पूर्वसभामुख महराविरुद्ध थुनछेक बहस जारी
काठमाडौं : सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध थुनछेक बहस सुरू भएको छ। जिल्ला अदालत काठमाडौंमा महराको थुनछेक बहस सुरू भएको हो। अहिले महरा तर्फका कानुन व्यवसायीको बहस जारी छ।
यसअघि मंगलबार बकपत्र सकिएको थियो। बयानका क्रममा महराले सुन तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेका थिए। थुनछेक बहस आजै सकिए मुद्दा पुर्पक्षका लागि धरौटीमा छोड्ने कि थुनामा पठाउने आदेश आउनेछ।
जिल्ला सरकारी वकिलको कार्यालयले उनीविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र सजायको माग गरिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन तस्करी मुद्दामा अनुसन्धान गर्न आइतबार ललितपुरबाट नियन्त्रणमा लिएको थियो।
सोही मुद्दामा केही दिनअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनको बयान लिएको थियो। सुन तस्करी प्रकरणमा महरा २०८० साल चैत्र ५ गते भैरहवाबाट पक्राउ परेका थिए। पछि सीआईबीका अनुसन्धान अधिकृतको सिफारिसका आधारमा सरकारी वकिलको कार्यालयले उनलाई हाजिरी जमानतामा छोडेको थियो।
‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएको थियो। उक्त प्रकरणमा उनका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पनि मुछिएका थिए। पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी अनुसन्धान जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो।
अनुसन्धानका क्रममा ८ करोड ५५ लाख २८ हजार ३ सय मूल्य बराबरको सुन बेचबिखन गरी आपराधिक समूह बनाइ संगठित आपराधिक लाभ लिएको देखिएकाले भन्सार ऐन २०६४ तथा आपराधिक लाभ र संगठित अपराधमा महरा संलग्न रहेको खुल्न आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
२०७९ पुस १० गतेकै दिन चिनियाँ नागरिक ली हानसोङ फ्लाइ दुबईको उडान नम्बर एफजेड ०५८७ बाट काठमाडौं आइपुगेका थिए। उनले ल्याएको भेपको ७३ बट्टा (७३० थान) मा करिब ९ किलो सुन लुकाइएको थियो। जाँचपासका क्रममा शंकास्पद देखिएपछि भेप भन्सार गोदाममा राखेर अनुसन्धान गरिएको थियो।
डेढ महिना गोदाममै राखिएको त्यो सामान त्यतिबेला भन्सार प्रशासक अरुण पोखरेलको जिम्मामा थियो। अनुसन्धानमा महराका छोरा छोरा राहुलले भेप छुटाउन भन्सार कर्मचारी र बिचौलियासँग पटक–पटक सम्पर्क गरेको तथ्य फेला परेको थियो।
प्रतिक्रिया दिनुहोस !