तिलोत्तमामा लघु उद्यमी सम्मेलन
बुटवल : ११ औँ उद्योग दिवसका अवसरमा तिलोत्तमा नगरपालिका रुपन्देहीले लघु उद्यमी सम्मेलन गरेको छ। मंगलबार नगरपालिका परिसरमा नगर क्षेत्रका विभिन्न उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरू सहित सम्मेलन गरिएको थियो।
गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत सबै उद्यमीहरुलाई एकै थलोमा जुटाएर कार्यक्रम गरिएको बरिष्ठ लघु उद्यम विकास सहजकर्ता शान्ता विश्वकर्माले जानकारी दिइन्। सम्मेलनमा विभिन्न थरीका दश वटा स्टलहरु प्रदर्शन गरिएको थियो।
स्थानीय महिला उद्यमीहरुले उत्पादन गरेका ढाका, सरफ, मह, फेसन डिजाइनरका सामग्री, हर्बल साबुन, पूजामा प्रयोग गरिने धुप, च्याउ, ब्याग, विवाहमा प्रयोग गरिने बुटिकका सामग्रीहरू प्रदर्शन गरिएको थियो।
उद्योग दिवसकै अवसर पारेर नगरपालिकाले नगरक्षेत्रमा क्रियाशील तीन वटा उद्योग र उद्यमीहरुलाई सम्मान गरेको छ। वडा नम्बर १४ मा सञ्चालन गरिएको हिमालय टेलरकी नारायणी बोहरा क्षेत्री, वडा नम्बर ३ मा रहेको कामना कस्मेटिक व्यूटीपार्लर एण्ड ट्रडिङ सेन्टरकी सञ्चालक कमला क्षेत्री र सामूहिक रुपमा सञ्चालित वडा नम्बर ६ को तिलोत्तमा सरफ उद्योगलाई सम्मान गरिएको छ। सरफ उद्योगमा स्थानीय सुनाश्रीस, बुद्धिमाया विक, गंगा थापा, जमुना ज्ञवाली, सिता श्रीस र सिता घर्तीको सामूहिक लगानी रहेको छ।
उनीहरुलाई जनही दश÷दश हजार दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको बरिष्ठ उद्यम विकास सहजकर्ता विश्वकर्माले जानकारी दिइन। सम्मानका लागि नगरपालिका क्षेत्रका ११ जना उद्यमीहरुले आवेदन दिएका थिए। मूल्यांकन समितिले स्थलगत अवलोकन र विभिन्न सूचकका आधारमा प्रतिस्पर्धा गराई उत्कृष्ट छनौट गरेको थियो। नगरपालिका क्षेत्रमा तीन सय बढी लघु उद्यमीहरू क्रियाशिल छन्।
लघु उद्यमी व्यवसायीहरुका लागि नगरपालिकाले वित्तीय पहुँच, सहुलियतपूर्ण कर्जा र उद्यम व्यवसायमैत्री नीति निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिए। नगरपालिकाको समृद्धिका लागि लघु उद्यमी व्यवसायीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत उनले सुनाए।
प्रतिक्रिया दिनुहोस !