इलामका साना मुटुमा ठूला पीडा
इलाम : इलामका पहाड अहिले हरियालीभन्दा बढी मौन छन् । असोज १८ को भलबाढीले गाउँका घर मात्रै बगाएन, सयौं बालमस्तिष्कमा गहिरो डाबर छोड्यो । ३९ जना जीवन हराए, जसमा १० जना कलिला नानी थिए । बाँचेका नानीहरू पनि अब पहिले जस्ता छैनन् । उनीहरूका आँखामा डर, मनमा शून्यता, र भविष्यमा अनिश्चितता छ ।
११ वर्षीया स्मृती सोङ्मी अझै विद्यालय फर्केकी छैनन् । माइजोगमाई गाउँपालिका–६ की ती बालिका अहिले आफन्तकहाँ छन् । उनका प्रधानाध्यापक सूर्यप्रसाद थेवे भन्छन्, ‘स्मृती आउँदिनन्, मन बुझाउने कुरा छैन । सायद सदरमुकामतिर पढाउने तयारीमा छन् ।’
स्मृतिको कथा मन छेड्ने खालको छ । एउटा रातमा उनले बुबा, आमा, दिदी, बाजे र बोजु सबै गुमाइन् । बिहान आँखा खुल्दा घर र जग मात्र माटोमा मिसिएको थियो । ‘दुई नातिनी बाँकी छन्,’ भन्छिन् उनका फुपू बुद्धमाया सोङ्मी, ‘अब सदरमुकाम लगेर पढाउने सोचमा छौं ।’ तर, त्यो ‘अब’ कहिले आउने हो– कसैलाई ठेगान छैन ।
स्मृति मात्रै होइनन् । सूर्योदय नगरपालिका–१ मानेभन्ज्याङकी १० वर्षीया रश्मिका क्षेत्री, इलाम नगरपालिका–६ घोसकी ३ वर्षीया आभास दनुवार, माई नगरपालिका–५ की ८ वर्षीया प्रिन्सिका मगर, देउमाई–५ की १० वर्षीया दीपशिखा लिम्बु, र त्यहीँकी ९ वर्षीया सौजन लिम्बु... यी सबै नाम अब विद्यालयको हाजिरी किताबमा छैनन् ।
पहिरोले ११ वर्षीया सौगात लिम्बु, ३ वर्षीया मुनुसा थेवे, १२ वर्षीया दिव्या बस्नेत, र १७ वर्षीया नेहा राईलाई पनि माटोमा गाड्यो ।यो सूची पढ्दा थाहा हुन्छ– इलामले बालबालिकाको हाँसो गुमाएको छ ।
गाउँका शिक्षक, अभिभावक र स्थानीय अधिकारीहरू सबै स्तब्ध छन् । प्रधानाध्यापक थेवे भन्छन्, ‘घरभएका विद्यार्थी त आइपुगे पनि मनभएका फर्किन समय लाग्छ । हामी काउन्सिलिङ गर्दैछौं, तर त्यो पर्याप्त छैन ।’ माइजोगमाई गाउँपालिकाका अधिकारी गोकुल सञ्जेलका अनुसार, विस्थापित ५२ घरमध्ये अधिकांशमा बालबालिका छन्, तर औपचारिक तथ्यांक छैन । ‘किरिया खर्चका लागि २० हजार दिन पायौं,’ उनी भन्छन्, ‘तर बच्चाहरूका लागि विशेष व्यवस्था छैन ।’
इलाममा अहिले १५ भन्दा बढी विद्यालय बन्द छन् । कतै बाटो बग्यो, कतै भवन ढल्यो, कतै विद्यार्थी बस्तीमै छैनन् । देउमाई नगरपालिकाका सूचना अधिकारी गोविन्दराज बास्तोला भन्छन्, ‘हामीले घरको सूची तयार गरेका छौं, तर बालबालिकाको छुट्टै विवरण छैन ।’ जिल्ला प्रशासनले ४३६ परिवार विस्थापित भएको बताउँछ । तर ती घरका बालबालिका कहाँ छन्, कसैसँग ठ्याक्कै उत्तर छैन ।
सन्दकपुर गाउँपालिकामा मात्र २ हजार विद्यार्थी प्रभावित छन् । शिक्षा शाखा प्रमुख ध्रुव सेजुवाल भन्छन्, ‘पढ्ने बाटो छैन, डर अझै छ । तर, राहत प्याकेज बच्चाका लागि अलग बनाइएको छैन ।’
भलपानीका गाउँहरूमा अहिले पनि केही बालबालिका सामुदायिक भवन र अस्थायी टहरामा बसिरहेका छन् । न उनीहरूलाई खेल्ने ठाउँ छ, न पढ्ने वातावरण । अभिभावक चिन्तित छन्, सरकार अझै उनीहरूको मनो–सामाजिक उपचारमा संवेदनशील छैन ।
नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकार सन्धिमा हस्ताक्षर गरेको ३५ वर्ष भइसकेको छ । तर इलामका यी स–साना मुटुहरू भन्छन्, ‘अधिकारका कुरा सुनेका छौं, महसुस भने कहिल्यै गरेका छैनौं ।’
नेपालको संविधानले पनि बालबालिकालाई ‘विशेष संरक्षण’ गर्ने जिम्मा राज्यलाई दिएको छ । तर इलामको फाँटमा हिँड्दा लाग्छ– कुरा धेरै, काम कम । असोज २२ मा इलामलाई तीन महिनाका लागि संकटग्रस्त जिल्ला घोषणा गरिएको छ, तर राहत र पुनस्र्थापना बालमैत्री छैन ।
अब के गर्न सकिन्छ ?
बालबालिकाको जीवन र भविष्य बचाउन सरकार र समाज दुवैले केही काम गर्नै पर्छ–
१. सुरक्षित बस्ती व्यवस्थापन– जोखिमयुक्त ठाउँबाट परिवार सार्ने नीतिगत व्यवस्था ।
२. आपत्कालीन बाल संरक्षण केन्द्र– अस्थायी आश्रय, शिक्षा र खेल्ने स्थानसहित ।
३. मनोसामाजिक उपचार– आघातमा परेकालाई दीर्घकालीन सघाउ ।
४. शिक्षा निरन्तरता कार्यक्रम– विद्यालय बिग्रिए पनि वैकल्पिक पढाइ सुरु ।
५. बालमैत्री राहत वितरण– कपडा, पोषणयुक्त खाना, पढाइ सामग्री र खेल सामग्री सुनिश्चित ।
इलामका बालबालिकाको हाँसो फर्काउने बाटो लामो छ । तर, जबसम्म हाम्रा नीतिहरूले तिनका आँसु पुछ्दैनन्, तबसम्म हरेक वर्षको वर्षा बालपनै बगाइरहनेछ ।
प्रतिक्रिया दिनुहोस !