महिलाको शव १० दिनमा फेला
नुवाकोट : हराइरहेकी एक महिलाको शव १० दिनपछि नुवाकोटको कोल्पुखदोलामा फेला परेको छ। खोलाको किनारामा सडेगलेको अवस्थामा महिलाको शव फेला परेको हो।
ककनी गाउँपालिका-३ मसिने स्थित कोल्पुखोला किनारामा १० दिनदेखि हराइरहेकी एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। नुवाकोटकै तादी गापा १ की ५० वर्षीया माइती तामाङको शव फेला परेको प्रहरी नायब उपरीक्षक विक्रम लामाले बताए।
माइती र उनका पति ६० वर्षीय कामसार्की तामाङ स्थानीय ककनी गापा-१ स्थित डम्पिङ साइडमा फोहोर संकलनको काम गर्ने गरेकोमा माइती तामाङ यही असोज १३ गते सोमबार बिहानदेखि हराइरहेकोमा १० दिनपछि उनको शव फेला परेको डीएसपी लामाले बताए।
मृतकका श्रीमान कामसार्की तामाङले शवको सनाखत गरेका छन् भने उक्त घटनाको विशेष रूपमा अनुसन्धान सुरु गरिएको नुवाकोट प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !