पीसीएल नर्सिङको अवरोध हटाउन ध्यानाकर्षण
भक्तपुर : जेन्जीहरुले पीसीएल नर्सिङ सम्बन्धी अवरोध हटाउन माग गर्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सानोठिमीमा मंगलबार ध्यानाकर्षण गराएको छ।
जेन्जी २.० र सीटीईभीटीबीच मंगलबार यस विषयमा विशेष छलफल भएको छ। छलफलमा सीटीईभीटीका सदस्य महेश भट्टराईले भर्ना प्रक्रिया अघि बढिसकेको र केही प्राविधिक पक्ष मिलाएपछि चाँडै नै भर्ना खोलिने जानकारी दिएका छन्।
जेन्जी २.० का प्रवक्ता अबिन लिम्बुले विद्यार्थीका मुद्दा समाधान गर्न दबाबमूलक पहल जारी रहेको बताए। उनका अनुसार सीटीईभीटीलाई दिइएको ७ दिने अल्टिमेटम अनुसार संगठन अहिले वार्ता, भेटघाट र तथ्य संकलन गर्दै अघि बढिरहेको छ।
छलफलमा लिम्बूले भर्ना प्रक्रिया कुनै पनि बहानामा रोकिएमा जनस्तरबाट कडा आन्दोलन सुरु गर्ने चेतावनी दिए। उनले भने, ‘विद्यार्थीको भविष्यसँग खेलिनुले ठूलो अन्याय हुन्छ।’ उनले आफूहरू समस्याको समाधान खोज्ने प्रयासमै रहेको जनाए। तर ढिलाइ गरे आन्दोलन अपरिहार्य हुने चेतावनी उनले दिए।
छलफलमा जेन्जी युनाइटेडका संयोजक जनक परियारले विद्यार्थीका सपना, पढाइ र समयको सम्मान गर्न सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताए। उनले अनावश्यक रोकिने क्रमले हजारौं युवाको भविष्य प्रभावित भएको भन्दै छिटो निष्कर्षमा पुग्न जोड दिए।
जेन्जी २.० र जेन्जी युनाइटेड दुवैले पीसीएल नर्सिङ सम्बन्धी समस्या समाधानका लागि साझा मोर्चाबाट दबाब दिने र विद्यार्थीलाई स्पष्ट दिशानिर्देश उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याए।
प्रतिक्रिया दिनुहोस !