जेनजी आन्दोलनमा गोरखाका ३ युवाको मृत्यु
गोरखा : जेनजी आन्दोलनका क्रममा राजधानीमा भएको विरोध प्रदर्शनमा गोरखाका तीन युवाले सहादत पाएका छन् । ३० भन्दा धेरैको मृत्यु भएकामध्य गोरखाका तीन जना रहेका हुन्।
सोमबार पहिलो दिन भएको विरोध प्रदर्शनमा बारपाक सुलीकोट गाउँपालिका-५ नारेश्वरडाँडाका, गण्डकी गाउँपालिका-४ ढाबेका र पालुङ्टार-३ बर्देडाँडाका तीन युवाले सहादत प्राप्त गरेका मृतकका आफन्तहरूले जानकारी दिएका छन्।
बारपाक सुलिकोट ५ नारेश्वरडाँडा निवासी २२ वर्षका विमल भट्टले संसद भवनअघि गोली लागेर सहादत पाएका उनका आफन्त सुजन भट्टले बताए। सोमबार ३:३० बजे संसद भवनअघि प्रदर्शनको क्रममा निधार गोली लागेर भट्टको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए।
उनको शव त्रिवि शिक्षण अस्पता रहेको भट्टले जानकारी दिए। उनी जलकन्यादेवी माविमा माध्यमिक शिक्षा पूरा गरी उच्च शिक्षाका लागि काठमाडौंमा रहँदै आएका थिए।
त्यस्तै गण्डकी ४ ढाबेका २३ वर्षका अर्जुन भट्टको पनि सोमबार दुई बजेतिर गोली लागेर मृत्यु भएको हो। थापाथलीमा भएको विरोध प्रदर्शनका क्रममा टाउकामा गोली लागेर उनको मृत्यु भएको मृतकका आफन्त तथा वडाध्यक्ष राजु भण्डारीले जानकारी दिए।
उनको शव बल्खुस्थित अस्पतालमा राखिएको छ। उनी दुई वर्ष दुबईमा काम गरेर एक महिनाअघि मात्र नेपाल फर्केका थिए। जापानी भाषा पढ्दै गरेका उनको विरोध प्रदर्शनका क्रममा मृत्यु भएको भण्डारीले जानकारी दिए।
मंगलबार दिउसो २:३० बजेतिर महाराजगञ्ज प्रहरी चौकीमा प्रदर्शनका क्रममा पालुङ्टार-३ बर्देडाँडाका रमेश पराजुलीको मृत्यु भएको छ। काठमाडौंको तारकेश्वर-१ साङ्लाफाँटमा व्यवसाय गर्दै आएका करिब ४० वर्षका पराजुलीको छातीमा प्रहरीको गोली लागेर मृत्यु भएको पत्रकार विनोद श्रेष्ठ क्रान्तिले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस !