भद्रपुर नाका खुले पनि सर्वसाधारणलाई सास्ती, काँकडभिट्टा पाँच दिनदेखि ठप्प
झापा : जेनजी समूहको आन्दोलनमा आगजनी र तोडफोडका घटना भएसँगै भारतीय एसएसबीले बन्द गरेको झापाको भद्रपुर–गलगलिया सीमा सञ्चालनमा आएको छ। जिल्लाकै काँकडभिट्टा–पानीटंकी नाका भने अझै ठप्प रहेको छ।
भदौ २४ गते प्रदर्शनकारीहरूले सीमा नाकामा रहेका भन्सार तथा प्रहरी कार्यालयहरूमा आगजनी र तोडफोड गरेपछि सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गरी भारतीय एसएसबीले सीमा नाकामा आउजाउ बन्द गरेका थिए। प्रदर्शनकारीहरूले भद्रपुर भन्सार, वडा प्रहरी कार्यालय र मेची पुल प्रहरी बिटमा आगजनी गरे लगतै भारतीय एसएसबीले भद्रपुर–गलगलिया नाका बन्द गराएका थिए।
तीन दिन बन्द गरिएको सो नाका शुक्रवारबाट सञ्चालनमा आए पनि सर्वसाधारण दुःख पाइरहेको छ। पहिला सहजै रूपमा परिचयपत्र देखाएर आउजाउ गरिरहेका सर्वसाधारण अहिले घण्टौँ लाइनमा बस्नु परेको अवस्था आएको छ। भद्रपुरतर्फ कुनै अवरोध छैन। भारततर्फ मात्र समस्या छ। एसएसबीले पैदल यात्री वा दुई पाङग्रे सवारीसाधनलाई सीमामै रोकेर परिचयपत्र पत्र हेरी खाता राखेर नाम लेख्न थालेका छन्। भारत जाँदा पनि नाम लेखाउनु पर्छ, आउँदा पनि नाम लेखाउनु पर्ने एसएबसीले अहिले नियम बनाएको स्थानीयहरू बताउँछन्।
‘लाइनमा बसेर नाम लेखाउनै कम्तीमा आधा घण्टा समय लागिरहेको स्थानीय विजय गुरुङले भने, ‘बोर्डर खुल्ला भएपनि सर्वसाधारण जनताले सास्ती चाहिँ झेल्नु परेको छ।’ भारततर्फ नाम लेखाउने लाइन देखेर कतिपय सर्वसाधारण त्यतिकै नेपाल तर्फ फर्किएको उनको भनाई छ। काँकडभिट्टा नाका बन्द रहेकोले त्यहाँबाट भारततर्फ जानेहरू पनि यही नाका भएर आउँदा झन् भीडभाड बढेको स्थानीयहरूको भनाइ छ।
उता काँकडभिट्टा नाका सर्वसाधारणका लागि पाँच दिनदेखि ठप्प रहेको छ। स्थानीय पत्रकार प्रवीण अधिकारीका अनुसार पेट्रोलियम पदार्थको टंयाकरबाहेक भारतबाट केही आउन दिएको छैन। ‘चाडपर्व नजिकिरहेको बेला सीमा नाकामा चहलपहल बढ्नु पर्नेमा विगत पाँच दिनदेखि काँकडभिट्टा क्षेत्र सुनसान छ,’ पत्रकार अधिकारीले भने।
प्रदर्शनकारीले काँकडभिट्टा नाकामा रहेका मेची भन्सार कार्यालय, ट्राफिक पोस्ट, अध्यागमन कार्यालय र इलाका प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेका थिए। सो घटना पश्चात् सोही दिन एसएसबीले नाका बन्द गराएका थिए। यता झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार झापा जिल्लामा शनिबारबाट कर्फ्यु हटाएको र अब क्रमशः सीमा नाकाहरू पनि खुल्दै जाने बताए। बिर्तामोड, दमक र भद्रपुरमा चाहिँ निषेधाज्ञा जारी रहेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !