गर्भवती महिलाका लागि प्यारासिटामोल हानिकारक छ ?, ट्रम्पको भनाइपछि सुरु भयो बहस
काठमाडौं : राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका डाक्टरलाई चाँडै गर्भवती महिलालाई दुखाइ निवारक टायलेनोल नलेख्न आग्रह गरिने बताएका छन्। ट्रम्पले सोमबार ह्वाइट हाउसको ओभल अफिसमा स्वास्थ्य सचिव रोबर्ट एफ. केनेडी जुनियरसँगै यो औषधि र अटिजमबीच विवादास्पद सम्बन्ध रहेको दाबी गरेका हुन्।
ट्रम्पले प्यारासिटामोल लाभदायक छैन भनेर पनि दाबी गरे। उनले गर्भवती महिलाले उच्च ज्वरोको गम्भीर अवस्थामा मात्र यो औषधि सेवन गर्नुपर्ने बताए।
प्यारासिटामोल टायलेनोलमा मुख्य घटक हो। अमेरिकामा यसलाई एसिटामिनोफेन पनि भनिन्छ।
केही अध्ययनले गर्भवती महिलाले एसिटामिनोफेन लिने र अटिज्मबीचको सानो सम्बन्ध देखाएका छन्। तर कुनै निश्चित निष्कर्षमा पुग्न सकेको छैन। एसिटामिनोफेनले अटिज्म निम्त्याउँछ भन्ने कुरा अझै प्रमाणित भएको छैन।
टायलेनोल भनेको के हो ?
टायलेनोल एक ओभर–द–काउन्टर दुखाइ निवारक हो। यसको अर्थ यसलाई प्रिस्क्रिप्शनको आवश्यकता पर्दैन। यसको सक्रिय घटकलाई संयुक्त राज्य अमेरिकामा एसिटामिनोफेन र अन्यत्र प्यारासिटामोल भनिन्छ।
यो औषधि संसारभर विभिन्न नामले बेचिन्छ। यसको ट्याब्लेट धेरैजसो घरमा दुखाइदेखि ज्वरोसम्मको उपचार गर्न पाइन्छ।
गर्भावस्थामा सुरक्षा
विश्वभरका सरकारले यो औषधि गर्भवती महिलाका लागि सुरक्षित रहेको बताएका छन्।
अमेरिकन कलेज अफ अब्स्टेट्रिक्स एण्ड गायनोकोलोजीले देशभरका डाक्टरले लामो समयदेखि टायलेनोल (प्यारासिटामोल) गर्भवती महिलाका लागि एक मात्र सुरक्षित दुखाइ कम गर्ने औषधि मान्दै आएको बताएको छ।
ʻविगतका अध्ययनहरूले एसिटामिनोफेनको विवेकपूर्ण प्रयोग र भ्रूण विकास सम्बन्धी समस्याबीचको प्रत्यक्ष सम्बन्धको स्पष्ट प्रमाण प्रदान गरेका छैनन्,ʼ संस्थाले भन्यो।
बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाको दिशानिर्देश अनुसार गर्भवती महिलाका लागि दुखाइ निवारकको रूपमा प्यारासिटामोल पहिलो रोजाइ हो। एनएचएसका अनुसार यो सामान्यतया गर्भावस्थामा लिइन्छ र तपाईंको बच्चालाई हानि गर्दैन।
बीबीसीसँग टायलेनोलको निर्माता केनभ्यूले गर्भवती महिलामा औषधिको प्रयोगको बचाउ गरेको छ र यो उपलब्ध सबैभन्दा सुरक्षित पीडा निवारक विकल्प भएको बताएको छ।
कम्पनी र अमेरिकी डाक्टर दुवैले गर्भवती महिलालाई कुनै पनि ओभर–द–काउन्टर औषधि लिनु अघि स्वास्थ्य पेशेवरसँग परामर्श गर्न सल्लाह दिन्छन्।
टायलेनोलले अटिजम निम्त्याउन सक्छ ?
अप्रिलमा अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागका प्रमुख रोबर्ट एफ. केनेडी जूनियरले पाँच महिनाभित्र अटिजमको कारण पत्ता लगाउन व्यापक परीक्षण र अनुसन्धान गर्ने वाचा गरे।
तर विज्ञहरुले अटिजम एक जटिल सिन्ड्रोम भएको भन्दै यसको कारणहरू पत्ता लगाउन सजिलो नहुने बताए।
अनुसन्धानकर्ताहरूले अटिजमको कुनै एकल कारण नभएको बताए। यो आनुवंशिक र वातावरणीय कारकहरूको जटिल संयोजनको परिणाम हो भन्ने विश्वास गरिएको छ।
अगस्टमा हार्वर्ड विश्वविद्यालयको चान स्कूल अफ पब्लिक हेल्थका डीनको नेतृत्वमा एउटा अध्ययन गरिएको थियो।
यस अनुसन्धानको समीक्षाले गर्भावस्थाको समयमा टायलेनोलको सम्पर्कले बच्चामा अटिजम र अन्य स्नायु सम्बन्धी विकार हुने जोखिम बढाउँछ भन्ने पत्ता लगाएको छ।
अनुसन्धानकर्ताहरूले औषधिको प्रयोग सीमित गर्न कदम चाल्नुपर्ने तर्क गरे। तर गर्भवती महिलामा ज्वरो र दुखाइको उपचारका लागि दुखाइ निवारक अझै पनि मूल्यवान रहेको बताए।
तर २०२४ मा प्रकाशित अर्को अध्ययनले टायलेनोलको जोखिम र अटिजमबीच कुनै सम्बन्ध फेला पारेन।
टायलेनोलले कसरी काम गर्छ ?
दुखाइ कम गर्ने औषधि (एनाल्जेसिक्स) ओपिओइड वा गैर–ओपियोइड हुन सक्छन्।
अफिमको बोटबाट लिइएका वा प्रयोगशालामा उत्पादन गरिएका ओपियोइड्सले मस्तिष्कमा ओपियोइड रिसेप्टरहरूसँग बाँध्छन् र आनन्दको अनुभूतिसँग सम्बन्धित हर्मोन डोपामाइनको रिलीजलाई उत्तेजित गर्छन्।
तर यी औषधि लत लाग्न सक्छन्। त्यसैले विज्ञहरूले दुखाइको उपचार प्यारासिटामोल जस्ता गैर–ओपियोइड औषधिबाट सुरु गर्नु उत्तम हुन्छ।
रोचक कुरा के छ भने प्यारासिटामोलले कसरी काम गर्छ भन्नेबारेमा अझै पनि कुनै पत्ता लागेको छैन।
बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार प्यारासिटामोलले मस्तिष्कमा दुखाइको संकेत दिने र शरीरको तापक्रम नियन्त्रण गर्ने रासायनिक सन्देशवाहकलाई रोकेर काम गर्छ।
यो औषधि कति प्रभावकारी छ ?
विश्व स्वास्थ्य संगठनले दुखाइ र हल्कादेखि मध्यम ज्वरोका लागि प्यारासिटामोल लिन सिफारिस गर्दछ।
यदि यसले काम गरेन भने बिरामीले दुखाइ कम गर्न ओपिओइड्स लिनुपर्छ। यदि त्यसले काम गरेन भने डाक्टरलाई देखाउनुपर्छ।
प्यारासिटामोल कति प्रभावकारी हुन्छ भन्ने कुरा दुखाइमा निर्भर गर्दछ।
बेलायतस्थित कोक्रेन इन्स्टिच्युटले गम्भीर माइग्रेनका साथै जन्म र शल्यक्रिया पछिको दुखाइ व्यवस्थापन गर्न प्रभावकारी हुन सक्छ भन्छ।
तर, यो औषधि घुँडाको गठिया जस्ता रोगमा त्यति लाभदायक छैन।
प्रतिक्रिया दिनुहोस !