आगजनी र तोडफोडमा संलग्नलाई कानुनी कठघरामा उभ्याउन ढिलाइ गर्नु हुँदैन: मुख्यमन्त्री आचार्य
अर्घाखाँची: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन–जी आन्दोलनको नाममा भएको घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई अविलम्ब कानुनी कठघरामा उभ्याउनुपर्ने बताएका छन्।
नेकपा (एमाले) अर्घाखाँचीले सोमबार आयोजना गरेको बृहत् सद्भाव र्यालीपछि सन्धिखर्कमा सम्पन्न कोणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रशासनले कारबाहीमा ढिलाइ गरेको भन्दै ध्यानाकर्षण गराएका हुन्।
उनले भने , ‘धैर्यताको बाँध अझै टुटेको छैन। कानुनी शासनमा विश्वास राख्ने हाम्रो मान्यता हो। तर, तोडफोड र आगजनीमा संलग्नहरूलाई अविलम्ब कारबाही गरिएन भने धैर्यताको बाँध टुट्नेछ। धैर्यताको बाँध टुटे जनताले नै कारबाही थाल्नेछन्।’
मुख्यमन्त्री आचार्यले संविधान, राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता पनि औंल्याएका छन्। ‘संविधानको रक्षा र राष्ट्रिय एकताका लागि सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुन जरुरी छ।’
सम्बोधनका क्रममा एमाले केन्द्रीय सदस्य समेत रहेका आचार्यले अर्घाखाँची अझै पनि एमालेको बलियो किल्ला रहेको र पार्टी संगठन अझ सुदृढ बन्दै गएको बताए।
प्रतिक्रिया दिनुहोस !