एमाले अध्यक्षमा उम्मेदवारी दिने पोखरेलको घोषणा, अभिभावकीय भूमिका निभाउन ओलीलाई सुझाव
काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पोखरेलले मंगलबार वक्तव्य जारी गरेर पार्टी पुनर्गठन र रुपान्तरणका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
'पार्टी निर्माणका लागि ११औं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उम्मेदवारको रूपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु। पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ,' पोखरेलले जारी गरेको वक्तव्यमा भनिएको छ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष केपी शर्मा ओली नेतृत्व हस्तान्तरण गर्नेमा आफू ढुक्क रहेको दाबी गरेका छन्। 'पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैंले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकरात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु। अभिभावकीय भूमिकामार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमेरडलाई अनुरोध गर्दछु,' उनले भनेका छन्।
उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा आउने वातावरण बनाउन पनि माग गरेका छन्। पार्टीमा आउन वञ्चित गरिँदा सांगठनिक र वैचारिकरूपले नै असर परेको उनको भनाइ छ। 'चार दशकभन्दा लामो अवधि पार्टी निर्माणमा योगदान गर्नुभएको पार्टीका पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रपतिजस्तो गरिमामय राजकीय जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेपछि आफ्नो अनुभव र ऊर्जा पार्टी काममा फर्किएर खर्चिने चाहना राख्नु खुसी र गौरवको विषय हो। पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदाहुँदै उहाँलाई पार्टी सदस्य हुनबाट वञ्चित गरिँदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्छ। तसर्थ उहाँलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्छ,' उनले भनेका छन्।
सामाजिक रूपान्तरण, व्यवस्था परिवर्तन र पार्टी निर्माणका क्रममा लामो र कठोर भूमिगत जीवन बिताए, जेलनेल भोगेको, यातना सहेको उल्लेख गर्दै नेता पोखरेलले संसदीय र राजकीय जिम्मेवारी सम्हालेको अनुभव पनि रहेको उल्लेख गरेका छन्। उनले नेपालको लोकतान्त्रिक आन्दोलन र नेकपा (एमाले)को निर्माणमा पनि आफ्नो अमूल्य जीवन निर्वाह भएको उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस !