लुम्बिनी लायन्ससँग चितवन राइनोज सजग
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बिहीबार चितवन राइनोज र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्दै छन्। दोस्रो संस्करणमा लुम्बिनीले पहिलो खेल खेल्दा चितवनले भने दोस्रो खेल खेल्दैछ। मंगलबार भएको आफ्नो पहिलो खेलमा चितवनले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको थियो।
चितवन र लुम्बिनी दोस्रो पटक आमने सामने हुन लागेका हुन्। पहिलो संस्करणको राउन्ड रोबिन लिगमा लुम्बिनीले चितवनलाई ३३ रनले पराजित गरेको थियो। पहिलो संस्करणमा लुम्बिनीले जितेको त्यही एक खेल हो। लुम्बिनीलाई जिताउन कप्तान रोहित पौडेलले अलराउन्ड प्रदर्शन गरेका थिए। रोहित ८० रन बनाउनुका साथै चितवनका चार खेलाडीलाई पेभेलियन फर्काएका थिए।
बिहीबार दोस्रो संस्करणको पहिलो खेलका लागि मैदान उत्रिँदा लुम्बिनी पहिलो संस्करणको त्यही उर्जा र जोस लिएर उत्रिँदैछ भने चितवन लगातार दोस्रो जितको खोजीमा हुनेछ। मंगलबार भएको आफ्नो पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको थियो। बिहीबार त्यही उत्साह बोकेर चितवन मैदानमा उत्रिने छ।
पहिलो संस्करणको तुलनामा चितवन सुदृढ अवस्थामा छ। चितवनमा डेभिड मलान, रवि बोपरा, सइब जैब, सोहेल तनभिर र अल्पेस रामजानी लगायतका विदेशी खेलाडी अनुबन्ध गरेको छ। राष्ट्रिय टोलीका सदस्य कुशल मल्लको कप्तानीमा रहेको चितवनमा रिजन ढकाल, विपिन रावल, दीपक बोहरा, अमरसिंह रौटेला, कमलसिंह ऐरी, देव खनाल, अर्जुन साउद, विपिन आचार्य र गौतम केसीजस्ता चर्चित खेलाडी पनि छन्। नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य कलाम अलीको प्रशिक्षणमा रहेको चितवन उपाधि जित्ने अभियानसहित दोस्रो संस्करणमा होमिएको छ।
लुम्बिनी भने पहिलो संस्करणको प्रदर्शनलाई बिर्सेर दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित प्रतियोगिताको सुरुवात गर्दैछ। पहिलो संस्करणमा राउन्ड रोबिन लिगका सातमध्ये एक खेल मात्रै जितेको लुम्बिनी यस पटक सुदृढ रुपमा आएको छ। नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीमा डार्सी सट, रुबेन ट्रम्पलेमन, गुलाबद्दिन नैव, थोमस ज्याक ड्राका र जेजे स्मितजस्ता विदेशी खेलाडी भित्र्याएको छ।
लुम्बिनीले सन्दीप जोरा, सुमित महर्जन, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अभिषेश गौतम, दिनेश अधिकारी, दीलिप नाथ, शेर मल्ल, आदिल खान, समिर अली र विशाल पटेललगायतका स्वदेशी खेलाडीमा भर परेको छ।
प्रतिक्रिया दिनुहोस !