इलामका साना मुटुमा ठूला पीडा

इलामका साना मुटुमा ठूला पीडा
सुन्नुहोस्

इलाम : इलामका पहाड अहिले हरियालीभन्दा बढी मौन छन् । असोज १८ को भलबाढीले गाउँका घर मात्रै बगाएन, सयौं बालमस्तिष्कमा गहिरो डाबर छोड्यो । ३९ जना जीवन हराए, जसमा १० जना कलिला नानी थिए । बाँचेका नानीहरू पनि अब पहिले जस्ता छैनन् । उनीहरूका आँखामा डर, मनमा शून्यता, र भविष्यमा अनिश्चितता छ ।

११ वर्षीया स्मृती सोङ्मी अझै विद्यालय फर्केकी छैनन् । माइजोगमाई गाउँपालिका–६ की ती बालिका अहिले आफन्तकहाँ छन् । उनका प्रधानाध्यापक सूर्यप्रसाद थेवे भन्छन्, ‘स्मृती आउँदिनन्, मन बुझाउने कुरा छैन । सायद सदरमुकामतिर पढाउने तयारीमा छन् ।’

स्मृतिको कथा मन छेड्ने खालको छ । एउटा रातमा उनले बुबा, आमा, दिदी, बाजे र बोजु सबै गुमाइन् । बिहान आँखा खुल्दा घर र जग मात्र माटोमा मिसिएको थियो । ‘दुई नातिनी बाँकी छन्,’ भन्छिन् उनका फुपू बुद्धमाया सोङ्मी, ‘अब सदरमुकाम लगेर पढाउने सोचमा छौं ।’ तर, त्यो ‘अब’ कहिले आउने हो– कसैलाई ठेगान छैन ।

स्मृति मात्रै होइनन् । सूर्योदय नगरपालिका–१ मानेभन्ज्याङकी १० वर्षीया रश्मिका क्षेत्री, इलाम नगरपालिका–६ घोसकी ३ वर्षीया आभास दनुवार, माई नगरपालिका–५ की ८ वर्षीया प्रिन्सिका मगर, देउमाई–५ की १० वर्षीया दीपशिखा लिम्बु, र त्यहीँकी ९ वर्षीया सौजन लिम्बु... यी सबै नाम अब विद्यालयको हाजिरी किताबमा छैनन् ।

पहिरोले ११ वर्षीया सौगात लिम्बु, ३ वर्षीया मुनुसा थेवे, १२ वर्षीया दिव्या बस्नेत, र १७ वर्षीया नेहा राईलाई पनि माटोमा गाड्यो ।यो सूची पढ्दा थाहा हुन्छ– इलामले बालबालिकाको हाँसो गुमाएको छ ।

गाउँका शिक्षक, अभिभावक र स्थानीय अधिकारीहरू सबै स्तब्ध छन् । प्रधानाध्यापक थेवे भन्छन्, ‘घरभएका विद्यार्थी त आइपुगे पनि मनभएका फर्किन समय लाग्छ । हामी काउन्सिलिङ गर्दैछौं, तर त्यो पर्याप्त छैन ।’ माइजोगमाई गाउँपालिकाका अधिकारी गोकुल सञ्जेलका अनुसार, विस्थापित ५२ घरमध्ये अधिकांशमा बालबालिका छन्, तर औपचारिक तथ्यांक छैन । ‘किरिया खर्चका लागि २० हजार दिन पायौं,’ उनी भन्छन्, ‘तर बच्चाहरूका लागि विशेष व्यवस्था छैन ।’

इलाममा अहिले १५ भन्दा बढी विद्यालय बन्द छन् । कतै बाटो बग्यो, कतै भवन ढल्यो, कतै विद्यार्थी बस्तीमै छैनन् । देउमाई नगरपालिकाका सूचना अधिकारी गोविन्दराज बास्तोला भन्छन्, ‘हामीले घरको सूची तयार गरेका छौं, तर बालबालिकाको छुट्टै विवरण छैन ।’ जिल्ला प्रशासनले ४३६ परिवार विस्थापित भएको बताउँछ । तर ती घरका बालबालिका कहाँ छन्, कसैसँग ठ्याक्कै उत्तर छैन ।

सन्दकपुर गाउँपालिकामा मात्र २ हजार विद्यार्थी प्रभावित छन् । शिक्षा शाखा प्रमुख ध्रुव सेजुवाल भन्छन्, ‘पढ्ने बाटो छैन, डर अझै छ । तर, राहत प्याकेज बच्चाका लागि अलग बनाइएको छैन ।’
भलपानीका गाउँहरूमा अहिले पनि केही बालबालिका सामुदायिक भवन र अस्थायी टहरामा बसिरहेका छन् । न उनीहरूलाई खेल्ने ठाउँ छ, न पढ्ने वातावरण । अभिभावक चिन्तित छन्, सरकार अझै उनीहरूको मनो–सामाजिक उपचारमा संवेदनशील छैन ।

नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकार सन्धिमा हस्ताक्षर गरेको ३५ वर्ष भइसकेको छ । तर इलामका यी स–साना मुटुहरू भन्छन्, ‘अधिकारका कुरा सुनेका छौं, महसुस भने कहिल्यै गरेका छैनौं ।’

नेपालको संविधानले पनि बालबालिकालाई ‘विशेष संरक्षण’ गर्ने जिम्मा राज्यलाई दिएको छ । तर इलामको फाँटमा हिँड्दा लाग्छ– कुरा धेरै, काम कम । असोज २२ मा इलामलाई तीन महिनाका लागि संकटग्रस्त जिल्ला घोषणा गरिएको छ, तर राहत र पुनस्र्थापना बालमैत्री छैन ।

अब के गर्न सकिन्छ ?

बालबालिकाको जीवन र भविष्य बचाउन सरकार र समाज दुवैले केही काम गर्नै पर्छ–
१. सुरक्षित बस्ती व्यवस्थापन– जोखिमयुक्त ठाउँबाट परिवार सार्ने नीतिगत व्यवस्था ।
२. आपत्कालीन बाल संरक्षण केन्द्र– अस्थायी आश्रय, शिक्षा र खेल्ने स्थानसहित ।
३. मनोसामाजिक उपचार– आघातमा परेकालाई दीर्घकालीन सघाउ ।
४. शिक्षा निरन्तरता कार्यक्रम– विद्यालय बिग्रिए पनि वैकल्पिक पढाइ सुरु ।
५. बालमैत्री राहत वितरण– कपडा, पोषणयुक्त खाना, पढाइ सामग्री र खेल सामग्री सुनिश्चित ।
इलामका बालबालिकाको हाँसो फर्काउने बाटो लामो छ । तर, जबसम्म हाम्रा नीतिहरूले तिनका आँसु पुछ्दैनन्, तबसम्म हरेक वर्षको वर्षा बालपनै बगाइरहनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.