वडाध्यक्षका श्रीमानको नेतृत्वमा नगरपालिकामा तोडफोडसहित आगजनी
जनकपुरधाम : सिरहाका एक वडाध्यक्षको श्रीमानले नगरपालिकामा आगजनी गरेको भिडियो सार्वजनिक भएको छ। सिरहा जिल्लाको मिर्चैया नगरपालिकाकी वडाध्यक्ष पवित्री देवी यादवको श्रीमानले नगरपालिकामा एक हुल मानिस लगेर तोडफोड तथा आगजनी गरेको भिडियो सार्वजनिक भएको हो।
सिरहाको मिर्चैया नगरपालिका-३ का वडाध्यक्ष पवित्रा देवी यादवको श्रीमान ४५ वर्षीय खगेश्वर गोहिवार यादवले एक हुल मानिसको नेतृत्व गर्दै गएर नगरपालिकामा तोडफोड तथा आगजनी गरेको भिडियो सार्वजनिक भएको हो। जेनजी समूहको आन्दोलनका क्रममा भदौ २४ गते खगेश्वर गोहिवारको नेतृत्व टोलीले नगरपालिकामा तोडफोड तथा आगजनी गर्दै विध्वंश मच्चाएको नगरपालिकाका मेयर श्रवण कुमार यादवले आरोप लगाए।
गोहिवारसँगै मिर्चैया नगरपालिकाका-३ का मनोज ठाकुर, सुदिप गोहिवार, मनिष गोहिवार, नन्द कुमार यादव रहेको नगरपालिकाले इलाका प्रहरी कार्यालय मिर्चैया, सिरहामा दर्ता गरेको उजुरीमा उल्लेख छ। यसैगरी मिर्चैया नगरपालिका-१० बस्ने विजय साह सहितको अगुवाइमा अपद्रव समूहले तोडफोड गर्दै आगजनी गरेको नगरपालिका प्रशासनले जनायो।
जेनजी आन्दोलनका क्रममा नगरपालिकाको ट्याक्टर ४ थान, ट्रिफर १ थान, वारुण यन्त्र, सेफटी टैंक, रोलर, जेसिबी लगायतको गाडी पूर्ण रूपमा जलेर ध्वस्त भएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार नगरपालिकाको भवनमा रहेको प्रमुख प्रशासन, स्वास्थ्य, शिक्षा, खेलकुद लगायतको भौतिक पूर्वाधार पूर्ण रूपमा जलेर नष्ट भएको हो। जेनजी आन्दोलनको क्रममा मिर्चैया नगरपालिकाको भौतिक संरचना तथा सवारी साधन लगायत गरी कूल १५ करोडको क्षति भएको नगरप्रमुख श्रवण कुमार यादवले अन्नपूर्णलाई जानकारी दिए।
गोहिवारद्वारा नपामा पटक–पटक तोडफोड
सिरहा मिर्चैया नगरपालिका ३ का वडाध्यक्ष पवित्रा देवी यादवको श्रीमान् खगेश्वर गोहिवारले २०८० माघ २८ गते नगरपालिकाको कार्यालय भवनमा मानिसहरुलाई ल्याएर ढुङ्गामुढा तथा तोडफोड गर्न लगाएको आरोप छ।
गोहिवारको नेतृत्वमा आएका एक हुल मानिसको समुहले लाठी, भाठ्ठा, ढुङ्गा, ईट्टा सहितका सामग्रीले प्रहरी गरी सरकारी सम्पतिमा क्षति पुर्याएकोमा मुद्दा दर्ता गरिएको थियो। दर्ता गरिएको मुद्दामा गोहिवारले तोडफोडका साथै सरकारी सम्पति लुटपाट गरेको, तोडफोड गरे तथा गराएको र अपराधिक उपद्रव मच्चाएको नगरपालिकाले इलाका प्रहरी कार्यालय सिरहा मिर्चैयामा दर्ता गराएको मुद्दामा उल्लेख छ।
उक्त घटनामा नपा कार्यालयको झयाका सिसाहरु, सीसीटीभी क्यामरा, एसि, कम्प्युटर, मोनिटर, ड्यासबोर्ड, पार्किङ गरिराखेको वारुण यन्त्र स १ ब ९७४ नम्बरको मोसा फुटाएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ। साथै सुरक्षार्थ गएका प्रहरीको टोलीमाथि इँटा प्रहार गर्दा प्रहरी जवान देवनारायण महतोको दाहिने हात भाँचिएको साथै प्रहरी निरीक्षक राम प्रसाद सापकोटाको टाउकोमा इँटा लागेर भएको इलाका प्रहरी कार्यालय मिर्चैयाको प्रहरी प्रतिवेदनमा उल्लेख छ। जसमा गोहिवार सहित २१ जनालाई प्रतिवादी बनाइएको थियो।
जसमा जिल्ला अदालत सिरहाले गोहिवारलाई पुर्पक्षका लागि जेल समेत चलान गरेको थियो। तर उच्च अदालत जनकपुर–राजविराज इजलासले गोहिवारलाई ८० हजार धरौटीमा छाड्न आदेश दिएको थियो।
गोहिवार विरुद्ध मिर्चैया प्रहरीमा ५ मुद्दा
वडाध्यक्षका श्रीमान् गोहिवार विरुद्ध इलाका प्रहरी कार्यालय सिरहा मिर्चैयाले पेश गरेको प्रतिवेदनमा उनी विरुद्ध ५ वटा अन्य मुद्दा समेत दर्ता भएको पाइएको छ। गोहिवार विरुद्ध मिर्चैया नगरपालिका पत्रको जाहेरीले आव २०८०/०८१ मा आपराधिक उपद्रव मुद्दा र आव २०७५/०७६ मा जयप्रकाश यादवको जाहेरीले गोहिवार विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको पाइएको छ।
यसैगरी वीरेन्द्र कुमार यादव गोहिवारको जोहरीले गोहिवार विरुद्ध अभद्र व्यवहार र आधारभूत विद्यालय राघोपुरको पत्रले आपराधिक उपद्रव मुद्दा दर्ता भएको छ।
प्रतिक्रिया दिनुहोस !