दैवीय मिलनको पवित्र बन्धन
पौराणिक मान्यताअनुसार, विवाहको उत्पत्ति सृष्टिको आदिकालदेखि नै भएको हो। भनिन्छ कि स्वयं ब्रह्माण्डको रचनाकर्ता ब्रह्माजीले नै समाजमा व्यवस्था कायम गर्न र प्रजातन्त्रको विकास गर्न विवाह प्रथा सुरु गरेका हुन्। विवाहलाई धर्म (पवित्र कर्तव्य), अर्थ (आर्थिक समृद्धि), काम (वाञ्छित पूर्ति) र मोक्ष (मुक्ति) को प्राप्तिको लागि एक साझा यात्राको रूपमा हेरिन्थ्यो। ऋग्वेदमा छ, तिम्रो व्रत (संकल्प) मेरो व्रतसँग हुन्छ, मेरो चित्त (मन) तिम्रो चित्तमा समाहित हुन्छ। यसैले, पौराणिक विवाह भौतिक आकर्षणभन्दा माथि उठेर आत्मिक एकताको प्रतीक थियो।
विवाहका प्रकारहरू : पौराणिक ग्रन्थहरू, विशेषगरी मनुस्मृतिले विवाहका आठ प्रकार उल्लेख गरेको छ। जो समाजमा प्रचलित रीतिरिवाज, स्वीकृति र सामाजिक मान्यताहरूमा आधारित थिए :
ब्रह्म विवाह: यो सबैभन्दा श्रेष्ठ र उत्तम विवाह मानिन्थ्यो। यसमा कुनै वस्तु वा धनको लेनदेन बिना, वैदिक विधिपूर्वक, सुयोग्य वरलाई आमन्त्रित गरेर कन्यादान गरिन्थ्यो। देवताहरू, ऋषिहरू र राजाहरूले यही विधिलाई प्राथमिकता दिन्थे। राजा दशरथले छोराहरू राम, लक्ष्मण, भरत र शत्रुधनका लागि गरेको विवाह यसको उत्कृष्ट उदाहरण हो।
दैव विवाह: यस प्रकारको विवाहमा कुनै यज्ञ वा धार्मिक अनुष्ठानको समयमा, यजमान (आयोजक)ले आफ्नो कन्या यज्ञको पुरोहितलाई दान दिन्छ। यो पनि एक उच्च कोटीको विवाह मानिन्थ्यो।
आर्ष विवाह: यसअन्तर्गत वरले कन्याको पितालाई एक जोडी गाई र बथान वा केही धन दिएर विवाह गथ्र्यो। यो दान दक्षिणाको एक प्रतीकमात्र थियो, कन्याको क्रय होइन।
प्रजापत्य विवाह: यो ब्रह्म विवाहजस्तै थियो। तर यसमा कन्या र वरले एकअर्काप्रति आजीवन एकनिष्ठ रहने र धर्मको पालना गर्ने प्रतिज्ञा गर्थे।
गन्धर्व विवाह: यसलाई प्रेमविवाह पनि भनिन्छ। यसमा कन्या र वर आमाबाबु वा अभिभावकको स्वीकृतिबिना आपसमा प्रेम भएको आधारमा विवाह गर्थे। यो विधि देवता र मानवबीच प्रचलित थियो। राजा दुष्यन्त र शकुन्तलाको विवाह गन्धर्व विवाहको सबैभन्दा प्रसिद्ध उदाहरण हो। आजको २१औं शताब्दीमा आएर यस्ता खालका विवाह बढी हुने गरेको छ।
आसुर विवाह: यस विवाहमा वरले कन्याको परिवारलाई धन, सम्पत्ति वा अन्य वस्तु दिएर कन्या क्रय गथ्र्यो। यसलाई एक निम्न कोटीको विवाह मानिन्थ्यो किनभने यो कन्यालाई वस्तुको रूपमा हेर्ने बानी थियो।
राक्षस विवाह: यसअन्तर्गत, वरले कन्यालाई जबर्जस्ती उठाएर लग्छ र विवाह गर्छ। युद्धमा पराजित राजाकी कन्यासँग विजेता राजाले गर्ने विवाह यसैको अन्तर्गत पर्छ। यो पनि एक अश्रेष्ठ प्रकारको विवाह मानिन्थ्यो।
पैशाच विवाह: यो सबैभन्दा निकृष्ट र निन्दनीय विवाह मानिन्थ्यो। यसमा कन्यालाई सुतेपछि बेहोस वा लुटेर विवाह गरिन्थ्यो। यसलाई सामाजिक र धार्मिक रूपले पूर्ण रूपमा अस्वीकार गरिएको थियो। यसरी पौराणिक कालमा विवाहको लचिलोपन र विविधतालाई देखाउँछ, तापनि ब्रह्म विवाहलाई नै सर्वोच्च स्थान दिइएको थियो। पौराणिक साहित्य दिव्य विवाहहरूको कथाले भरिपूर्ण छ। यी कथाले मात्र रोचक कथा नै होइन, बरु आदर्श जीवनशैली, कर्तव्यनिष्ठा र पारस्परिक सम्मानको शिक्षा पनि दिन्छन््।
शिव र पार्वतीको विवाह : यो सबैभन्दा भव्य, दिव्य र प्रतीकात्मक विवाह मानिन्छ। यो विवाह तपस्या, समर्पण, प्रेम र एकताको अद्भूत उदाहरण हो। पार्वतीले आफ्नो प्रेम र इच्छाशक्तिको बलमा संसारको सबैभन्दा तपस्वी र विरक्त देवतालाई आफ्नो बनाएकी हुन्। यो विवाहले शिव (चेतना) र शक्ति (ऊर्जा)को मिलनलाई प्रतिनिधित्व गर्छ। जसबिना सृष्टिको अस्तित्व सम्भव छैन। यो विवाहलाई सार्वभौमिक उत्सवको रूपमा प्रस्तुत गरिन्छ।
राम र सीताको विवाह: यो आदर्श विवाहको सर्वोच्च मिसाल हो। राजा जनकले आयोजना गरेको स्वयंवरमा भगवान् रामले शिवधनु भाँच्न सकेर सीतासँग विवाह गरेका थिए। यो विवाह ब्रह्म विवाहको उत्कृष्ट उदाहरण हो। राम र सीताको सम्बन्धमा पारस्परिक प्रेम, सम्मान, विश्वास र कर्तव्यपरायणताको अद्वितीय चित्रण छ। सीताले आफ्नो पतिको वनवासमा साथ दिँदै पतिव्रता धर्मको पराकाष्ठा देखाएकी हुन्। यो विवाहले पति–पत्नीबीचको आदर्श सम्बन्धको नींव राख्छ।
द्रौपदीको स्वयंवर र पाँच पाण्डवसँग विवाह: महाभारतको यो घटना अत्यन्तै जटिल र रहस्यमय छ। द्रौपदीको विवाह पाँच पाण्डवसँग भएको थियो। जुन एक अद्वितीय र अनौठो घटना थियो। स्वयंवरमा अर्जुनले लक्ष्य भेदन गरेपछि द्रौपदीले उनलाई वरमा चुनिन्। कारणवश उनको विवाह पाँचै भाइसँग भयो। यसले पौराणिक कालमा पनि कर्म र नियतिको जटिल भूमिकालाई देखाउँछ।
दमयन्ती र नलको विवाह : यो कथा गन्धर्व विवाहको सुन्दर उदाहरण हो। दमयन्ती र नलले इच्छाले देवताहरूको हस्तक्षेपलाई पनि अस्वीकार गर्दै एकअर्कालाई वरमा चनेका थिए। यस विवाहले सच्चा प्रेम विपत्ति र अग्निपरीक्षामा पनि कायम रहन्छ भन्ने कुरा सिद्ध गर्छ।
विवाह संस्कारका चरणहरू : पौराणिक कालमा विवाह संस्कार अत्यन्तै विस्तृत र वैज्ञानिक ढंगले सञ्चालन गरिन्थ्यो। यसका विभिन्न चरणले विवाहलाई सामाजिक समारोहभन्दा बढी एक आध्यात्मिक यज्ञको रूपमा परिणत गर्थे। विवाहमा वरयात्रा र स्वागत, मधुपर्क, कन्यादान, विवाह होम, पाणिग्रहण, अग्नि परिक्रमा (सप्तपदी), सिन्दूरदान र मंगलसूत्र बाँध्ने र अभ्युदय (आशीर्वाद) गरी मुख्य चरण छन्।
निष्कर्ष : पौराणिक कालमा विवाहलाई जीवनको सबैभन्दा महत्वपूर्ण संस्कार मानिएको थियो। यो दुई आत्माहरूको पवित्र बन्धन थियो, जसलाई देवताहरू, अग्नि र सम्पूर्ण समाजको साक्षीतामा स्थापित गरिन्थ्यो। यसको दार्शनिक आधार अत्यन्तै गहिरो थियो र यसले व्यक्तिलाई धर्म, अर्थ, काम र मोक्ष– जीवनका चार पुरुषार्थ प्राप्त गर्न सहयोग पुर्याउँथ्यो। आजको आधुनिक युगमा विवाहको स्वरूप र सामाजिक परिभाषा परिवर्तन भइरहेको छ। पौराणिक विवाह संस्कारले दिइएको शिक्षा भने अमूल्य छ।
प्रतिक्रिया दिनुहोस !