जनकपुरधाम : मधेश प्रदेश सरकारको मुख्यमन्त्री सतिष कुमार सिंह नेतृत्वको सरकार अल्पमतमा परेको छ। नेपाली कांग्रेस संसदीय दलको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै सिंह नेतृत्वको सरकार अल्पमतमा परेको हो ।
मुख्यमन्त्री सिंह नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टी सहभागी थियो। मुख्यमन्त्री सिंहलाई प्रदेशसभामा ६९ सदस्यको समर्थन थियो। नेपाली कांग्रेसले समर्थन फिर्ता लिएसंगै सिंह नेतृत्वको मधेस सरकार अल्पमतमा परेको छ।
नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णा यादवले अन्नपूर्णसँग भने, 'हामीले जनमत सरकारबाट समर्थन फिर्ता लिइसक्यौं। अब प्रदेशसभाको ठूलो दलको हैसियतले कांग्रेस सरकारको नेतृत्व दाबी गर्छ।'
मधेस प्रदेश मुख्यमन्त्री सिंहले जेन-जीको आन्दोलनकारीको सहानुभूति लिन र निशानाबाट जोगिन सामाजिक सञ्जालबाटै राजीनामा घोषणा गरेका थिए। जेन-जीको प्रदर्शनकारीले जनकपुरमा सरकारी कार्यालय र खोजीखोजी नेताको घरमा आगजनी गरिरहेका दिन भदौ २४ गते सामाजिक सञ्जाल फेसबुकबाट सिंहले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट वक्तव्य जारी गर्दै राजीनामाको घोषणा गरेपछि विभिन्न समाचार माध्यममा समाचार छापिएको थियो। तर, उनले राजीनामा गरेको आधिकारिक पत्र प्रदेश प्रमुख समक्ष पठाएनन्।
जनमत पार्टीले यस अघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिएर मुख्यमन्त्रीसहित मन्त्री फिर्ता बोलाए पनि मुख्यमन्त्री सिंह मुख्यमन्त्री नछोडने अडानका साथ पदमै छ्न् । उनको दलले भने पार्टीको निर्णय नमानेको भन्दै स्पष्टीकरण समेत सोधेको छ ।
कूल १०७ सदस्यीय मधेश प्रदेश सभामा अहिले कांग्रेसको २२, एमालेको २५ (सभामुख सहित), जनमत पार्टीको १३ (उपसभामुख सहित), लोकतान्त्रिक समाजवादी पार्टीको ९, जनता समाजवादी पार्टी, नेपालको १९, नेकपा (माओवादी केन्द्र) को ९, नेकपा (एकीकृत समाजवादी) को ७, नागरिक उन्मुक्ति पार्टीको १, राष्ट्रिय प्रजातन्त्र पार्टीको १ र नेपाल संघीय समाजवादी पार्टीको १ सिट रहेको छ।
मुख्यमन्त्रीले राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाउनुपर्ने र प्रदेश प्रमुखले स्वीकृत गर्ने संवैधानिक व्यवस्था छ। संविधानको धारा १६९ को उपधारा १ को (क) मा मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष लिखित राजीनामा दिनुपर्ने उल्लेख छ।
२०८१ जेष्ठ २५ मा नेकपा माओवादी केन्द्रलगायत ६ दलको समर्थनमा जनमतका सिंह मुख्यमन्त्री बनेका थिए। पछि संघमा नेपाली कांग्रेस र एमालेको सरकार बनेपछि प्रदेशबाट माओवादी केन्द्र बाहिरिएका थिए। अहिले नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले उनलाई समर्थन गर्दै सरकारमा सहभागी भएका थिए ।
एमालेले हालसम्म जनमतको सतिष सिंह नेतृत्वको सरकारलाई समर्थन गरेपनि काङ्ग्रेसले समर्थन फिर्ता लिएपछि एमाले हेर र पर्खको अवस्थामा रहेको छ । एमाले संसदीय दलका नेता सरोज कुमार यादवले संसदीय दलको बैठकबाट निर्णय लिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !