चुम उपत्यकामा फापर भित्र्याउने चटारो
गोरखा : उत्तरी गोरखाको चुम उपत्यकामा फापर भित्र्याउने सिजन सुरु भएको छ। ३ हजारदेखि ३५०० मिटरसम्म उचाइमा अवस्थित चुम उपत्यकाको छेकम्पारमा सबै किसान अहिले फापर भित्र्याउनमा व्यस्त रहेको स्थानीय पासाङफुञ्जो लामाले जानकारी दिए।
चुमनुब्री गाउँपालिका–७ छेकम्पारको प्रमुख बाली गहुँ, फापर र आलु हुन्। गहुँ एक महिनाअघि नै भित्र्याइसकेका छन् भने अहिले फापर भित्र्याउन थालेको उनले बताए।
‘गहुँ, पाक्न ११ महिना लाग्छ, फापर ६ महिनामै पाक्दो रहेछ’, निवर्तमान वडाअध्यक्ष समेत रहेका लामा भन्छन्,‘एउटै बारीमा सधैँ एउटै खेती गर्न नहुने रहेछ। त्यही भएर बारीमा गहुँ, आलु र फापर आलोपालो गरी लगाउँछौँ। एकवर्ष फापर लगायो भने तीनवर्ष गहुँ लगाउँछौँ। अनि फेरि फापर लगाउँछौँ।’
यो वर्ष फापर धेरै राम्रो उत्पादन भएको उनको भनाइ छ। ‘ढिँडो पकाउँदा पनि तीन भागमा दुईभाग गहुँको पिठो र एकभाग फापरको पिठो मिसाएर पकाउनु पर्छ अनि धेरै मिठो हुन्छ’, उनी भन्छन् ।
यहाँको उच्च हिमाली हावापानीमा उत्पादन भएको फापर अति उच्च गुणस्तरको र औषधीसमेत हुने स्थानीयको भनाइ छ। काठमाडौँका ठुला गुम्बाहरूमा बस्ने लामा गुरुहरूले समेत यहाँबाट फापरको पिठो किनेर लाने गर्छन्। यहाँको फापरको पिठो प्रतिघ्वाक १२० रुपैयाँमा किनबेच हुने गर्छ।
‘सुगर हुनेलाई, जण्डिस हुनेलाई यो फापरको पिठो औषधी हुने रहेछ’,लामा भन्छन्,‘गाउँमा मोटरबाटो छैन। हेलिकोप्टर आउँदा काठमाडौंबाट धेरै मगाउँछन्। त्यसमै पठाइदिन्छौँ। कसैलाई खच्चडमा बोकाएर पनि पठाइदिन्छौँ।’ औषधी हुने भन्दै याक, चौँरीलाई पनि फापरको पिठो खुवाउने चलन रहेको छ।
सिजन लागेपछि यहाँका छेकम, पारो, जोङ् ङाक्यू, लेरु, लामागाउँ, बुर्जी, लार, फुर्पे, छुले र निले गाउँका किसान आलोपालो गरी पर्म लगाएर फापर भित्र्याउने गर्छन्। पछिल्लो चरणमा तिब्बतबाट मेसिन ल्याएर पनि फापर काट्ने गरेका छन्। यस वर्षदेखि मेसिन ल्याएर फापर काटेको पासाङ फुञ्जो लामा बताउँछन्।
प्रतिक्रिया दिनुहोस !