प्रचण्डजीले कम्युनिष्टहरूको वृद्वाश्रम खोल्नुभयो : सुदन किराती
काठमाडौं : नेता सुदन किरातीले पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठन गरेको नेपाली कम्युनिष्ट पार्टीलाई वृद्वाश्रमको रूपमा चित्रण गरेका छन्। माओवादी केन्द्रले एकीकृत समाजवादीसहित १० वाम घटकहरूसँग बुधबार एकता गर्दै नयाँ पार्टी गठन गरेका थिए। एकता प्रक्रियालाई लिएर असन्तुष्ट बनेका नेता किराती प्रचण्डसँग विद्रोह गरेर बाहिरिएका थिए।
प्रगतिशील राष्ट्रिय अभियानमा सक्रिय बनेका नेता किरातीले ७० वर्ष उमेर पूरा भएका नेताहरूलाई नेपाली कम्युनिष्ट पार्टीको झण्डामुनि जम्मा गरेर प्रचण्डले वृद्धाश्रम खोलेको टिप्पणी गरे। ‘नेपालको कानुनअनुसार ७० वर्ष उमेर कटेकाहरूलाई सरकारले वृद्धभत्ता दिन्छ। प्रचण्डजीले गठन गर्नुभएका नेकपा नेतृत्वमा सबै ७० वर्ष कटेका नेताहरू छन्,' नेता किरातीले भने, ‘भृकुटीमण्डपमा भेला राखेर प्रचण्डजीले वृद्वाश्रमको उद्घाटन गर्नुभयो। नयाँ कम्युनिष्टहरूको मुकुन्डो उघ्रियो।’
उनले क्रान्तिकारी शास्त्रीय जागरणको प्रयोग गर्नु काम नरहेको बताए। ‘कहिले कांग्रेससँग मिलेर त कहिले दारबारीयासँग मिलेर सरकार बनाउनेहरूले अरुलाई गलत देख्ने?,’ प्रचण्डलाई लक्षित गर्दै नेता किरातीले भने, ‘कम्युनिष्ट पार्टीको नाममा वृद्वाश्रम खोल्नेहरूलाई लाज लाग्नु पर्ने हो। अब त कुरीकुरी भन्नै पर्ने भयो।’
जेनजी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठनसहित व्यापक वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्न माओवादी विद्रोह गरेका जनार्दन शर्माले जुटेका छन्। बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मध्यस्थतामा नयाँ वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबीच बिहीबार काठमाडौंमा गम्भीर छलफल भएको नेता किरातीले जनाए।
क्रान्तिकारी र रूपान्तरण चाहने प्रगतिशील विचारका पार्टीहरूलाई एकता र मोर्चा बनाएर फोहोरी (पुराना पार्टीका नेताहरू)लाई चुनावमा हराउन तयारी गरिरहेको नेता किरातीको भनाइ छ। बैठकमा प्रगतिशील राष्ट्रिय अभियान, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल समाजवादी पार्टी र उज्यालो नेपाल अभियानका नेताहरू सहभागी थिए।
‘विचार मिल्नेसँग एकता गर्ने, विचार नमिल्नेसँग सहकार्य गर्दै जसरी हुन्छ फोहोरी हराउ भन्ने अभियान चलाउँछौं,' नवगठित नेकपाका नेताहरूलाई लक्षित गर्दै किरातीले भने, ‘सुन पुरानो भए पनि काम लाग्छ। तर, फोहोर काम लाग्दैन। पुराना नेताहरूले भ्रष्टाचारीलाई संरक्षण गरेको छ।’
जेनजी आन्दोलनपछि देश रूपान्तरण हुने आशावादी भएका जनतामा फेरि पुराना नेताहरू सक्रिय हुँदा निराशा पैदा हुँदै गएको उनले बताए। 'जेनजी आन्दोलनमा हेलिकोप्टर चढेर सेनाको ब्यारेकमा लुके। अहिले बाहिर निस्किएर फेरि हुँकार दिनथाले। त्यसले जनतामा निराशा पैदा भयो,' उनले भने।
प्रतिक्रिया दिनुहोस !