कासघारीले ढाकिएको मेची किनारमा छठ पूजाको तयारीमा समस्या

कासघारीले ढाकिएको मेची किनारमा छठ पूजाको तयारीमा समस्या
कासघारीले कुरुप देखिएको भद्रपुर–५ स्थित सीमावर्ती मेची नदी किनारमा छठ पूजा स्थल। तस्बिर : पार्थ मण्डल

झापा : यसपटक कासघारीले ढाकिएको भद्रपुरस्थित मेची नदी किनारमा छठ पर्वको तयारी गर्न आयोजक समितिलाई असहज भइरहेको पाइएको छ। मेची पुल उत्तरदेखि देवी बस्तीसम्मको करिब एक किलोमिटर बगर पूरै कासले ढाकिएको थियो। 

भद्रपुर नगरपालिकाले बगरको कासघारी हटाउन तिहारअघि नै जेसीबी, घाँस काट्ने मिसिन, हलो जोत्ने ट्याक्टर प्रयोग गर्दासमेत बगर सफा हुन सकेको छैन। त्यति मात्र नभई गत असोज १९ गते आएको बाढीले पनि बालुवा ल्याएर थुपारिँदा बगरको कासघारी हटाउन झन् समस्या उत्पन्न भएको मैथिल समाज भद्रपुरका सचिव सुशील कर्णले बताए। 

नदी किनारतिर समस्या छैन। त्यहाँ धमाधम घाट (पूजा स्थलहरू) निर्माण भइरहेका छन्। ‘समस्या व्रतालु तथा भक्तजनहरू हिँड्डुल गर्ने ठाउँमा देखिएको छ,’ समाजका सचिव कर्णले भने, ‘कासघारी हटाउन धेरै प्रयास गरियो तर सफल भएनौं, कासको जरा दरो भएकाले काट्नै सकिएन।’ अलिअलि पुलको नजिकै काटेर हिँड्डुल गर्ने ठाउँचाहिँ बनाएको उनको भनाइ  छ ।

नेपाल–भारतको सीमा नाकासँग जोडिएको जिल्लाकै सबैभन्दा फराकिलो र लामबद्ध छठ पर्व मनाइने मेची नदी किनारमा नेपाल र भारत दुवै देशका नागरिकले छठ मनाउने संगम स्थल पनि हो। यही कार्तिक १० गते सोमबार अस्ताउँदो सूर्य र भोलिपल्ट मंगलबार उदाउँसो सूर्यलाई अघ्र्य दिई छठ पर्व मनाइनेछ।   

भद्रपुर ५ स्थित मेची नदी किनारको मसान घाटदेखि मेची पुलको मुख्य प्रवेशद्वार हुँदै देवी बस्तीसम्मको करिब डेढ किलोमिटरमा घाट काम धमाधम गरिँदैछ। पूजा स्थलमा पन्डाल, केराका बोट, विभिन्न प्रकार फूल, विभिन्न रङका अबिरसहित झिलिमिली बत्ती लगाएर सजावट गरिने काम भइरहेको सार्वजनिक छठ पूजा समारोह समितिका संयोजक पारस यादवले जानकारी दिए। नदी पूर्वपट्टिको भागमा भारतीय व्रतालु र पश्चिमपट्टिको भागमा नेपालका व्रतालुले नदीलाई संगम स्थल बनाएर सूर्य भगवान्को पूजा आराधना गर्दै आइरहेकाले यहाँ मनाइने छठ पर्वको छुट्टै पहिचान रहेको संयोजक यादवले बताए।  

नदी किनारवरिपरि बिजुली बत्ती जडान, सरसफाइ, खानेपानी व्यवस्थापन, सुरक्षा बिट, स्वागत गेट, हेल्प डेस्क, सूर्य भगवान्को मूर्ति स्थल निर्माणको काम धमाधम भइरहेको उनको भनाइ छ।  

उता देवीबस्ती क्षेत्रमा युनिक समूहले भने घाट व्यवस्थापन कार्यलाई तिहारअघि नै तीव्रता दिइएको थियो। व्रतालु परिवारका लागि समूहले १० फुट घाट सशुल्क निर्माण गरिदिने समूहका अध्यक्ष प्रकाश राजवंशीले बताए। गरिब तथा विपन्न परिवारका लागि आवश्यकताअनुसार घाट निःशुल्क उपलब्ध गराइने उनको भनाइ छ। अघिल्लो वर्षहरूमा फराकिलो स्थान हुन्थ्यो। यसपटक कासघारीले समस्या उत्पन्न गरेको छ। ‘यसपटक भीड व्यवस्थापनमा समस्या हुन सक्छ,’ उनले भने। बिजुली बत्ती, पन्डाल, सूर्य मन्दिर रंगरोघन, भजन सन्ध्या, पूजा खर्च गरी अनुमानित ५ लाख खर्च हुने उनले बताए। 

यहाँ मधेसी समुदायबाहेक अहिले साझा पर्वको रूपमा पहाडी, मारवाडी, बंगाली, राजवंशीलगायत समुदायले पनि आस्था र श्रद्धाको पर्व छठ मनाउँदै आइरहेका छन्।  मेची नदीमा छठ हेर्न भारतसहित देशका विभिन्न जिल्लाबाट करिब ५० हजार भक्तजन आउने अनुमान आयोजक समितिले गरेको छ। मेची नदीको शान्ति सुरक्षालाई मध्यनजर गरी सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरमा बसेको सर्वपक्षीय भेलाले  पूजाका सामग्री बोक्ने तीनपांग्रे (ठेला भ्यान) र अशक्त, ज्येष्ठ नागरिकको हकमा सिटी सफारीलाई घाटसम्म जाने दिने निर्णय भएको छ। दुईपांग्रे, चारपांग्रे र ६ पांग्रे सवारीसाधनाका हकमा देवी बस्तीको पशुपति प्राविनजिकै रोकिने र भन्सार अगाडिबाट जाने ती सवारीसाधनलाई भद्रपुर माविमा पार्किङ गराइनेछ। 
छठ पर्वको ट्राफिक प्रहरी, एक सय बढी नेपाल प्रहरी र एक सय सशस्त्र प्रहरी परिचालन गरिने जनाइएको छ। पूजा स्थलमा हुन सक्ने सम्भावित आपराधिक तथा उच्छृखंल गतिविधि रोक्न विभिन्न स्थानमा प्रहरी बिट, पैदल गस्ती, मोबाइल गस्ती परिचालन गरिने वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक मोतीलाल योञ्जन तामाङले जानकारी दिए। यता भद्रपुर नगरपालिकाले कार्तिक १० गते अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपश्चात् देवी बस्तीमा गंगा आरतीको आयोजना गरेको नगर प्रमुख गणेश पोखरेलले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.