फोहोरबाट सुन्दर सिर्जना गर्दै मनास्लुका महिला

फोहोरबाट सुन्दर सिर्जना गर्दै मनास्लुका महिला

गोरखा : कोही व्यक्ति फोहोर भन्यो कि पर भाग्ने गर्छन्। कोही भने के फोहोर, के सफासुग्घर मतलबै गर्दैनन्। गोरखामा फोहोरसँग सम्बन्ध राख्ने तेस्रोथरी व्यक्ति पनि तयार भएका छन्। पर्यटकले भरिभराउ हुने मनास्लु क्षेत्रमा त्यस्ता जनशक्ति तयार भएका हुन् जो, फोहोरबाट सुन्दर सिर्जना गरेर आयआर्जन गर्न हौसिएका छन्।
पृथ्वीमै फोहोरको प्रमुख कारक बनेको प्लास्टिकबाट विभिन्न वस्तु निर्माण गर्न मनास्लु क्षेत्रका बासिन्दा उद्यत् भएका हुन्। फोहोरलाई सदुपयोग गर्न उनीहरूले ‘विकारबाट आविष्कार’ भन्ने मूल नारा प्रयोग गर्ने गरेका छन्।

‘यो हजारौं विदेशी पर्यटक हिँड्ने ठाउँ हो । यसलाई जतिसक्दो राम्रो बनाउनु पर्ने हो तर जताततै प्लास्टिकले फोहोर बनाएको छ। यसलाई कसरी सफा गर्ने भन्ने उपाय खोजी गरिरहेका थियौं’, चुमनुब्री गाउँपालिका-३ फिलिमस्थित महिला समूहकी अध्यक्ष कालीमाया गुरुङले भनिन्, ‘खेर गइरहेको फोहोर प्लास्टिकबाट फूल बनाउन पनि सकिने रहेछ। डोरी बनाउन सकिने रहेछ। पानीका बोतलहरूमा फोहोर प्लास्टिक कोचे र गमला, मुढा बनाउन सकिने रहेछ। जान्यो भने त उपाय नै उपाय रहेछ।’

बोतलको टाउको र फेद भागलाई जोडेर कपहोल्डरलगायत सामग्रीहरू बनाई घरको सानातिना सामानहरूलाई राख्न सकिने तालिममा सिकेको उनले बताइन्। त्यस्तै प्लास्टिकको बोराबाट विभिन्न रंगको माला बनाउन सकिने तालिम आफूहरूले पाएको उनले बताइन्। पर्यटकीय क्षेत्रलाई सफा, सुन्दर, हराभरा बनाउने उद्देश्यले पर्यटन विभागले स्थानीय साझेदार संस्थासँग समन्वय गरी मनास्लु क्षेत्रमा ‘दीर्घकालीन फोहोरमैला व्यवस्थापन तालिम’ सञ्चालन गर्‍यो। सो क्षेत्रको जगत, फिलिम र पाङसिङमा तालिम सञ्चालन गरेपछि महिलाहरू प्लास्टिकबाट विभिन्न सामग्री बनाउन हौसिएका हुन्। विशेषगरी प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन गर्न पर्यटकीय क्षेत्रका बासिन्दालाई तालिम दिइएको एकीकरण नेपाल गोरखाका कार्यकारी निर्देशक हरि देवकोटाले बताए। ‘फोहोरजन्य विकारबाट आविष्कार गर्न सकिन्छ’, उनले भने, ‘फोहोर आफैंमा फोहोर होइन। यसलाई प्रयोग गर्न नजानेर बेकार भएको हो। सीप सिकेपछि फोहोर पनि मोहर बन्छ।’

दुई दिनको तालिममा स्थानीयले खानेपानीको बोतल, कोकको बोतलबाट डोरी बनाउन, कुचो बनाउन सिकेका छन्। तालिम अत्यन्त फलदायी भएको आङसस्र्युं महिला समूहकी अध्यक्ष संगीता गुरुङ बताउँछिन्। झन्डै एक बोराभन्दा धेरै खेरा गएका प्लास्टिकहरू एउटै बोतलमा अटाउने भएकाले अब चाउचाउ, चकलेट, बिस्कुटको खोलहरू, प्लास्टिकका बोराहरू बोतलमै कोचेर गमला, मुढा बनाउन सकिने उनले बताइन्। ‘मैले गाउँले सबैलाई अब प्लास्टिक नफाल्नु भनिसकेको छु। हामीले मेसिन पाएपछि खेर गएको प्लास्टिकबाट धेरै सामान बनाएर आफू पनि प्रयोग गर्न सकिन्छ। बेचेर पैसा कमाउन पनि सकिन्छ भनेको छु’, उनले भनिन्। हामीले तालिम त कति लियौं गनेर साध्यै छैन तर यो तालिम असाध्यै काम लाग्ने रहेछ। धेरै नयाँ काम सिकियो।’ गाउँलेले मेसिन किन्न नसक्ने भएकाले संस्थाबाट मेसिन आउने आशामा बसेको उनले बताइन्। ‘तालिममा सिकेको वस्तु बनाउन मेसिन चाहिने रहेछ। संस्थाले मेसिन पनि दिन्छु भनेको छ। मेसिन पाएपछि सबैजनाले यस्ता सामानहरू बनाउँछन्’, उनले भनिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.