नयाँ सरकारले शक्तिशाली कानुन बनाएर देशको सम्पत्ति जलाउनेलाई कारबाही गरोस् : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको सम्पत्ति जलाउनेमाथि कानुनी कारबाही हुनुपर्ने बताएका छन्। बिहीबार भिडियो सन्देश जारी गरेर महामन्त्री थापाले शक्तिशाली आयोग बनाएर भदौ २३ र २४ गतेको घटनाको छानबिन हुनुपर्ने बताएका हुन्।
'नयाँ सरकारले शक्तिशाली कानुन बनाएर छानबिन गर्नुपर्छ। ममाथि पनि छानबिन गर्नुपर्छ। अकुत सम्पत्तिलाई राष्ट्रियकरण गर्नुपर्छ। तर, भदौ २३ र २४ गतेको घटनाका दोषीलाई कारबाहीमा गर्नैपर्छ,' उनले भनेका छन्।
उनले हालको संविधानको मर्मलाई पनि नमार्न आग्रह गरेका छन्। संविधान बनाउँदा धेरै नागरिकको आकांक्षा पूरा भएको बताउँदै महामन्त्री थापाले आवश्यक परिवर्तन गर्न जेनजीलाई आग्रह गरे। उनले आफूहरू ब्याकबेन्चमा बसेर सघाउन तयार पनि रहेको बताए।
'हामी कांग्रेसलाई बदल्न लाग्छौं। जेनजीले मन पराउने पार्टी बनाउँछौं। तर, तपाईंहरूले संविधानको मर्मलाई नमारिकन परिवर्तन गर्नुपर्छ। हामीलाई नखाएको विष लागेको छ। दूधको दूध पानीको पानी हुनैपर्छ,' उनले भने।
उनले सबैलाई एउटै काँधमा नराख्न पनि जेनजीलाई आग्रह गरेका छन्। भोलि देश पनि चलाउनुपर्ने भएकाले एउटै काँधमा नराख्न महामन्त्री थापाको आग्रह छ।
प्रतिक्रिया दिनुहोस !