अझै निर्वाचनको वातावरण बनेको छैन : संयोजक प्रचण्ड
जनकपुरधाम : नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्।
बुधबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सरकारले गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन्।
संयोजक प्रचण्डले भने, ‘हिजो मात्रै संसदीय दलहरूसँग वार्ता भएको छ। त्यसबाट बिस्तारै सरकार निर्वाचनतर्फ गम्भीर हुँदै गएको आभास मिलेको छ। तर अझै निर्वाचनको वातावरण बनेको छैन। असाधारण परिस्थितिमा अन्तरिम सरकारले निर्वाचन घोषणा गरिसकेपछि निर्वाचनमै केन्द्रित हुनुपर्छ भनेर सबैभन्दा पहिला पार्टीको केन्द्रीय समितिको बैठकबाट निर्णय गर्ने माओवादी केन्द्र हो।’
प्रचण्डले जेनजी आन्दोलनपछि सबैभन्दा पहिले सार्वजनिक भएर अपिल गर्ने पार्टी पनि माओवादी केन्द्र भएको बताए। उनले भने, ‘काठमाडौं भ्याली बाहिर मधेश प्रदेशमा आएर सबैभन्दा पहिले कार्यक्रम गर्ने पार्टी पनि हामी नै हो। त्यसैले निर्वाचनको वातावरण बन्नुपर्छ।’
प्रचण्डले वामपन्थी एकता र ध्रुवीकरणको प्रक्रियामा समाजवादी एकतामा अघि बढेको बताए।
प्रतिक्रिया दिनुहोस !