भारतीय सीमाबाट पक्राउ पर्दै फरार कैदीहरू
रौतहट : जिल्ला कारागार गौरबाट मंगलबार राति सामूहिक रूपमा भागेका कैदीमध्ये १७ जना पक्राउ परेका छन्।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पक्राउ गरेका उनीहरूलाई सीमावर्ती बैरगनिया प्रहरीसँग समन्वय गरी पुनः गौर कारागारमा ल्याइएको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिए। कारागारमा रहेका २ सय ९१ कैदीमध्ये ७९ जना नियन्त्रणमा छन् भने २ सय १२ जना अझै फरार रहेको प्रजिअ खड्काले जानकारी दिए।
उनका अनुसार, पक्राउ पर्नेमा नेपालका जितेन्द्र गिरी, गणेश साह, सन्तोष राम, रणधीर यादव, विवेक मिश्र, राजन साह सोनार, अजय यादव, राजेश पटेल र मोहन साह रहेका छन्।
त्यस्तै भारततर्फका मोनु जायसवाल, राकेश कुमार, मुनिफ कुमार यादव र सुधीर कुमार महतोलगायत छन्। यसअघि बुधबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले जिल्लाका विभिन्न स्थानबाट ३४ जना फरार कैदीलाई नियन्त्रणमा लिएको थियो।
प्रजिअ खड्काले अझै फरार रहेका २१२ कैदीलाई तत्काल सम्पर्कमा आउन र आत्मसमर्पण गर्न आग्रह गरेका छन्। आन्दोलन चलिरहेको फाइदा उठाउँदै कैदीहरू मंगलबार कारागार फोडेर सामूहिक रूपमा भागेका थिए।
प्रतिक्रिया दिनुहोस !