छोरीलाई फोलिक एसिड खुवाऔं
तपाईंकी छोरी विद्यालय जान्छिन् ? विद्यालय जाने उमेरकी छोरी छिन् भने फोलिक एसिड खुवाउनुपर्ने हुन सक्छ।
नेपालमा रत्तअल्पताको दर उच्च छ। नेपाल सूक्ष्म पोषक तत्त्व सर्वेक्षण, २०१६ अनुसार, नेपालका ३२ प्रतिशत किशोरकिशोरीहरूमा न्यून पोषणको समस्या छ।
त्यस्तै, २१ प्रतिशत किशोरी तथा ११ प्रतिशत किशोरहरूमा रक्तअल्पता छ। यी उमेरसमूहका ४८ प्रतिशत किशोर र ४३ प्रतिशत किशोरीहरूले न्यूनतम खाद्य विविधता भएको आहार दैनिक रूपमा खाइरहेका छन्। किशोरावस्थामा, विशेषगरी किशोरीहरूमा, यो तहको कुपोषण देखिनु जीवनचक्रमा आधारित पोषणको हिसाबले अत्यन्तै गम्भीर समस्या हो, जसको प्रभाव यस्ता किशोरकिशोरीहरू र उनीहरूबाट पछि जन्मिने बालबालिकाहरूमा दीर्घकालीन रूपले पर्दछ।
आइरन फोलिक एसिड चक्की खुवाउँदा ध्यान दिनुपर्ने कुराहरू
१. किशोरावस्थामा आइरन फोलिक एसिडको महत्त्व किन हुन्छ र यसको कमी भएमा किशोरीहरूको स्वास्थ्य र पोषणमा के कस्ता हानि हुन सक्छन् भन्नेबारे जानकारी दिने।
२. किशोरीहरूलाई प्रत्यक्ष निगरानीमा आइरन फोलिक एसिड चक्की खुवाउनु पर्दछ र उनीहरूले चक्की निलेको ननिलेको यकिन गर्नु पर्दछ।
३. आइरन फोलिक एसिड एक गिलास पानीसंग खुवाउनु पर्दछ।
४. सकेसम्म आइरन फोलिक एसिड चक्की खुवाउने मिति तय गर्दा प्रत्येक हप्ताको एउटै दिन (बार) र एकै समयमा खुवाउनु पर्दछ। उदाहरणको लागि यदि आइतबार खुवाउने हो भने सधैं आइतबारमात्रै खुवाउने।
५. आइरन फोलिक एसिड चक्की खुवाउँदा खाना खाएको करिब १ घण्टापछि खुवाउनु पर्दछ। त्यसका लागि विद्यालय सुरु भएपछि दिनको पहिलो कक्षामै खुवाउने व्यवस्था मिलाउनु पर्दछ।
६. आइरन फोलिक एसिड चक्की खाएपछि कसै कसैलाई सामान्य असरहरू (जस्तैः वाकवाकी लाग्ने, छाती पोल्ने, कब्जियत हुने, कालो दिसा आउने आदि) देखिन सक्ने सम्भावना हुन्छ, तर ती असरहरू सामान्य हुन र केही दिन पछि आफैं ठीक हुन्छन्। यद्यपि किशोरीहरूलाई जटिल स्वास्थ्य समस्या भएको खण्डमा नजिकैको स्वास्थ्यचौकी वा अस्पतालमा गएर सल्लाह लिन सुझाव दिनु पर्दछ।
७. लामो समयसम्म विद्यालय बिदा (विद्यालय जाने किशोरीहरूको लागि) भएको समयमा वा किशोरीहरू अन्त कतै जाने भएमा पनि आइरन फोलिक एसिड खान छुटाउनु हुँदैन।
प्रतिक्रिया दिनुहोस !