वर्षा बोकेर आयो ‘मोन्था’ चक्रवात

पहिले नै आइसके रेमल, बुलबुल, फानीलगायत

वर्षा बोकेर आयो ‘मोन्था’ चक्रवात

काठमाडौं : बिहीबार बिहानसम्म नेपालमा प्रभाव देखिने भनिएको ‘मोन्था’ नामक चक्रवातको बारेमा निकै चर्चा चलिरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा तथा राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकजस्ता निकायले तारन्तार सबैलाई यसबारे सचेत गराइरहेका छन्।

हुन त मंगलबारदेखि नै मुलुकका विभिन्न स्थानमा वर्षा र हिमपात सुरु भइसकेको छ। साथै काठमाडौंलगायत हिमाली क्षेत्रहरूमा चिसोले जनजीवन प्रभावित बनाइसकेको छ। तर, त्यो पानी अरब सागर र बंगालको खाडीबाट विकसित भएको न्यूनचापीय प्रणाली र केही मात्रामा पश्चिमी वायुको असरका कारण ल्याएको त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले बताए।

तर, बिहीबारदेखि देखिने असर भनेको बंगालको खाडीमा विकसित चक्रवात मोन्थाका कारण हो। यसले बिहीबार बिहानदेखि पुनः मौसम प्रतिकूल बन्नेछ। बिहीबार बिहानदेखि शनिबार बिहानसम्म यसको असर देखिने र मौसम प्रभावित बन्ने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए। कतै भारी पानी पर्ने र कतै हल्का पानी पर्ने तथा हिमपातसमेत हुने उनले जनाए। ‘आकस्मिक बाढीपहिरोको जोखिम बढ्नेछ। सडक, हवाई, कृषि पर्यटनमा प्रभाव पार्न सक्छ’, उनले भने। सहप्राध्यापक पोखरेलले काठमाडौंलगायत विशेषगरी पूर्वी तथा मध्य नेपालमा यसको असर धेरै देखिन सक्ने बताए।

जल तथा मौसम विज्ञान विभागले पूर्वको भोजपुर, संखुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, सुनसरी, मोरङ, झापा, इलामलगायत मधेसमा बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, मकवानपुर, चितवनलगायतका ठाउँ प्रभावित बन्ने बताए।

त्यस्तै, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपुर, मुस्ताङ, मनाङ, गोरखा जिल्लामा पनि सतर्क रहनुपर्ने सुझाइएको छ। त्यसैगरी लमजुङ, कास्की, पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, तनहुँलगायत ठाउँको बारेमा भने अध्यावधिक गर्दै जाने उनले बताए। यस्तो समयमा मुख्य नदीहरू तथा सहायक नदीहरूमा मात्र नभएर ससाना नदीहरूमा आकस्मिक बहाव बढ्न सक्ने, पहिरो जान सक्ने भएकाले सचेत हुन उनले सुझाएका छन्। 

सन् २०२४ को मे महिनामा पनि नेपालमा रेमल चक्रवातको असर देखिएको थियो। त्यस्तै, २०२३ को नोभेम्बर र अक्टोबरमा मिडहिल र हमोन, सन् २०२२ मा सिटेगंलगायत फानी, बुलबुल, यास, जवादलगायत चक्रवातका असर देखिएका छन्। ती चक्रवातहरूले वर्षा र बाढी, डुबानलगायत समस्या ल्याएका थिए। मोन्था सबैभन्दा पछिल्लो चक्रवात हो। चक्रवातको प्रकृतिअनुसार त्यसको प्रभाव रहन्छ। सन् २०२४ को रेमल चक्रवात पनि शक्तिशाली र गम्भीर रहेको मौसमविद्हरूले बताएका छन्।

तर, चक्रवातको ल्यान्डफल (जमिनमा पुग्ने समय) भएपछि बिस्तारै कमजोर बन्दै जान्छ। समुद्रबाट पाउने सपोर्ट सिस्टम र इनर्जी कमजोर हुँदै जान्छ। तर, कुनै चक्रवात अन्य खालका सपोर्ट सिस्टम भेटेको खण्डमा पुनः बादल बन्ने, पानी पार्ने खालका समेत हुने मौसमविद्हरू बताउँछन्।

मोन्था चक्रवातको ल्यान्डफल मंगलबार राति नै भइसकेको छ। ल्यान्डफल भए पनि केही समय समुद्रबाट आएको जलवाष्पयुक्त हावाका कारण आँधीबेहरी, हावाहुरी, पानी पार्ने जोखिम उत्तिकै रहन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.