दुप्चेश्वरमा चार फिट अग्लो गणेशको मूर्ति
नुवाकोट : प्रसिद्ध तीर्थस्थल दुप्चेश्वरधाम परिसरमा स्थापनाका लागि गणेशको ठूलो मूर्ति प्राप्त भएको छ। दुप्चेश्वर गाउँपालिका- ६ करेजुङको पहरामा पशुपतिनाथको पर्यायका रूपमा रहेको प्रसिद्ध दुप्चेश्वर मन्दिर रहेको छ। प्रसिद्ध तीर्थस्थल दुप्चेश्वरधाम परिसरमा विविध संरचना निर्माण गरिएको छ।
दुप्चेश्वर मेलालाई लक्षित गरेर विभिन्न नयाँ तथा मौलिक संरचनाहरू निर्माण भइरहेको छ। सदरमुकाम विदुरबाट एक घण्टा र काठमाडौंबाट मोटरमा दुई घण्टामा पुगिने पवित्र, प्रसिद्ध, धार्मिक, पर्यटकीय तथा ऐतिहासिक क्षेत्र दुप्चेश्वर धामको वृद्धि र विकासमा विविध कार्यहरू भइरहेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ।
सोही क्रममा नुवाकोटकै बेलकोटगढी नगरपालिका-१३ का युवक रूपक लोहनीले दुप्चेश्वर मन्दिरमा स्थापनाका लागि ४ फिट अग्लो भगवान श्रीगणेशको पित्तलको मूर्ति हस्तान्तरण गरेका हुन्। उनले मंगलबार दुप्चेश्वर धाम पुगेर आफूले सामाजिक सहयोगका रूपमा खरिद गरेर ल्याएको गणेशको मूर्ति मन्दिरका पदाधिकारी, जनप्रतिनिधि, कोषका प्रतिनिधि लगायतलाई हस्तान्तरण गरे।
निःस्वार्थ भावनाले सामाजिक सहयोग गरेका लोहनीसहित उनका परिवारलाई मन्दिरका पदाधिकारी, जनप्रतिनिधि, कोषका प्रतिनिधि लगायतले संयुक्त रूपमा सम्मानपत्र प्रदान गरि सम्मान गरेका छन्। लोहनीले आफूले सामाजिक सेवाको भावना अनुसार निरन्तर सहयोग गरिरहने बताए।
प्रतिक्रिया दिनुहोस !