भोलिदेखि भक्तपुरमा नौराते मेला

भोलिदेखि भक्तपुरमा नौराते मेला

भक्तपुर : दशैंको सुरुवातसँगै भक्तपुरमा नौ राते मेला सोमबारदेखि सुरु हुँदैछ। प्रत्येक वर्ष दशैंको घटस्थापनासँगै सुरु हुने नौ राते मेला यहाँका विभिन्न नौ शक्तिपीठहरुमा लाग्ने गर्दछ।  

रातको समयमा मेला लाग्ने भएकोले स्थानीयहरू यसलाई नवरात अर्थात् नौ राते मेला भनेर बुझ्छन्। तथापि बिहान पनि मेला नलाग्ने होइन। तर बिहानको तुलनामा साँझको समयमा मेला भर्न सयौं बाजागाजाका साथ टोल टोलबाट हजारौं भक्तालुहरू सहभागी हुने गर्छन्। त्यसकारण यसलाई नवरात भनेर धेरै बुझ्ने गर्छन्। 

नवरातको नौ दिन नौ छुट्टाछुट्टै शक्तिपीठहरुमा बिहान र साँझ दिनमा दुई पटक मेला लाग्ने गर्दछ। यस अनुसार पहिलो दिन भक्तपुरको ब्रम्हायणीमा मेला लाग्छ। अन्तिम दिन पनि यही ठाउँमा मेला लाग्ने गर्दछ। परम्परा अनुसार पहिलो दिन प्रतिपदामा ब्रम्हायणी, दोस्रो दिन महेश्वरी, तृतीया अर्थात तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पञ्चमीको पाचौं दिन बाराही, षष्ठी छैटौ दिन इन्द्राणी, सप्तमी सातौं दिन महाकाली, महाअष्टमी आठौं दिन महालक्ष्मी, महानवमी नवौं दिन त्रिपुरासुन्दरी र अन्तिम दिन विजया दशमीको दिन फेरि ब्रम्हायणीमै मेला लाग्ने गर्छ। 

अन्तिम दिन ब्रम्हायणीमा सबैभन्दा ठूलो मेला लाग्ने गर्छ। यस दिन यस ठाउँमा दिनभर मेला लाग्ने गर्दछ। यस दिन यो ठाउँमा भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोक लगायतका नजिकका जिल्लाहरूबाट हजारौं जात्रालु ब्रम्यहाणी जाने गर्छन्। 

दशैंको यी दिनहरुमा बिहान र बेलुका भक्तपुर दरबार स्क्वायरस्थित तलेजु मन्दिरमा पनि दैनिक विशेष मेला लाग्ने परम्परा छ। यी मेलाहरूमा नगरभरिका दसौं भक्तजनहरु बाजागाजाका साथ उल्लासमय रूपमा सहभागी हुने गर्छन्। नवरातका क्रममा बालबालिकादेखि वृद्धवृद्धासम्म सहभागी हुने गर्छन्। तर पनि युवा उमेरका युवा युवती बढी रमाउने गर्छन्। यो बेला तन्नेरी उमेरका युवायुवती एक आपसमा जिस्किएर रमाउने परम्परा अझै छ।  

यसबाहेक भक्तपुरको दशैंका विभिन्न विशेष आकर्षणहरू रहेका छन्। खम्ये जात्रा (राँगो दौडाउने जात्रा), कुछी भ्वय (दुई माना चिउरा नापेर खानुपर्ने विशेष भोज), पायोन्हायाकेगू (भागी विवाह) लगायतका विशेष आकर्षणहरू यहाँको दशैंका आकर्षणहरु हुन्।  

यीबाहेक पनि दशैंको दसौं दिन भक्तपुर नगरका ठाउँठाउँमा विभिन्न मेला जात्रा हुने गर्छन्। इतिहासविद् डा वीरेन्द्रप्रसाद कायस्थका अनुसार मूल दशैं देशभरि मनाउने गरे पनि भक्तपुरको दशैं विशेष आकर्षण रहने सुनाउँछन्। उनका अनुसार दशैंको दस दिनमा भक्तपुरमा विशेष भोज, जात्रा, मेला लाग्ने गर्छन्। 

प्रत्येक दिन एकएक शक्ति पीठमा जात्रा हुने गर्दछ। उनका अनुसार विजयादशमीको दिन तलेजुमा खड्गको पूजा हुन्छ। यसलाई नेवारीमा पायोन्हायाकेगू भन्ने चलन छ। यो दिन प्रेम सम्बन्धमा बसेका जोडीहरूले भागेर विवाह गर्ने गरिन्छ। यसरी यो दिनको विवाहलाई कानुनी मान्यता दिइन्छ। यस दिन भागी विवाह बाहेक मागी विवाह, व्रतबन्ध आदि शुभ कार्यहरू गर्ने चलन छ। यो दिनलाई शुभ साइतका रूपमा लिने गरिन्छ। यस दिन साइत नजुडेका जोडीहरूको विवाह गरिदिने चलन छ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.