिक रूपले निर्माण भई ख्यो पुखूका रूपमा प्रयोग भइरहेको पोखरी थियो। केही समय अगाडि जीर्णोद्धार गरी बिचमा महादेवको मूर्ति राखी निर्माण गरिएको उक्त पोखरी पानी नअड्नाले सुक्खा भएको थियो। हालै भक्तपुर नगरपालिका जनप्रतिनिधि बहाली भएपछि पुनः यसको मर्मत सम्भार गरी पानी अडाई यो पोखरीको सदुपयोग भइरहेको छ।
८. लैको पुखू
भक्तपुर नगरपालिका वडा–५ खँला स्थित गोलाकार पोखरीमध्ये एक यो पोखरी बस्तीको बीचमा गःहितिबाट थोरै दक्षिण पूर्व दिशामा अवस्थित छ। विगतमा गोलाकारका रूपमा यो पोखरीलाई हालै जीर्णोद्धार गर्दा षटकोण आकारमा जीर्णोद्धार गरिएको छ। भक्तपुरको सानो पोखरीमध्ये एक हो। जीर्णोद्धारको क्रममा फोहोराको व्यवस्था गरी हाल यो पाखरीलाई थप आकर्षक बनाइएको छ।

९. सुनधारा पुखू
भक्तपुर नगरपालिका दरबार क्षेत्रको तलेजु मन्दिर परिसरभित्र रहेको सुनधाराको पश्चिमतिरको सानो पोखरी सुनधारा पोखरी हो। सम्भवतः यो भक्तपुर नगरकै सबैभन्दा सानो पोखरी हो। सुनधारासँगै रहेको यो पोखरीको बीचमा नागको धातुको प्रतिमा स्थापित गरिएको छ। जसले यो पोखरीलाई थप आकर्षक बनाएको छ।
१०. दुमाजु पुखू
भक्तपुर तलेजु परिसरभित्रको मूल चोकको उत्तर पश्चिम कुनामा रहेको दुमाजु पोखरी एक ऐतिहासिक संस्कृतिक एवं धार्मिक महत्त्वको पोखरी हो। यो पोखरी पनि गोलाकार रूपमा रहेको छ। रुन्चे पोखरीका नामले समेत परिचित यो पोखरी विगतमा बालबालिकालाई रुन्चे लाग्दा यो पोखरीमा स्नान गराउँदा रुन्चे निको हुने जनविश्वास रहेको पाइन्छ। तलेजु परिसरमा अवस्थित रहेको हुँदा यो पोखरीमा सबैंको सहज पहुँच नपुगेको देखिन्छ।
११. भण्ड पुखू (भण्डार पुखू)
भक्तपुर दरबार क्षेत्रको मध्यमा अवस्थित भण्ड पुखू (भण्डार पोखरी) एक ऐतिहासिक पोखरी हो। कुनै बेला जिल्ला प्रहरी परिसरभित्रको यो पोखरी सर्वसधारणको पहुँचभन्दा बाहिरको पोखरीका रूपमा रहेको थियो। हाल यो पोखरी कला संग्रहालयको प्रदर्शनी कक्ष र भक्तपुर नगरपालिकाको सम्पदा शाखामा परिसरमा रहेको छ। यो पोखरीभित्र मल्लकालमा महत्त्वपूर्ण धनसम्पत्तिहरू भण्डार गरिएर राखिएको जनविश्वास रहेको छ। यो पोखरी दरबार क्षेत्रमा अवस्थित रहेको हुँदा पर्यटकीय हिसाबले समेत अत्यन्त महत्त्वका रूपमा रहेको छ।
१२. नासमना पुखू (मंगलकुण्ड पोखरी)
भक्तपुर नगरपालिका–३ नासमना चोकको उत्तर र पूर्व दुईतिर निजी घरले घेरिएको, दक्षिण र पश्चिममा पाटी र मन्दिर रहेको नासमना पुखू (मंगलकुण्ड पोखरी) एक ऐतिहासिक र धार्मिक महत्त्वको पोखरी हो। विगतमा वरपरका बासिन्दाहरूले पौडी खेल्ने यो पोखरी स्थानीय बासिन्दाले घरायसी प्रयोजनका लागि पनि प्रयोग गरेको पाइन्छ। यो पोखरी सम्पदा क्षेत्रमा रहनाले पर्यटकीय दृष्टिकोणले समेत महत्त्वपूर्ण पोखरीका रूपमा रहेको छ।

१३. मंगलाछे पुखू
मंगलतीर्थ घाट जानेबाटोको पश्चिमपट्टि उकालोमा मचो गणेश मन्दिरको पूर्वमा अवस्थित सानो पोखरी मंगलाछेँ पुखू हो। विगतमा ख्यो पुखूका रूपमा समेत प्रयोग भएको पोखरी हाल मर्मत सम्भार गरी संरक्षित र आकर्षक बनाएको छ। तीर्थस्थलको परिसरमा रहेको यो पुखू धार्मिक एवम् संस्कृतिक रूपले समेत महत्त्वपूर्ण पोखरी हो।
१४. देगमना पुखू
भक्तपुर नगरपालिका–४ देगमना टोलमा अवस्थित यो पोखरी स्थानीय बासिन्दाहरूले दैनिक प्रयोग गरिने धार्मिक र संस्कृतिक महत्त्वको पोखरी हो। वंशगोपालबाट बाराही जानेबाटोको देगमना चोकको पूर्वपट्टि अवस्थित यो पोखरी परिसरमा विभिन्न देवी देवताका मूर्तिहरू समेत रहेको यो पोखरी पवित्र पोखरीका रूपमा लिइन्छ।
१५. तेखा पुखू
भक्तपुर नगरपालिका–३ मा अवस्थित तेखा पुखू एउटा ऐतिहासिक महत्त्वको पोखरी हो। यस पोखरीलाई तेखाचो पुखू पनि भनिन्छ। पोखरीको बीचमा महादेवको मूर्ति स्थापना गरिएको यो पोखरी धार्मिक महत्त्वको पवित्र पोखरीका रूपमा लिइन्छ। विगतमा स्थानीय केटाकेटीहरूले पौडी खेल्ने यो पोखरी हाल चारैतिर पर्खाल लगाइ संरक्षित रूपमा राखिएको छ। भक्तपुरको बजारको मुख्यबाटोसँगै जोडिएको यो पोखरी पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण पोखरीका रूपमा रहेको छ।

१६. भाज्या पुखू
भक्तपुर नगरपालिका–१ दूधपाटी स्थित भाजु पुखू भक्तपुरकै पुरानो पोखरीहरूमध्ये एक हो। मल्लकालीन भारदार भाजुकसले निर्माण गरिएको विश्वासको आधारमा यो पोखरीलाई भाजु पुखू वा भाज्या पुखू नामकरण गरिएको पाइन्छ। केही समय अगाडिसम्म घाँसे मैदानका रूपमा परिणत भई बीचमा रूख उम्रिएको थुम्को बाँकी भएको यो पोखरीलाई भक्तपुर नगरपालिकाले २०८० सालमा बीचमा मन्दिर निर्माण गरी जीर्णोद्धार सम्पन्न गरिएको छ।

हाल यस पोखरीको चारैतिर ३ तहको डिल निर्माण गरी अत्यन्त आकर्षक पोखरीका रूपमा यसलाई विकास गरिएको छ। यो पोखरी आन्तरिक एवं बाह्य पर्यटकहरूका लागि आकर्षणका रूपमा रहेको छ। यो पोखरीमा हाल रंगीबिरंगी मत्स्यपालन गरी पोखरीलाई थप आकर्षक बनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.