होसियार, कमजोर हुँदैछ कम्मर!
तपाईं आफ्नो कम्मरप्रति कत्तिको सजग हुनुहुन्छ ? हुनुहुन्न भने सचेतता अपनाउनुहोस् कामकाजी व्यक्तिदेखि जेन-जी पुस्ताका युवाहरूको कम्मर कमजोर भइरहेको छ। कम्मर दुख्ने समस्या पहिले बुढ्यौली उमेरका व्यक्तिको समस्याका रूपमा लिइन्थ्यो। तर, अब त्यस्तै छैन। जसले हरेक वर्ष झैं जवान पुस्तालाई कम्मर दुखाइको पीडाले तनाव दिन थालेको छ। अहिले जेन–जी उमेरसमूहका व्यक्ति नै कम्मर दुखाइको चपेटामा पर्न थालेका छन्।
हड्डी तथा मेरुदण्ड विशेषज्ञहरूका अनुसार, अहिले २० देखि ३० वर्षका युवाहरू पनि मेरुदण्डको समस्या लिएर उपचार गराउन आइरहेका छन्। वरिष्ठ हड्डी तथा स्पाइनल सर्जन प्रा.डा. गणेश गुरुङका अनुसार, पछिल्लो समय नेपालीहरूमा कम्मर दुखाइको समस्या घरघरको समस्या हुन पुगेको छ। यद्यपि अध्ययन, अनुसन्धान नहुँदा कति व्यक्तिहरू कम्मर तथा ढाड दुखाइको समस्या भोगिरहेका छन् भन्ने यकिन तथ्यांक छैन।
विश्वभरका कम्मरका बिरामीमध्ये करिब १५ प्रतिशत भारतमा छन्। जुन चीनपछि सबैभन्दा बढी कम्मरका बिरामीमा पर्छन् । चिकित्सकहरूका अनुसार, सबैभन्दा चिन्ताजनक कुरा के हो भने, दुखाइको उमेर झन्झन् तल झर्दै गएको छ। भारतका १८ राज्यमा २०२० देखि २०२३ को अवधिमा गरिएको एक अध्ययनअनुसार, ढाड (पिठ्यूँ ) दुखाइका घटना तीव्र रूपले बढेको छ। जसमा १८ देखि ३८ वर्षका व्यक्तिहरू सबैभन्दा बढी प्रभावित छन्। २०२४ मा गरिएको एक अध्ययनअनुसार, १० वर्षमाथिका भारतीयहरू कम्मरको तल्लो भाग (लोअर ब्याक पेन) ले समस्या बढाएको छ। यो समस्या मुख्यतः २५ देखि ४० वर्षको उमेरसमूहमा बढी देखिन्छ। कामकाजी उमेरमै कम्मरको समस्याले हैरानी व्यहोर्नु परिरहेको छ।
किन बढ्यो समस्या ?
हामी विस्तारै अल्छी, स्थिर र बढी बस्न रुचाउने जीवनशैली अपनाइरहेका छौं। स्थिर र बढी बस्ने जीवनशैलीमा बदलिँदै छौं। लामो समय स्क्रिन अगाडि बस्ने, बस्दाको पोस्चर नमिलाउने नै हो। टिकटक वा युट्यब च्यानलमा हेर्दै रमाउने गर्दा नै यसले कम्मरको समस्या निम्त्याएको विज्ञहरू बताउँछन्।
वरिष्ठ हड्डी तथा स्पाइन सर्जन प्रा.डा. गुरुङ डिजिटल डिभाइसको बढी प्रयोगले पनि कम्मरको समस्या बढाइरहेको बताउँछन्। ‘आँखामुनि झुकेर फोन हेर्नका लागि टाउको सधैं ३० देखि ४५ डिग्री झुकेको हुन्छ। यसरी झुक्दा टाउकोको वजन घाँटीमा चार गुणा बढ्छ । करिब ६ किलोबाट २५ किलोसम्म पुग्छ,’ डा. गुरुङ भन्छन्, ‘लामो समयसम्म स्क्रिन अगाडि बस्ने बानी र खराब पोस्चरले नै कम्मरको समस्या निम्त्याएको हो। तर मुख्य दोषी हो– कम्प्युटर र मोबाइल।’
कम्प्युटर होस् वा मोबाइलमा झुकेर हेर्दाको दबाब शरीरको तल्लो भागसम्म असर पुर्याउँछ। शरीरको स्वाभाविक हल्लाइ–डुलाइ कम हुन पुग्छ। यसले मांसपेशी र सम्पूर्ण मेरुदण्डको संरचनालाई नै कमजोर पार्छ। प्रा.डा. गुरुङ थप्छन्, ‘यसकै त परिणम त हो- शरीरभन्दा पहिले कम्मर बुढो हुँदै छ।’
पोषणयुक्त खानपानको कमीले पनि हड्डी तथा मांसपेशीलाई कमजोर बनाइरहेको छ। भिटामिन डी र म्याग्नेसियमको कमीले शरीरमा क्याल्सियम ठीकसँग बस्दैन। जसका कारण हड्डीहरू कमजोर हुन्छ र मेरुदण्ड पनि नरम बन्छ। ‘जंकफुडको
सेवन र व्यायामको कमीले मोटोपना बढाउँछ। जसले डिस्क र जोर्नीहरूमा बढी भार पार्छ, मांसपेशी कमजोर बनाउँछ,’ प्रा.डा. गुरुङ भन्छन्, ‘तनावले समस्या अझ बढाउँछ। लगातार तनावमा रहँदा मांसपेशी सधैं कडा बन्न पुग्छ। पोस्चर बिग्रिन्छ र कोर्टिसोल हर्मोनले हड्डीको बलियोपनामा ह्रास ल्याउँछ। यसरी कमर दुखाइका लागि सबै कुरा मिलेर नै कम्मरको दुखाइ हुन्छ।’
२०२३ को ग्लोबल बर्डन अफ डिजिज रिपोर्टअनुसार, कम्मर दुखाइ (लोअर ब्याक पेन) अब विश्वभर कमजोर स्वास्थ्यका शीर्ष १० कारणमध्ये एक बनेको छ। कम्मर दुखाइ अब विश्वव्यापी समस्या बन्न पुगेको मेडिकल तथ्यांकहरूले देखाएका छन्। २०२४ को एक अध्ययनअनुसार, कामकाजी उमेरका ७६ प्रतिशत भारतीय कुनै न कुनै मांसपेशी–हड्डीसम्बन्धी (मस्क्युलोस्केलेटल) समस्याबाट पीडित छन्। जसमा ६० प्रतिशतलाई कम्मर दुखाइ (लोअर ब्याक पेन) छ। दिनभर स्क्रिनसँग टाँसिएर काम गर्ने कम्प्युटर इन्जिनियर, कर्पोरेट कर्मचारीहरूमा कम्मरका साथै घाँटी दुखाइको समस्या देखिने गरेको छ।
के छ, उपचार ?
समस्या सहनुभन्दा समस्या नै आउन नदिनु सबैभन्दा उत्तम उपाय हो। त्यसैले घरमा, विद्यालयमा र कार्यालयमा तकिया र कुर्सीको सहयोग लिन सक्नु हुनेछ। अर्को उपाय हो– गतिविधि (एक्टिभिटिज)। लामो समयसम्म एकै खालको पोस्चरमा बसिरहने बानीले शरीरलाई एउटै स्थितिमा बाँध्छ,’ प्रा.डा. गुरुङको सुझाव छ, ‘उठ्नुहोस्, तन्कनुहोस्, हिँड्नुहोस्, झुक्नुहोस्, दौडनुहोस्। नियमितरूपमा व्यायाम गर्नुहोस्। आफ्नो जीवनशैलीलाई चल्ने–फर्कने बानी बनाउनुहोस्। आफ्नो कमरलाई कमजोर हुन नदिनुहोस्। तनावपूर्ण जीवनशैलीबाट मुक्त हुनुहोस्।
हाँसीखुसी रहनुहोस्।’
प्रा.डा. गुरुङ बस्ने पोस्चरको कारणले पनि मेरुदण्डको डिस्क फुट्न सक्ने जोखिम हुन सक्ने भएकोले ध्यान दिनुपर्ने सुझाउँछन्। त्यसैले काम गर्दा पोस्चरको ध्यान दिनुपर्छ। ‘ढाडको मांसपेशी बलियो बनाउने व्यायामहरू गर्न सकिन्छ। कुनै पनि गह्रुँगो चिज उचाल्दा झुकेरभन्दा टुक्रुक्क बसेर उचाल्ने बानी बसाल्नुपर्छ,’ प्रा.डा. गुरुङ भन्छन्, ‘जीवनशैलीका साथै खानपानमा पनि ध्यान दिनुपर्छ। भिटामिन ‘डी’युक्त खानेकुरा खानुपर्छ। बिहानको सूर्यको किरणबाट भिटामिन डी प्राप्त हुने भएकोले घाम ताप्ने बानी बसाल्नु पर्छ।’ यदि तल्लो कम्मर दुखाइ (लोअर ब्याक पेन) छ भने समयमै विशेषज्ञसँग परामर्श लिनुपर्छ। नसा च्यापिएर वा हड्डीसम्बन्धी रोगले पनि कम्मरको दुखाइ हुन सक्छ। त्यसैले बेलैमा उपचार गर्दा दीर्घ समस्या हुन पाउँदैन।
प्रतिक्रिया दिनुहोस !