२४ घण्टा कारागार फर्किन कैदीबन्दीलाई अल्टिमेटम
महोत्तरी : कारागार प्रशासन महोत्तरीले कैदीबन्दीलाई बन्दीगृहमा आउन अपील गरेका छन्। कारागार कार्यालय महोत्तरी जलेश्वरले कुनै पनि बहनामा बनदीगृहबाट बाहिरिएका कैदीबन्दीलाई अबको २४ घण्टाभित्र स्वेच्छाले कारागारमा आउनका लागि आग्रह गरेका छन्।
आफूखुसी फर्किए उनीहरूलाई कारागारमा बिना शर्तमा राखिने कारागार निमित प्रशासक रविनचन्द्र ठाकुरले जनाएको छ। यस समयअवधिभित्र कारागारमा नफर्किनेहरूको हकमा कानुन बमोजिम सजायको व्यवस्था गरिने कारागार प्रशासक ठाकुरले जनाएको छ।
जेनजीको आन्दोलनको मौका छोपी त्यहाँ रहेका ५७६ जना कैदीबन्दीहरू फरार भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिएका छन्। दिउँसोदेखि बाक्लो संख्यामा वाहिरबाट आएका व्यक्तिहरुको उपस्थिति अनियन्त्रण हुँदा कैदी बाहिर आउन सफल भएको प्रमु्ख जिल्ला अधिकारी रिसालले बताए।
उनले भने, 'घटना मंगलबार साँझ करिब ७ बजे भएको हो। करिब ५०० भन्दा बढी लाठीसहितका प्रदर्शनकारीहरूले भित्रका कैदीहरूसँग हातेमालो गरेका थिए। कैदीहरूले भान्सामा प्रयोग हुने दाउराको सहायताले पर्खाल भत्काएर फरार भएका थिए।'
त्यहाँ रहेका ५७७ जना कैदीमध्ये ५७६ जना फरार भएका थिए । बाँकी रहेको १ जनालाई जिल्ला प्रशासन कार्यालय महोत्तरीमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस !