विदेशी भगौडा कैदीसहित १४ जना पक्राउ
जनकपुरधाम : जेनजी आन्दोलनका क्रममा काठमाडौंबाट फरार ४ विदेशी कैदीसहित १४ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय कारागार काठमाडौंबाट फरार भएका चारजना विदेशीसहित १४ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा तीनजना नाइजेरियन नागरिक तथा १ जना ब्राजेलियन नागरिक रहेको धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए। उनीहरूलाई नेपाल भारतको सीमा नाका धनुषा बिदेह नगरपालिकाको मैनाथपुर र सबैला नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको जानकारी दिए।
पक्राउ पर्नेमा नाइजेरियाका ३८ वर्षिय मो. लामिन्स डाबो, ३५ वर्षिय ग्लोरी बडे, वर्ष ५५ को ईमानुअल ओवुडा उजेईग्बे र २५ वर्षिय ब्राजिलका लारेशन ब्रिटो रहेका छन्। चारै जनालाई भदौ २७ गते नेपाल भारतको सिमानाबाट भारततर्फ भाग्दै गर्दा पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जना लागुऔषधको कारोबार मुद्दामा केन्द्रीय कारागारमा सजाय पाएकामा जेनजीको आन्दोलनको क्रममा गत मंगलबार फरार भएका थिए। भारतको बाटो भएर आफ्नो देश फर्किने उद्देश्यले विदेशी कैदीहरू धनुषामा आइपुगेको प्रहरीले अनुमान गरेको छ।
यसैगरी धनुषा प्रहरीले सिन्धुली तथा महोत्तरीको जलेश्वर कारागारबाट फरार भएका १० जना अन्य नेपाली बन्दीहरूलाई पक्राउ गरेको छ।
सिन्धुली तथा जलेश्वर कारागारबाट फरार भएका बन्दीहरूलाई पक्राउ गरेको धनुषाका प्रहरी नायब उपरीक्षक बरुण बहादुर सिंहले जानकारी दिए। पक्राउ पर्ने नेपाली कैदीहरू माथि कर्तव्य ज्यान, जबरजस्ती करणी, ज्यान उद्योग तथा लागुऔषधका आरोपीहरू रहेका छन्।
प्रतिक्रिया दिनुहोस !