झुम्का कारागारबाट भागेका कैदी झापामा पक्राउ
झापा : सुनसरीको झुम्का कारागारबाट भागेका एक कैदी झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारी कसुर ठगीमा झुम्का कारागारमा कैद सजाय भुक्तान गरिरहेका भोजपुर जिल्ला च्याङ्ग्रे घर भई हाल धरान–१५ त्रिबेणी चोक बस्ने अन्दाजी ५६ वर्षीय कृष्णबहादुर विश्वकर्मा रहेका छन् ।
शुक्रबार साँझ ७:४० बजे सशस्त्र प्रहरी बल,नेपाल बिओपी कुञ्जीबारीबाट खटिएको गस्ती टोलीले उनलाई गौरीगञ्ज गाउँपालिका–१ स्थित कुञ्जीबारी इलाकामा गस्ती गर्ने क्रममा पक्राउ गरेको थियो । सशस्त्रले उनलाई आवश्यक कारबाहीको लागि प्रहरी चौकी कोरोबारीमा बुझाइएको छ।
यसअघि काठमाडौं कारागारबाट भागेका दुईजना कैदी झापाको सीमावर्ती क्षेत्रमा पक्राउ परेका थिए । लागूऔषध ओसारपसार कसुरमा दोषी ठहरिएर काठमाडौँस्थित सुन्धारा कारागारमा कैद सजाय भुक्तान गरिरहेकी झापा गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछी घर भएकी ५० वर्षीया अञ्जली खातुन र लागूऔषधको अभियोगमा कैद सजाय भुक्तान गरिरहेका मोरङ विराटनगर– ३ का सुरज कामत पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस !