सेतो पानी बग्छ ? नलजाई उपचार गरौं

सेतो पानी बग्छ ? नलजाई उपचार गरौं

तल्लो पेट दुख्ने, योनिबाट सेतो पानी बग्ने अनि चिलाउनेजस्ता समस्याहरूले अधिकांश महिलाहरूलाई दुःख दिइरहन्छ। तर यी सबै समस्याहरू महिलाले आफ्नो नियतिजस्तै सहेर बाँच्ने गर्छन्। घर–परिवार चलाउने जिम्मेवारी, लाज, समय अभाव, अनि रोगलाई सामान्य ठानेर महिलाले धेरैजसो अवस्थामा चुपचाप सहेर नै बसिदिन्छन्। तर, जति चुप रहँदा पनि शरीरभित्र सुरु भइसकेको रोग चुपचाप बस्दैन, पीडा थप्दै जान्छन्। यसरी बेवास्ता गरिने तर धेरैलाई समस्या दिई रहने एउटा प्रमुख समस्या हो, पेल्भिक इन्फ्लामेटरी डिजिज् अर्थात् पीआईडी।

पवित्रा २६ वर्षकी गृहिणी हुन्। उनलाई घरधन्दा गर्दै जाँदा तल्लो पेट दुख्ने, ढाड भारीजस्तो लाग्ने भइरहन्थ्यो। यसैको कारणले होला कहिलेकाहीँ हल्का ज्वरो पनि आउने गरेको थियो। उनी भन्छिन्, ‘काम गर्दै थाकेर होला।’ उनको परिवारले पनि त्यही भन्छ। औषधि पसलबाट दुखाइको १–२ ट्याब्लेट खाने र दुखाइ कम भएपछि फेरि घरकै काममा लाग्ने उनको बानी भइसकेको थियो। सहरबाट नन्द आएपछि मात्र उनी चिकित्सकसँग परीक्षण गराउन पुगिन्। ४० वर्षीया हेमालाई पनि सेतो पानी बग्ने र चिलाउने समस्या थियो। श्रीमान् परदेशमा। ‘पेट दुख्छ’ भनेर आमासँग गुनासो गरेपछि आमाले ‘जिउ बूढो हुँदै आएपछि यस्तै हो’ भनेर सम्झाउँथिन्। तर परीक्षण गर्नुपर्छ भन्ने सल्लाह कसैले दिँदैनथे। लतामात्र १९ वर्षकी। कलेज पढ्दै छिन्। शरीरमा हुने परिवर्तन बोल्न अप्ठ्यारो लाग्ने उमेर। उनलाई पनि यस्तै समस्या तर लाजले अस्पताल आउन गाह्रो। समस्या बढेपछि मात्र परीक्षण गर्न आइन्।

तीनै महिलाको कुरा, उमेर र अनुभव फरक तर रोग एउटै पीआईडी। जसले महिलाको अण्डाशय, अण्डवाहिनी नली, पाठेघर र वरिपरिका अंगहरूमा संक्रमण गराइदिन्छ। धेरै वटा अवस्थाहरूमा यौनसम्पर्कद्वारा फैलिने जीवाणुहरूको संक्रमण बढ्दै जाँदा यो समस्या फैलिन्छ। खासगरी क्लामिडिया, गोनोरियाजस्ता सूक्ष्म जीवाणु, कहिलेकाहीँ सामान्यतया योनिभित्र हुने जीवाणुले पनि माथिल्लो अंगसम्म पुगेर समस्या सुरु गरिदिन्छ। तर यौनसम्पर्कबाट मात्र यो समस्या हुने होइन। 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अध्यावधिक गरेको तथ्यांकअनुसार प्रजनन उमेरका करिब ४–१२ प्रतिशत महिलाहरूमा पीआईडीको प्रभाव देखा पर्छ। २०–२४ वर्ष उमेरका महिलाहरूमा यी संक्रमण बढी देखिन्छन्। यौन जीवनमा सक्रिय हुने भएकाले यो उमेरमा बढी असर गरेको हो। नेपालमा पनि करिब ५–१० प्रतिशत प्रजनन उमेरकी महिलाले यो समस्या रहेको अनुमान गरिएको छ। तर अस्पताल पुग्ने संख्या अति नै कम रहेकाले वास्तविक संख्या अझ बढी हुने देखिन्छ। 

पीआईडीको लक्षणहरूमा केही विविधता हुन्छ। कसैलाई ढाडमात्रै दुख्ने हुन्छ। कसैलाई तल्लो पेटको दुखाइले बढी पीडा दिएको हुन्छ। कसैलाई सेतो पानी गन्हाएर बग्ने, पिसाबमा समस्या, यौनांगमा दुख्ने, हल्का ज्वरो पनि हुन सक्छ। त्यसैले सामान्य अवस्थामा धेरै उपचारका लागि आउँदैनन्। तर समस्याहरू थपिँदै जान्छन्, त्यसपछि आउन बाध्य हुन्छन्। कतिपय अवस्थामा वास्ता नगरिने पीआईडीका कारण अण्डवाहिनी नली बन्द हुने, त्यसको कारणले बाँझोपन हुने गरेको पाइन्छ। एक पटक मात्र पीआईडी भए करिब १० प्रतिशत र पटक–पटक पीआईडी भए करिब ४० प्रतिशतसम्म महिलामा गर्भधारणमा गम्भीर समस्या आउने गरेको अध्ययनहरूले देखाएको छ। अझै खतरनाक कुरा त पीआईडीका कारण पाठेघरभन्दा बाहिर, अण्डवाहिनी नलीमै गर्भ बस्ने ‘एक्टोपिक प्रेग्नेन्सी’ को जोखिम हुन्छ। जुन महिलाहरूको मृत्युको कारण पनि बन्न सक्छ।

सामान्यतया प्रसूति वा गर्भपतनपछि पीआईडी हुने सम्भावना बढी हुन्छ। पेटको शल्यक्रियापछि पनि संक्रमण हुन सक्छ। यस बाहेक सरसफाइमा कमी, असुरक्षित यौनसम्पर्क, शरीरको प्रतिरोधक शक्ति घटेको अवस्थाजस्ता अवस्थाहरूमा पीआईडीको सम्भवना बढ्ने हुन्छ। पीआईडीमा धेरैले गर्ने गल्ती भनेको, उपचार अधुरो छोड्ने। केही आराम हुनेबित्तिकै औषधि रोकिदिन्छन्। श्रीमान्/यौन साथी चेक–अप वा उपचारमा सामेल हुँदैनन्। फलस्वरूप संक्रमण फेरि हुन्छ र झन् गम्भीर हुन्छ।

पीआईडीको निदानका लागि पाठेघर परीक्षण, अल्ट्रासाउन्ड र आवश्यक परे संक्रमण पहिचान गर्ने रगत वा सेतो पानीको परीक्षण गरिन्छ। हुन त यसको निदानका लागि ल्याप्रोस्कोपी पनि गर्न सकिन्छ, तर खर्चिलो हुन्छ। आधुनिक उपचारका लागि साधारण एन्टिबायोटिकहरू नै पर्याप्त हुन्छन्। चिकित्सकले भनेको समयमा, पूरा अवधि औषधि प्रयोग गरे धेरैजसोमा समस्या पूरै निको हुन्छ। कठिन अवस्थाहरूमा अस्पतालभित्र नसाबाट औषधि दिनुपर्छ। तर उपचारको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको समयमा नै अस्पताल आउनु र पूरा अवधि औषधि सेवन गर्नु हो। लाज वा अन्य कुनै बहानामा ढिलो उपचार सुरु गर्ने, आफ्नै अनुमानले औषधि सेवन गर्ने, पूरा अवधि औषधि सेवन नगर्ने अनि पुरुष साथीले औषधि सेवन नगरेर पीआर्ईडीलाई जटिल बनाउँदै गएको हुन्छ। 

महिलाहरूले समयमा आफ्नो शरीरको आवाज सुन्न बोल्नु जरुरी छ। ‘ढाड दुख्छ’ भन्ने एक वाक्यभित्र कहिलेकाहीँ धेरै कुरा लुकेको हुन सक्छ। ‘सेतो पानी’ सामान्य पानी नभएर संक्रमणको संकेत हुन सक्छ। पीआईडी पहिचान र उपचार गरेपछि धेरै महिलाहरूको समस्या जीवनबाट हट्छ। ढाड र पेट हलुका हुन्छ। यसले दिएको मानसिक तनाव विस्तारै हट्छ। यसैले लजाएर बसिरहनु हुँदैन। समयमै जाँच गराई रोग पत्ता लगाउनु, उपचार पूरा गर्नु र यदि आवश्यक परे यौन साथीको साथमा उपचार लिनु नै बुद्धिमानी साबित हुन्छ। 
डा. बालकृष्ण साह
वरिष्ठ स्त्री रोग विशेषज्ञ


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.