जेनजीहरूलाई पनि पार्टी खोलेर चुनावबाट अनुमोदित हुन भनेको छु : प्रधानमन्त्री

जेनजीहरूलाई पनि पार्टी खोलेर चुनावबाट अनुमोदित हुन भनेको छु : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी अगुवाहरूलाई आफ्नै राजनीतिक दल बनाएर निर्वाचनमा सहभागी हुन आग्रह गरेकी छन्। सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठकमा उनले स्वतन्त्रता, सुशासन र परिवर्तनको एजेन्डा लिएर सडकमा उत्रेका युवाहरूलाई अब लोकतान्त्रिक प्रक्रियामार्फत जनताबाट अनुमोदन हुन आग्रह गरेकी हुन्।

अहिले धेरैथरी जेनजी देखा परेको र धेरैथरी मागहरू लिएर आउने गरेको उनले बताइन्। 'कतिपय जेनजी यहीँ आएर चर्का कुरा गरेर जान्छन्। कतिपय यहाँ भित्र ठीकठाक हुन्छन्, बाहिर गएर मनोमानी बोल्छन्। जेसुकै भए पनि ती सबै हाम्रा छोराछोरी हुन्। सिक्दै छन्। कतिपय त निकै नै परिपक्व कुरा पनि गर्छन्। हामीलेभन्दा धेरै कुरा उनीहरूले जानेका छन्,' उनले भनिन्, 'स्थायित्वका लागि निर्वाचित सरकार नै चाहिन्छ। निर्वाचन र राजनीतिक दल एकअर्काका परिपूरक हुन्। राजनीतिक दल नभई यो व्यवस्था चल्दैन। त्यसैले स्वतन्त्र विज्ञ भनेर नाम चलेका व्यक्तिहरू पनि चुनाव लड्न दल खोल्दै छन्। जेनजीहरूलाई पनि पार्टी खोलेर चुनावमा सहभागी होऊ र आफ्ना एजेन्डा जनताबाट अनुमोदन गराऊ भनेका छौँ।'

प्रधानमन्त्री कार्कीले मुलुकलाई सबै मिलेर सुधार्नुपर्ने आवश्यकता रहेको औंल्याइन्। 'हामीले नसुधारे कसैले सुधारिदिँदैन। त्यसैले जेजस्ता समस्या छन्, मिलेर समाधान गरौँ। कतिपय कुरा लेख्दा, बोल्दा तलमाथि होला। तर, हाम्रो नियत खराब छैन। कसैले आशंका पाल्नुपर्ने कारण छैन। हामी तपाईँहरूसँग सहकार्य गरेर नै अघि बढ्ने हो। संविधानले दिएको परिधिभित्रै रहेर काम गर्ने हो। संविधानले बनाएका संरचनाको सम्मान गर्नु नै पर्छ,' उनले भनिन्।

उनले निर्वाचनको वातावरण बनाउन सरकारको मुख्य प्राथमिकता रहेको बताइन्। 'सुरक्षा निकायका लागि बन्दोबस्तीका सबै सामानको व्यवस्था हुँदैछ। प्रहरीका लागि तत्काल आवश्यक गाडी खरिदको प्रक्रिया अघि बढिसकेको छ। छिमेकी मुलुकहरूले पनि सवारी साधन उपलब्ध गराउँदै छन्। केही मित्रराष्ट्रले आर्थिक सहयोग गर्ने वचन दिएका छन्। आन्दोलनमा क्षतिग्रस्त भएका प्रहरीका ९० प्रतिशत संरचना स्थानीय जनताले नै बनाइदिएका छन्। यसले प्रहरीको मनोबल उकास्न र जनतासँगको सम्बन्ध थप कसिलो बनाउन मद्दत गरेको छ। यो निकै अर्थपूर्ण र संसारका लागि उदाहरणीय पनि छ,' उनले भनिन्।

अहिलेभन्दा निकै प्रतिकूल अवस्थामा पनि चुनाव भएको उदाहरण दिँदै उनले जेनजीहरू पनि चुनावको पक्षमा रहेको दाबी गरिन्। दलहरूसँगको संवादले अझै बढी चुनावका पक्षमा वातावरण बनेको उनको भनाइ छ। 'निर्वाचन आयोगलाई चाहिने १२० प्रकारका सामग्रीमध्ये ९० प्रतिशतभन्दा बढी छँदै छन्। बाँकी व्यवस्थापन हुँदै छ। आयोगले पनि तोकिएकै मितिमा चुनाव गराउन सकिनेमा पूर्ण विश्वास दिलाएको छ,' उनले भनिन्।

प्रधानमन्त्री कार्कीले लुटिएका र हराएका हतियारहरू पनि फेला पर्न थालेको बताउँदै प्राप्त हुन बाँकी रहेका हतियारको पनि लोकेसन पत्ता लागिसकेको बताइन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.