तुइन खोलाको पहिरो, तीन दिन सडकमै बास

तुइन खोलाको पहिरो, तीन दिन सडकमै बास
सुन्नुहोस्

चितवन : तीन दिनदेखिको पहिरो कतिखेर हट्ला भनेर सडकमा कुरिरहेकी थिइन्, विराटनगरकी सन्ध्या नानु रेग्मी। अध्ययनका लागि पोखरा जानुपर्ने सन्ध्या तीनजना साथीसहित सडकमै बास बस्न बाध्य भइन्।

ठूलो पहिरोका कारण न अगाडि जान मिल्यो, न फर्किन। उनी निराश बनिन्। पहिरो हटाउन समय लागेपछि उनी बसमै सुतिन्। ‘बिदामा घर आएकी उनी सडकमै बास बस्न बाध्य भइन्। ‘दुःख त कति हो कति’ उनले भनिन्, ‘सडकमै खाइयो, सडकमै बसियो।’ तुइन खोलाको पहिरोका कारण तीन दिन सडक बन्द भयो। मुलुकको लाइफलाइनका रूपमा चिनिएको सडक अवरुद्ध हुँदा हजारौंं यात्रुले सास्ती पाए। हजारौं सवारीसाधन अलपत्र परे। पछिल्लो समय यो सडकखण्डको तुइन खोलामा बढी समस्या देखिएको छ। 

स्तरोन्नति भए पनि नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरोको पिरलो उत्तिकै छ। पुल बनाउन पहाड काटेसँगै पछिल्ला चार वर्षयता यो ठाउँमा कहिले ठूलै पहिरो जाने र कहिले साना–ठूला ढुंगा झर्ने क्रम रोकिएको छैन। यो वर्ष मात्रै तुइन खोलामा ३० पटक पहिरो खसिसकेको छ। लामो समयसम्म सडक बन्द भएपछि मुग्लिनबाट तनहुँतर्फ त्रिशूली किनारै किनारको बाटोमा हिँडेर पहिरो क्षेत्र पार गरेका थिए। निकै सास्ती पाएको भन्दै कतिपयले आक्रोश पनि पोखे। वैकल्पिक बाटो नहुँदा समस्या भएको सवारीचालक होमनारायण महतोले बताए। 

‘रातभर सडकमा बस्दा आफ्नो भन्दा यात्रुको सुरक्षाले चिन्तित बनायो। कसरी सुरक्षित लैजाने भन्ने चिन्ता मात्रै हुन्छ,’ उनले भने , ‘यति धेरै सवारी छन्। तर, पहिरोले तीन दिन रोकिन प¥यो। पहिरो झने ठाउँमा कमसेकम सरकारले प्राथमिकता दिएर कहिल्यै नझर्ने बनाए हुन्थ्यो। ’
शुक्रबार राति ७ बजेदेखि अवरुद्ध भएको नारायणघाट–मुग्लिन सडकको पहिरो हटाउन तीन दिन लाग्यो। दसैंको मुखमा घर जाने यात्रुहरू बाटोमै रोकिए। शुक्रवार साँझ एकतर्फी सञ्चालन भए पनि सडक सुरक्षाका कारण राती नौ बजेदेखि बिहानसम्मका लागि बन्द गरिएको छ। पहिरोले सडक अवरुद्ध भएपछि यात्रुको सडकमै बास भयो। भोक र प्यासले सताए पनि बाटो हेर्दैमा दुई रात सडकमै बसे। पीडा र दुखेसो पोखेका उनीहरूले निकै सास्ती पाएको बताए। सडक अवरुद्ध हुँदा हजारौंं यात्रुहरू अलपत्र परेका थिए।

तुइन खोलामा पुल निमार्णका लागि पहाड कटान गरिएको हो। कमजोर भुवनोट भएका कारण तुइन खोलामा छिनछिनमै पहिरो खस्छ। पुलका लागि पहाड काट्दा पहिरो खस्ने समस्या छ। यसपटक ३० पटकभन्दा बढी पहिरो खसेको थियो। यो ठाउँमा चार वर्षदेखि हरेक वर्षायाममा पहिरो खसेर दुःख दिइरहेको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले बताए। 

‘ठूलो पानी परेको भए बगाएर लैजान्थ्यो। सानो पानी माटो र ढंगाभित्र छिरेर माटो खुकुलो बनाएपछि पहिरो झर्ने गरेको छ। माथि गएर हेर्ने अवस्था पनि छैन। जटिल ठाउँ भएकाले यसको लागि ड्रोनको सहायताबाट हामीले अवस्था हेरेर काम गर्दैछौं,’ घिमिरेले भने,‘ पहिरो नियन्त्रणका लागि बजेट परेको छ। पहाडमा रड अड्काएर जाली राखे (रक नेटिङ) गर्ने हो। त्यसका लागि मंसिरमा ठेक्का लगाउने तयारी छ।’ 

पहिरोका कारण साढे ११ हजारभन्दा धेरै गाडीहरू जाममा परेका थिए। तीन दिनदेखिको सवारी जाम सुरक्षाको व्यवस्थापनमा प्रहरी लागेको थियो। माथिबाट पहिरो झर्न नरोकिएकाले पहिरो हटाउन निकै कठिन भएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए। पहिरो खसेको ४६ घण्टापछि अवरुद्ध सडक एकतर्फी खुलाइएको सडक विभागका प्रवक्ता इन्जिनियर प्रभातकुमार झाले बताए। केही दिनअघि परेको पानीका असर अहिले सुक्खा पहिरो गएको झाले बताए। 

‘ढुंगाको थुप्रोबाट अझै पनि सानासाना ढुंगा खसिरहेका छन्। अहिलेलाई एकतर्फी साधन चल्न सक्ने गरी खोलिएको छ,’ उनले भने। तुइनखोलानजिक खसेको पहिरोले करिब १ सय ६० मिटरसम्म सडकमा असर गरेको र करिब २० मिटरको थुप्रो बनेको थियो। सबै खसेका ढुंगाको थुप्रोलाई डोजरको सहायताले तल खोलामा खसालिएको छ। ३ दिनदेखि रोकिएका सवारीलाई पास गर्न मिल्ने गरी एकतर्फी बाटो खोलिएको भन्दै झाले सडक अवरुद्ध हुँदा रोकिएको सवारी चाप कम भएपछि दुईतर्फी खोलिने बताए। 

आइतबार अपराह्न ४ बजेबाट एकतर्फी बाटो खोलेसँगै करिब २० हजार गाडी पास भएको जिल्ला प्रहरी कार्यालय भरतपुरका प्रहरी निरीक्षक गायत्रीराज शर्माले बताए। अझै करिब ५ हजार सवारी अड्किएका छन्। गन्तव्य सुरुका जिल्लाहरूमा सवारी नछोड्नलाई जानकारी गराइएको पनि उनले बताए। 
वर्षा र पहिरोका कारण देशभरका सडक सञ्जाल कतै आंशिक अवरुद्ध त कतै पूर्ण अवरुद्ध भएका छन्। सडक विभागको तथ्यांकअनुसार पूर्वदेखि पश्चिमसम्मका करिब ७ स्थानमा सडक पूर्णरूपमा अवरुद्ध छन्। रसुवाको स्याउपार्किङ–रसुवागढी र तातोपानी–टिमुरे, संखुवासभाको वरुण र अल्फटे, ताप्लेजुङको फक्ताङलुङ वडा नम्बर ५ र ६ जोड्ने रानीपुल बेलिब्रिज र सिन्धुपाल्चोकको कोदारी र घट्टेखोला नजिकका सडक अवरुद्ध रहेका छ। १ सय ६९ स्थानमा सडक एकतर्फी सञ्चालनमा आएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.