एमालेको संसदीय दलको बैठक जारी
काठमाडौं : नेकपा एमालेको ‘विघटित’ संसदीय दलको बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक जारी छ। विघटित प्रतिनिधि सभाका एमाले मुख्य सचेतक महेश बर्तौलाका अनुसार मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थितिको बारेमा छलफल हुनेछ।
लोकतान्त्रिक र संवैधानिक निकासका लागि पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा विघटित प्रतिनिधि सभाका सांसदहरुसँग एमालेले छलफल गर्न लागेको हो। बैठकमा अध्यक्ष ओलीले निर्देशनात्मक मन्तव्य दिने बर्तौलाले बताए। आजको बैठकमा प्रतिनिधि सभा विघटनबारे पार्टी आफैँ अदालतमा संवैधानिक परीक्षणका लागि जानेकी नजाने भन्ने बारे छलफल हुनेछ।
गत भदौ २७ गते प्रतिनिधि सभा विघटन भएको थियो। आगामी फागु्न २१ गते तोकिएको निर्वाचनका लागि निर्वाचन आयोगले मंसिर १ गतेदेखि मंसिर १० गतेसम्म प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय निर्धारण गरेको छ ।
एमालेले प्रतिनिधि सभाको बैठक असंवैधानिक भएको ठहर गरेको छ। एमालेको १० औं केन्द्रीय कमिटी बैठकले भनेको छ– ‘संसद् विघटन असंवैधानिक छ। त्यसैकारण पुनर्स्थापनाका लागि आन्दोलनमा होमिनुपर्छ।’ निर्णय लगत्तै एमालेले संसद् पुनर्स्थापनालाई मुख्य एजेन्डा बनाएर आन्दोलनमा नै होमिसकेको छ। एमालेले वडा, पालिका र जिल्लामा जनप्रदर्शन र भेला गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस !