पर्यटक लोभ्याउँदै सुनापति डाँडा र लहरे माने
रामेछाप : स्थानीय सरकार गठनपछि स्थानीयस्तरमा केही नमुना काम भएका छन्। सुनापति गाउँपालिकाले धार्मिक पर्यटनको क्षेत्रमा गरेका काम प्रशंसनीय छन्। रामेछापको सुनापति गाउँपालिका–३, हिलेदेवीस्थित सुनापति डाँडामा तामाङ समुदायले आफन्तको सम्झनामा बनाउने परम्परागत लहरे माने अहिले आकर्षक स्वरूपमा देखिन्छन्। एउटै रङ र आकारमा बनेका १ सय ८ मानेहरूले डाँडोलाई धार्मिकमात्र होइन, सौन्दर्यले पनि सजाएको छ। त्यही डाँडाको तल्लो भागमा अवस्थित ३५ फिट अग्लो शिवको मूर्तिसहितको सुनापति महादेव मन्दिर छ। जहाँ पुग्न २ सय ६५ वटा सिँढी पार गर्नुपर्छ। यही महादेवको नामबाट गाउँपालिकाको नाम ‘सुनापति’ राखिएको हो।

सुनापति डाँडामा रहेको तामाङ समुदायको परम्परागत लहरे माने र विशाल शिवमूर्तिले पछिल्लो समय आन्तरिक पर्यटक लोभ्याउन थालेका छन्। अग्लो सुनापति डाँडो धर्म, संस्कृति र पर्यटनको अद्भुत संगमस्थल रहेको गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङले बताए। अध्यक्ष तामाङले पूर्वाधार विकाससँगै यो क्षेत्र धार्मिक पर्यटनको गन्तव्य बन्दै गएको पनि जानकारी दिए। पछिल्लो समय कृषि, स्वास्थ्य, पर्यटन र पूर्वाधारमा सुधार भएसँगै यसको प्रत्यक्ष प्रभाव देखिन थालेको पनि अध्यक्ष तामाङको भनाइ छ।
सुनापति गाउँपालिकाले पर्यटन पूर्वाधारलाई प्राथमिकता दिँदै करोडौंको लगानीमा नयाँ गन्तव्य निर्माण गरिरहेको छ। गाउँपालिकाको मर्याङग डाँडामा करिब ४० लाख रुपैयाँ लागतमा ५६ फिट अग्लो बुद्धको मूर्ति निर्माण गरिएको छ भने लामा टोलमा उस्तै बजेटमा पद्मसम्भवको भव्य मूर्ति स्थापना गरिएको छ। १८०६ सालमा २ सय १९ वर्ष पुरानो उर्गेन छ्योइलिङ पाङ गुम्बाले झन् यो क्षेत्रको आकर्षण बढाएको छ। यी धार्मिक एवं सांस्कृतिक स्थलहरूलाई जोड्ने गरी १५ लाख रुपैयाँको लागतमा पर्यटन मार्ग पनि बनाइएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष तामाङका अनुसार ग्रामीण पर्यटनलाई आर्थिक स्रोतको रूपमा विकास गर्ने दीर्घकालीन योजना गाउँपालिकाले अघि सारेको छ। ‘हाम्रो गाउँपालिकामा पाँच वटा वडा छन्’, उनले भने, ‘यी सबै वडामा क्रमशः गौरवका योजनामार्फत धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण भइरहेको छ।’
गाउँपालिकाले हरेक आर्थिक वर्ष करिब १ करोड ५० लाखदेखि २ करोड रुपैयाँसम्मको गौरवका योजना सञ्चालन गर्दै आएको छ। सोही योजनाअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा वडा नम्बर ३ मा पर्यटन पूर्वाधार विकासमा विशेष जोड दिइएको गाउँपालिका अध्यक्ष तामाङले बताए।
२ हजार २ सय ५० मिटर उचाइमा अवस्थित सुनापति डाँडा प्राकृतिक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ। बौद्ध धर्मावलम्बीहरूको सांस्कृतिक भूमिका झल्काउने यस क्षेत्रले पछिल्लो समय हिन्दु तथा अन्य धर्मावलम्बी पर्यटक पनि आकर्षित भइरहेका छन्। यस्तै स्थानीय तेजविक्रम तामाङ भन्छन्, ‘यस ठाउँमा घुम्न आउँदा छुट्टै किसिमको अनुभव हुने र मनमा भएको तनाव पनि कम भएर जान्छ।’ उनका अनुसार यो स्थानमा एक पटक सबैले भ्रमण गर्ने हो भने त्यसको अनुभव आफैंले लिन सकिनेछ। खासगरी भन्ने हो भने यो स्थान राजधानी काठमाडौंबाट धेरै टाढा नपर्ने र सदरमुकाम मन्थलीबाट करिब तीन घण्टाको सडक यात्रापछि सजिलै पुग्न सकिने भएकाले पर्यटकलाई सहज गन्तव्य बन्न थालेको हो।
सुनापति डाँडा विशेषगरी हिन्दु र बौद्ध धर्मावलम्बीका लागि महत्त्वपूर्ण रहेछ। सो अवधिमा मात्रै सुनापति डाँडामा ४० लाख रुपैयाँ लागतमा ३५ फिट अग्लो शिवको मूर्ति निर्माण गरिएको छ। यस्तै, २५ लाखमा १ सय ८ परम्परागत लहरेमाने, १० लाखमा आकर्षक स्टेज र १५ लाखभन्दा बढीको लागतमा पर्यटन मार्ग बनाइएको छ। अध्यक्ष तामाङका अनुसार धार्मिक आस्था, सांस्कृतिक मौलिकता र पर्यटकीय सम्भावनाले भरिएको सुनापति डाँडा आधुनिक पूर्वाधारसँग जोडिँदै आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। यसरी नै सम्पूर्ण स्थानीय निकायले नमुना काम गर्दै जाने हो भने स्थानीय जनतामा गाउँगाउँमा सिंहदरबार भएको महसुस हुने थियो।
प्रतिक्रिया दिनुहोस !