मूल बाटोमा लाग्दा जनार्दन र घनश्याम घुम्तीमै अल्मलिए : वर्षमान पुन
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आवश्यक कागजातहरू निर्वाचन आयोगमा बुझाएको छ। आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु वर्षमान पुन, राजेन्द्र पाण्डे, देव गुरुङलगायतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरू बुझाइएको हो।
नेपाली कम्युनिस्ट पार्टी आबद्ध दलका प्रतिनिधिहरूले विधान, माइनुट, नयाँ पार्टीको घोषणापत्र लगायतका कागजात बुझाइएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए। सबै कागजात पूरा गरेर आयोगलाई दिएको भन्दै छिट्टै दल दर्ताको प्रमाणपत्र प्राप्त हुने उनले बताए।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले पार्टीले निरन्तर कम्युनिष्ट एकतालाई जारी राख्ने बताए। जनार्दन शर्मा, घनश्यामलगायत कम्युनिष्ट नेताहरू एउटै बाटोमा रहे पनि आफूहरू मूल बाटोमा लाग्दा जनार्दन र घनश्याम घुम्तीमा नै अल्मलिएको उनले बताए। उनले सबै नेताहरूलाई एकतामा सहभागी हुन आह्वानसमेत गरे।
उनले छुटेका नेताहरू पनि एक दिन कम्युनिष्ट एकतामा आउने विश्वास व्यक्त गरे। माओवादी, नेकपा एकीकृत समाजवादीलगायत १० वामपन्थी दलबीचको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीले यसअघि नै दल दर्ताका लागि आयोगमा निवदेन दिएको थियो। दल दर्ताका लागि केही कागजात अपुग भएपछि आयोगले माग गरे बमोजिमको कागजात सो पार्टीले उपलब्ध गराएको हो।
प्रतिक्रिया दिनुहोस !