बर्सेनि पछि सर्दै मनसुन, बढ्दै आकस्मिक विपद्को जोखिम

बर्सेनि पछि सर्दै मनसुन, बढ्दै आकस्मिक विपद्को जोखिम

३० वर्षको अवधिलाई केलाउँदा अक्टोबरमा मात्रै मनसुन बाहिरिने क्रम दोहोरिएको छ। जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार ३० वर्षमा २१ पटक अक्टोबरमा मनसुन बाहिरिएको छ। यसले नेपालमा मनसुनको अवधि लम्बिएको प्रष्ट्याउँछ। मनसुनको अवधि पछाडि धकेलिँदै जाँदा त्यसले विपद् जोखिमको अवधिसमेत लम्बिएको जनाउँछ। पछिल्लो समय वर्षायामपछि (असोज, कात्तिक) मा समेत मनसुनी गतिविधिले विपद् तथा जोखिम दोहोरिएका छन् ।

काठमाडौं : ३० वर्षको अवधिलाई केलाउँदा अक्टोबरमा मात्रै मनसुन बाहिरिने क्रम दोहोरिएको छ। जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार ३० वर्षमा २१ पटक अक्टोबरमा मनसुन बाहिरिएको छ। यसले नेपालमा मनसुनको अवधि लम्बिएको प्रष्ट्याउँछ। मनसुनको अवधि पछाडि धकेलिँदै जाँदा त्यसले विपद् जोखिमको अवधिसमेत लम्बिएको जनाउँछ। पछिल्लो समय वर्षायामपछि (असोज, कात्तिक) मा समेत मनसुनी गतिविधिले विपद् तथा जोखिम दोहोरिएका छन् । 

यसपालिको दसैंमा लगातार पानी पर्दा मुलुकका विभिन्न स्थानमा ५३ जनाभन्दा धेरैले ज्यान गुमाएका छन्। बहिर्गमनको समयमा मनसुन सक्रिय हुँदा ठूलो जनधनको क्षति भयो र यस्ता घटना दोहोरिन थालेको मौसमविद्हरू बताउँछन्। 
विभागका मौसमविद् सुदर्शन हुमागार्इंले भने, ‘३० वर्षमा २१ पटक अक्टोबरमा मनसुन बाहिरिएको छ। यसले मनसुनको अवधी लम्बिएको देखाउँछ।’ हुमागार्इंले विगत चार वर्ष अगाडि कात्तिकमा समेत विषम वर्षा भएको तर त्यस वर्षालाई मनसुनी वर्षा भन्न नमिल्ने जनाए। यस्ता खालका आकस्मिक विषम वर्षा आगामी दिनमा समेत चुनौती बन्दै गएको उनले जनाए। 

उनका अनुसार २०७७ सालदेखि २०८२ सालसम्मको तथ्यांक हेर्दा हरेक वर्ष असोजमा औसत वर्षा धेरै भएको देखिन्छ। २०७७ सालमा २०८.६ मिमि पानी पर्‍यो। २०७८ मा १३६.८ मिमि, २०७९ मा ३४९.६ मिमि वर्षा अर्थात् अत्यन्त भारी वर्षा भयो। त्यसैगरी २०८० मा १७२.६ मिमि वर्षा भयो। २०८१ मा २६२.७ मिमि र २०८२ मा २४५. ५ मिमि सरदर वर्षा भएको छ। 

नेपालको भौगोलिक स्थितिका कारण सय मिमि वर्षा हुनेबित्तिकै विपद् निम्त्याउने मौसमविद्हरूको भनाई छ। तर, प्रत्येक वर्षको असोजमा विपद् निम्त्याउने खालको वर्षा दोहोरिएको छ। यसका लागि विश्वासिलो मौसम पूर्वानुमान प्रणाली हुनुपर्ने देखिन्छ। 

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले पनि पाँच वर्षदेखि असोज (अक्टोबर) महिनामा लगातार पानी परिरहेकाले यस विषयमा अध्ययन गर्नुपर्ने देखिएको उल्लेख गरेका छन्। 
हुन त पहिले पनि अक्टोबरतिर पानी पर्ने र अक्टोबरमा मात्रै मनसुन बाहिरिने गरे पनि पछिल्ला वर्षहरूमा यस्ता क्रम दोहोरिएकाले प्रश्न उब्जिएको पोखरेलको भनाइ छ। 

सेप्टेम्बर २५ हुँदै अक्टोबरमा सर्‍यो मनसुन
पहिला सेप्टेम्बर २५ मा मनसुन बाहिरिन्थ्यो। हाल विभागले अक्टोबर २ लाई नेपालबाट मनसुन बाहिरिने मितिका रूपमा तय गरेको छ। तर, यस वर्षको मौसम अक्टोबर १० मा मात्रै बहिर्गमन भएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन बहिर्गमन असोज २० गते अर्थात् (अक्टोबर ६) तारिखको दिनदेखि सुरु भएको हो। सुदूरपश्चिम, कर्णाली, लुम्बिनीका धेरैजसो भूभाग र गण्डकी प्रदेशका केही स्थानहरूबाट मनसुन सुरुमै बाहिरिए पनि नेपालका सम्पूर्ण भूभागबाट असोज २४ अर्थात् (अक्टोबर १०) मा मात्रै बाहिरिएको महाशाखाका मौसमविद् सरोज पुडासैनीले बताए।

उनका अनुसार पश्चिम नेपालबाट मनसुनी वायु प्रणाली क्रमशः पूर्वतर्फ सर्दै पूर्वी नेपालबाट बाहिरिने प्रक्रियालाई मनसुन बहिर्गमन प्रक्रिया भनिन्छ। मनसुन बाहिरिन सुरु भएको एक/दुई दिनदेखि दुई सातासम्म पनि लाग्न सक्ने उनले बताए। 

तर, विभिन्न मौसमी प्रणालीहरू विश्लेषण गर्दा हरेक वर्ष फरक–फरक तरिकाले मनसुन बहिर्गमन भइरहेकाले ठ्याक्कै यो दिन मनसुन बाहिरिन्छ भन्न सकिन्न। तर, मनसुनको अवधि लम्बिएको वास्तविक भएको पुडासैनीले बताए। 
‘मनसुन अवधि जम्मा १ सय १२ दिनको हुन्छ। अघिल्लो वर्ष १ सय २४ दिन मनसुन रह्यो’, पुडासैनीले भने, ‘यो वर्ष मे २९ मा मनसुन नेपाल भित्रियो। मनसुनको जम्मा अवधिभन्दा ८ दिन ढिला बाहिरियो।’

यस वर्षको मनसुन सरदर मितिभन्दा १५ दिन छिटो नेपाल भित्रिएको थियो। नेपालमा मनसुन सामान्यतः १३ जुनमा भित्रिने गर्छ। तर, यस वर्ष मे २९ तारिखमा देशको भूभागबाट भित्रिएर जुन १२ सम्ममा देशैभरि विस्तार भएको थियो। नेपालमा मनसुन भित्रिएको सात दिनभित्र देशैभरि फैलिने गरे पनि कुनै वर्ष मनसुन भित्रिएर बाटैमा हराएका उदाहरण पनि छन्। मनसुन विस्तारका लागि उचित वातावरण नहुँदा (पूर्वबाट धकेल्दै पश्चिमसम्म फैलाउने हावा नहुँदा) कहिलेकाहीँ मनसुन विस्तारमा ब्रेक लाग्ने मौसमविद्हरूले बताएका छन्।

पुडासैनीले मनसुन बहिर्गमनको समयमा भारी वर्षा र विपद्का घटना हुने गरेको दृष्टान्तहरू अनुभव गरिसकेको बताए। गत महिना मात्रै पाँच दर्जनभन्दा बढी मानिसले पहिरो, बाढी तथा डुबानमा ज्यान गुमाए। इलाम, पर्सा, गौरलगायत विभिन्न स्थानमा एकै दिनमा ३ सय मिलिमिटरभन्दा धेरै वर्षा भएको छ। ‘१०, १५ दिनमा पर्ने पानी एकै दिनमा परेर विपद् निम्त्यायो’, पुडासैनीले भने, ‘अघिल्लो वर्ष पनि असोजमा अत्यधिक वर्षा भएको थियो। विशेष गरेर असोजमा पानी पर्ने क्रम दोहोरिएको छ।’ यस वर्ष मौसम पूर्वानुमान गरिए जस्तै वर्षा भएपछि आम मानिस पूर्वानुमान महाशाखाप्रति थप भरोसा राख्न थालेका छन्। तर, पहिले मौसम पूर्वानुमानप्रति आशंका व्यक्त गर्ने प्रवृत्ति थियो। 

मौसम पूर्वानुमानप्रतिको भरोसा
मौसमविद् पुडासैनीले प्रविधियुक्त हुँदै जाँदा पूर्वानुमान झन्–झन् बलियो हुँदै गएको बताए। जापान मौसम एजेन्सीबाट प्रत्येक १० मिनेटमा प्राप्त हुने तथ्यांकबाट मौसम प्रणाली कस्तो हुनेछ, वायुमण्डलमा कति खालका गतिविधि भइरहेका छन्, वर्षा गराउने अवस्था कस्तो छ, कति वर्षा गराउँछ जस्ता जानकारी लिँदै आएको जनाए।

त्यसैगरी विभागले सञ्चालन गरेको गणितीय मोडेल (वेदर रिसर्च एन्ड फोरकास्टिङ) बाट तीन दिनको पूर्वानुमान गर्न सकिन्छ। थप स्याटालाइट तस्बिर, विभिन्न स्टेसनका तथ्यांक, र्‍याडारहरू तथा विभिन्न निःशुल्क मोडलहरूबाट पूर्वानुमान गरिने भएकाले थप पूर्वानुमान बलियो हुँदै गएको दाबी गरे। पहिलाको भन्दा धेरै मौसम अनुगमन प्रविधिहरू भित्रिए पनि अझै पर्याप्त भने नभएको उनले बताए। 

मनसुनपछिको आकस्मिक वर्षा 
सन् २०२१ मा जल तथा मौसम विज्ञान विभागले मनसुन बाहिरिएको सूचना जारी गरेको साता दिन नबित्दै घनघोर वर्षा भयो। मनसुन बाहिरिएको सूचनापछि किसानले धान काट्न थालेका थिए। काटेर खेतमा सुकाएको धान भिœयाउन नपाउँदै परेको पानीले किसानका सपना खेतमै नराम्ररी कुहिएको थियो। त्यतिबेला २४ घण्टामा ३६१ मिलिमिटरसम्म वर्षा भएको थियो। उक्त समयमा नेपालका प्रायःजसो सबै भूभागमा वर्षात् भएकाले अत्यन्त ठूलो क्षति ब्योहर्नु परेको थियो।

त्यसपछि जल तथा मौसम विज्ञान विभागको आलोचना भयो। सही सूचना दिन नसकेको भन्दै किसान आक्रोशित बनेका थिए। आक्रोशित किसानले विभागका मौसमविद्हरूलाई सम्पर्क गरेर क्षतिपूर्तिसमेत मागेको अनुभव केहीले सुनाएका छन्। तर, हिजोआज किसान मौसम कस्तो हुँदैछ भन्ने विषयमा जिज्ञासु बनेको र मौसमविद्हरूलाई फोनसमेत गर्ने गरेका उनीहरूले 
बताएका छन्। 

मनसुनपछि पानी पर्दैन भन्ने गलत बुझाइ
मौसमविद्हरूका अनुसार मनसुन बाहिरिएपछि पानी नै पर्दैन भन्ने एक खालको भ्रम आममानिसमा छ। तर, मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जन भन्छिन्, ‘अक्टोबर, नोभेम्बरमा साइक्लोनहरू विकसित हुने समय भएकाले त्यसको प्रभावले पानी पार्ने संभावना हुन्छ। मनसुन सकिँदैमा पानी नै नपर्ने भन्ने हुँदैन।’

विभागले पछिल्ला वर्षहरूमा मनसुनपछि पनि आकस्मिक खालका वर्षाहरू दोहोरिन थालेको जनाएको छ। प्रायःजसो (जुनदेखि सेप्टेम्बर) सम्म मनसुन सिजनमा वर्षभरि पर्ने पानीको ८० प्रतिशत पर्छ। कृषि कार्यमा निर्भर नेपालका किसानलाई उक्त वर्षाले राहत दिन्छ। तर, पछिल्ला वर्षहरूमा बेलैमा पानी नपर्ने, पानी परे पनि एकै ठाउँमा ह्वार्रर पर्ने र कतैकतै पानी नै नपर्ने जस्ता गतिविधि दोहोरिन थालेको बताएको छ।

यस वर्षको जुन महिना नेपालका सम्पूर्ण भूभाग सुक्खा रहेको विभागले जनाएको छ। मनसुनमा पनि पर्याप्त पानी नपर्दा मधेस प्रदेश निकै प्रभावित बन्यो। तर, मनसुनपछि भने पानी परेर बितन्डा मच्चाएको छ। 

ढिलो मनसुन बहिर्गमन
कुनै वर्ष ढिलोछिटो मनसुन बाहिरिनु सामान्य प्रक्रिया भए पनि ३० वर्ष यताका धेरैजसो वर्षहरूमा मनसुन बाहिरिने समय पछाडि धकेलिँदै जानुले जलवायुको असरसमेत मान्न थालिएको छ । 
मनसुन ढिला बाहिरिँदा नेपाल जस्तो भौगोलिक अवस्था भएको मुलुकमा विपद्को जोखिम निम्त्याउँछ। दसंैताका भएको वर्षापछिको डुबान तथा पहिरोले ठूलो जनधनको क्षति गरेको छ। त्यसैगरी यस्ता खालका वर्षाले खाद्य सुरक्षामा चुनौती थप्नुका साथै वनस्पति तथा बालीनालीमा प्रभाव पार्छ। चरम घटनाहरू बढ्छन्।

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलले अक्टोबरको दोस्रो सातासम्म पनि पानी परिरहेकाले मनसुन बहिर्गमन ढिला भएको बताए। 

वायु प्रणाली पश्चिमबाट पूर्वतिर सर्दा जमिनको तहमा पनि हुनुपर्छ। जमिनबाट झन्डै डेढ किलोमिटर माथि (माथिल्लो तह) पनि वायु पश्चिमबाट पूर्व बहनुपर्छ। वर्षाको परिणाम घट्दै जाने, निश्चित रूपमा बादल (जलवाष्पयुक्त हावा) को मात्रा र उपस्थिति कमजोर हुँदै जान्छ। पश्चिमबाट सुक्खा हावा (ओसिलो नभएको हावा) पूर्व धकेल्ने जस्ता कुराले मनसुन बहिर्गमनलाई निर्धारण गर्छ। तर, हिजोआज यी सम्पूर्ण मापदण्ड हेर्दा मनसुन अवधि बढेको र विपद्समेत निम्ताएको उनले बताए। 

किन सर्दै छ मनसुन ढिलो ?
सिग्देल भन्छन्, ‘बंगालको खाडीमा उत्पन्न हुने मनसुनको न्यूनचापीय प्रणाली अक्टोबरतिर बढिरहेको छ। पानी पर्ने प्रणाली विकसित हुने ठाउँ (अरेवियन सागर र बंगालका खाडीमा) मनसुनको न्यूनचापीय प्रणालीको एउटा पाटो नेपालतिर प्रवेश गर्ने हो। यो समुद्री सतहको तापमानसँग जोडिएको हुन्छ। समुद्री सतहको तापमान पछिल्लो अवधिमा लगातार तातिरहेको कारण नेपालको मनसुन अवधिमा समेत प्रभाव पारेको हो। 

बंगालको खाडी र अरेबियन सागरको तापमान बढ्दा खेरी समुद्री गतिविधि पनि बढ्छ। यसकारण मनसुन तथा साइक्लोनहरू विकसित हुन्छन्। त्यसैले यसलाई प्रत्यक्ष रूपमा ग्लोबल वार्मिङसँग जोडेर हेर्न सकिने उनले बताए। मनसुनी सत्र पनि बढेको छ। प्रत्यक्ष, अप्रत्यक्ष रूपमा हरितगृह उत्सर्जन, विश्वव्यापी तापमान, मानवीय गतिविधिले भूमिका खेलेको छ। 

‘पहिला निश्चित बिन्दुमा पुगेर मनसुन सकिन्थ्यो। तर, समुद्री सतहको तापमान पनि निश्चित बिन्दुभन्दा माथि पुगेर तातिरहने भएकाले मनसुन अवधि ढिलो भएको छ’, सिग्देलले भने, ‘यसले आकस्मिक वर्षा तथा विपद् ल्याएको छ। साथै आकस्मिक विपद् दोहोरिन थालेको छ।’

उनका अनुसार यस्तै कारणले पहिले ६, ७ दिनमा पर्ने पानी एकैदिनमा पर्न थालेको र चक्रवातहरूको धेरै विकास भएर नेपालमा पनि क्षति भएको हो। 
सिजनभन्दा अन्य समयमा पनि मौसमी गतिविधिले सताउन थाल्यो। हुन त पहिले पनि यस्ता वर्षा तथा विपद् पनि नभएका होइनन् । सिग्देलले भने, ‘चक्रवातको संख्या ८/१० वर्षमा धेरै बढिरहेको छ। बंगालको खाडी र अरेवियन सागर दुवैमा। समुद्री तापमानको कारण यस्तो भएको हो। यसले नेपालमा पनि असर गरिरहेको छ।’

पूर्वसूचनाले जनधनको क्षति कम भयो : प्राधिकरण 
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकको तथ्यांकअनुसार असोज १७ देखि २० गतेसम्म भएको वर्षाले निम्त्याएको बाढी–पहिरोको कारण ५३ जनाको मृत्यु भएको छ। पाँच जना अझै हराइरहेका छन्। साथै ४७ जना घाइते भएका छन्। मनसुनको अन्त्यतिर भएको यस घटनाले आगामी दिनहरूमा पनि चनाखो हुनुपर्ने पाठ सिकाएको छ। 

प्राधिकरणका प्रवक्ता शान्ति महत भन्छिन्, ‘क्षति कम होस् भनेर काम गर्दागर्दै पनि क्षति भयो। त्यसका लागि हामी दुखी छौं। हामीले बेलैमा काम नगरेको भए अझ धेरै मानवीय क्षति हुने थियो।’ मनसुन बाहिरिने समयमा मनसुन बढी सक्रिय भएको र क्षति बढी देखिन थालेको उनले बताइन्। त्यसैगरी जति वर्षा हुन्थ्यो, त्योभन्दा बढी भइरहेको पनि उनले जनाइन्। 

यस पटक भएको घटनाको सवालमा मनसुन सुरु हुनुभन्दा केही दिन पहिलेदेखि नै आम जनमानसमा पुग्ने गरी विभिन्न माध्यमबाट सूचना प्रवाह गरेको महतले बताइन्। कहाँ, कस्ता खालका विपद् आउन सक्छन् भनेर पूर्व जानकारी दिने प्रयास प्राधिकरणले गरेको उनले दाबी गरिन्। 
‘माथिल्लो तहबाट मात्रै काम गरेर पनि क्षति कम गर्न नसक्ने रहेछ। स्थानीय आफैं पनि सचेत हुनपर्छ’, इलामको सन्दर्भ जोड्दै उनले भनिन्, ‘आकस्मिक खालको विपद् आयो। हामीले जुन ठाउँमा घटना हुन्छ भन्यौं। तीभन्दा अन्य ठाउँमा पनि घटना घट्यो। आगामी दिनमा झन् सचेत हुनुपर्ने सन्देश दियो।’ 

सरकारले तुरुन्तै लिएको निर्णयले क्षति कम गरेको उनले बताइन्। उनका अनुसार केही दिनलाई यातायात बन्द गरेर, राजमार्ग तथा खोलाकिनारमा सवारी रोकेर पनि क्षति कम भएको उनले बताइन्। 

वैशाखदेखि नै मनसुन पूर्व तयारी प्रतिकार्य योजना तयार पारेर सरकारका सम्पूर्ण संयन्त्रहरूले के कस्ता काम गर्ने भन्ने विषयमा स्पष्ट बनाइसकेको उनले जनाइन्। संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय तथा सम्पूर्णको भूमिका कस्तो हुने भन्ने विषयमा पूर्वतयारी भएको थियो। विषयगत मन्त्रालयले कस्तो काम गर्ने भनेर तयारी अवस्थामा रहेको बताइन्। साथै हुन सक्ने विपद्का लागि सम्पूर्ण साधनहरू तयारी अवस्थामा राखेको र त्यसैअनुसार इलाम लगायतका ठाउँमा उद्धार कार्यमा लागेको पनि उनले बताइन्। 

पाँच वर्षदेखि असोज (अक्टोबर) महिनामा लगातार पानी परिरहेकाले यस विषयमा अध्ययन गर्नुपर्ने देखिएको छ। हुन त पहिले पनि अक्टोबरतिर पानी पर्ने र अक्टोबरमा मात्रै मनसुन बाहिरिने गरे पनि पछिल्ला वर्षहरूमा यस्ता क्रम दोहोरिएकाले प्रश्न उब्जिएको छ। 
विनोद पोखरेल - सहाध्यापक, त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभाग

समुद्री सतहको तापमान पछिल्लो अवधिमा लगातार तातिरहेको कारण नेपालको मनसुन अवधिमा समेत प्रभाव पारेको छ। यसले आकस्मिक वर्षा तथा विपद् ल्याएको छ। साथै आकस्मिक विपद् दोहोरिन थालेको छ। यसलाई जलवायु परिवर्तनको असर मान्न सकिन्छ।  
मदन सिग्देल - सहप्राध्यापक, त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग

यस वर्ष क्षति कम होस् भनेर काम गर्दागर्दै पनि क्षति भयो। त्यसका लागि हामी दुखी छौं। हामीले बेलैमा काम नगरेको भए अझ धेरै मानवीय क्षति हुने थियो।  
शान्ति महत - प्रवक्ता, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.